शुक्रवार , आश्विन ९, २०८३
काठमाडौँ, ९ असोज । विभिन्न दल छाडेका युवाहरूले देश र मधेशका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ अभियान घोषणा गरिएको छ ।
शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शक्तिशाली राजनीतिक संगठनको जग निर्माण तथा सक्षम र योग्य युवा नेतृत्व तयार गर्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो । अभियान घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल छाडेका केशव झाले युवा पुस्ताहरुलाई राजनीतितर्फ आकर्षित गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताउनु भयो । उहाँले राजनीतिलाई ‘डर्टी गेम’का रूपमा चित्रित गर्ने प्रवृत्तिका कारण सक्षम र विद्वान व्यक्तिहरू राजनीतिबाट टाढिँदै गएको बताउनु भयो ।
उहाँले मधेश केन्द्रित राजनीतिक दलहरुसँग एउटै दल बनाएर अघि बढ्न आफूहरुले राखेको प्रश्ताव स्वीकार नगरेको कारण अभियान अघि बढाइएको बताउनुभयो । राजनीतिलाई समाजको सबैभन्दा जानकार, शिक्षित र आत्मनिर्भर व्यक्तिहरूले नेतृत्व गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले राजनीतिक नेतृत्वले आफ्नो व्यक्तित्व र सामाजिक सम्मान पुनस्र्थापित गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो समाजमा मान्छेहरुले ‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्न थालेका छन् । आज कुनैपनि बाआमाले आफ्ना छोराछोरी राजनीतिमा लागोस् भन्ने चाहँदैन ।जब कि राजनीतिको बारेमा प्लेटोले के भनेको छ भने कि राजनीति गर्ने मान्छे दर्शनशास्त्री हुनुपर्छ । कि त दर्शन शास्त्री नै नेता बन्न आउनुपर्छ । राजनीतिमा लाग्ने मान्छे त्यस समाजको सबैभन्दा ज्ञानी व्यक्ति हुनुपर्छ भन्ने मान्यता छ । हाम्रो समाजमा सबैभन्दा ज्ञानी व्यक्ति नेता छैन । आजको दिनमा हाम्रो समाजमा नेता कस्तो छ ? मैले अघि नै भने ब्याक बेन्चरहरु नेता बन्न आएको छ ।
त त्यसले गर्दा खेरि राजनीतिको त्यो जुन सबैभन्दा विद्वान व्यक्ति आएर राजनीति गर्नुपर्छ भन्ने जुन मान्यता थियो त्यो नभएको हुनाले राजनीति ट्रयाकबाट आउट भएको छ । राजनीति ट्रयाकमा छैन । राजनीतिप्रति जनतामा वितृष्णा पैदा भएको छ । राजनीति गर्ने नेतालाई हेर्न बित्तिकै आदरले शिर निहुरिनु पर्छ । त्यस्तो खालको नेता हुनुपर्छ नेता । हामी यो प्रकारको ट्रेन्डबाट राजनीतिलाई हामी शुद्ध राजनीतिमा ल्याउन खोजिरहेका छौँ ।’
उहाँले राजनीतिलाई ट्र्याकमा ल्याउँदै युवा पुस्तालाई राजनीतिमा जोड्ने अभियानको मुख्य लक्ष्य रहेको पनि बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij