२०८३, आश्विन ९ गते

Sep 25 2026 | २०८३, आश्विन ९ गते

‘बहुवि’सँग साहित्यिक यात्रा

शुक्रवार , आश्विन ९, २०८३

  • 10
    Shares
  • 10
    Shares
  • ‘दरिद्रताको भुमरी’, भुवन थापा ‘बहुवि’ को कवितासङग्रह हो । यहाँ २९ वटा लामा, छोटा कविता सङ्ग्रहित छन् । २०२५ सालमा जन्मिएका ‘बहुवि’ ले कवितालाई आफ्नो सिर्जनाको पहिलो माध्यम बनाएका छन् । २०३९ सालदेखि साहित्यिक सिर्जनामा तल्लीन उनी यतिबेला काठमाडौं विश्वविद्यालयमा ललितकला अन्तर्गत मूर्तिकला प्राध्यापन गर्छन् ।

    ‘द्यौसी–भैलो’ साँस्कृतिक गीत, सामाजिक नाटक ‘धर्मे’,‘प्यारो गाउँ ः जन्म ठाउँे’ नामक गीतिनाटक, ‘बस्ती विकास’ गीतिनाटक उनका प्रकाशित कृतिहरु हुन् । उनले ‘सिर्जनाका नव सौगात’ गजलसङ्ग्रह र ‘शंकाले लंका’ हाइकू लहरी प्रकाशन गरिसकेका छन् । 
    चार वर्षको उमेरमा आमा र आठ वर्षमा बाबा गुमाएका भुवनले दिदी, दाजु र भाउजूको आश्रयमा बाल्यकाल गुजारे । सानैदेखि चित्र, मूर्ति बनाउन खप्पीस उनले कवितालाई मन भुलाउने बाटोको रुपमा लिए । गीत, गजल, नाटक समेत लेखेर आफ्नो मनको पीडा बिसाएका ‘बहुवि’ले मूर्तिकलालाई जीवन गुजार्ने बाटो बनाएका छन् । 

    देख्यो गुँडमा उसले मस्त बचेरा,
    ‘अहाँ ! क्या मजा मेरो आजको आहारा’ ।
    च्याँपी–चुसी–चिथोरी गरी घुमी आयो
    एक–एक गरी–गरी गुँडै रित्यायो ।

    पंक्षी पंक्षीकै शिकार शीर्षकको कवितामा कवि ‘बहुवि’ले चराको दर्दनात्मक पीडानुभूति प्रस्तुत गरेका छन् । प्रकृतिमा मस्तसँग रमेको चराहरुलाई आफ्ना वायुपंखी जीवन बिताउन सहज छैन । गुँडमा रहेका अण्डा, बचेराहरु कहिल्यै सुरक्षित छैनन् । कहिले आफूजस्तै पंक्षीहरुबाट, कहिले सिकारीहरुबाट, कहिले सर्पजस्ता दुश्मन जीवहरुबाट आफ्ना अण्डा र बचेराहरु बचाउन नसक्दाको पीडा चराबाहेक अरुलाई के थाहा ? भनिन्छ नि–अचानोको पीर खुकुरीलाई थाहा हुँदैन । प्रकृतिलाई सुन्दर बनाउने चराहरु, धरतीका अमूल्य सम्पत्ति हुन् । उनीहरुका चिरबिरचिरबिर संगीतमय धूनहरु, कावा खाँदै उड्दै गरेका मनोरम दृश्यहरु, बचेराहरुलाई अहारा खुवाइरहेको भावपूर्ण दृश्यालोकन गर्न पाउँदा अति नै खुसी लाग्छ ।

    ‘भेटी लिएर मन्दिर जाउ’ शीर्षक कवितामा कवि लेख्छन्–
    यदि, मेरो खल्तीमा 
    दुईटा सुकी नहुँदो हो ? 
    ती उत्सुक नजरलाई 
    पक्कै निरसताले छाउँदो हो ।

    सायद, पैसाको बयान संसारमा सबैभन्दा बढी हुनेगर्छ । आमापछिको बयान गर्ने चीज नै पैसा नै होला । चाहे दान–दक्षिणामा होस्,चाहे उपहारमा किन नहोस्, पैसा चढाउने चलन नयाँ भने होइन । पैसा नहुनेहरु नै संसारको निरह होलान् । पैसा नहुनेहरुलाई हेर्ने नजर पनि निरस हुन्छ होला पक्कै । खल्तीमा पैसा नहुनेहरुप्रति गरिने व्यवहार सग्लो छैन पक्कै पनि । अग्लो हुन्, प्रतिष्ठित हुन्, प्रचारित हुनकै लागि पैसा चाहिने जमाना आएपछि, भगवानधारी मूर्तिलाई पनि पैसा(द्रव्य) को खाँचो पर्ने कुरा कविले उठाएका छन् । फूलप्रसादीले मात्र देउतालाई खुसी बनाउन नसकिने रहेछ कि, उनको सफेद प्रश्न छ ।

    कवि राष्ट्रप्रेमी भावले ओतप्रोत छन् । उनले जहाँ गए पनि, जहाँ भए पनि आफ्नै जन्मभूमि र आफ्नै बस्ती चाहिन्छ भनी मागिरहेका छन् । ‘मलाई मेरै बस्ती चाहिन्छ’ शीर्षक कवितामा उनी लेख्छन्–
    मलाई न्याय
    हक
    र,
    सहारा चाहिएको छ । 
    मलाई मेरै बस्ती चाहिन्छ ।

    आफ्नै जन्मेको गाउँ, ठाउँ, खेलेको, डुलेको बस्ती उनका लागि प्रिय छन् । धारा, पँधेरा, चौतारो सबैसबै उनका लागि मनमोहक छन् । बालसखा, पढेको विद्यालय उस्तै मायालु छन्।

    हृदयको गहिराई नाप्न कहाँ सजिलो छ र ? तैपनि कवि मनका ‘बहुविले ‘प्रलयकारी हृदय’ नामक कवितामा आफूलाई यसरी प्रस्तुत गरेका छन् । 
    प्रलयकारी अतिवृष्टि वर्षा बर्सिरहेछ
    मझेरीमा बाछिटाले छ्याप्पै छ्यापिरहेछ ।

    उनी आफ्नो ‘वाहिघात’ कवितामा यसरी पोखिएका छन्–
    ‘कैदी कल्पनाको सुन्दरतामा वैराग्यको सिरक ओढेर
    कत्रो हिउँद पछार्नु छ,
    अगुल्टे भाला बोकेर 
    कत्रो झरी लघार्नु छ ।’

    सायद यो कविताले कल्पनामा रम्न खोज्दा, हराउँदा अनेक सोचाइको विकास गर्ने कुरा औल्याएका छन् । मानिसले घरिघरि वाहिघात कल्पना गर्छ । अनावश्यक प्रश्न उब्जाउँछ । बेकारमा समय खेर फाल्छ । तैपनि मानिसले कल्पना गर्न छाड्दैन । कल्पनाशील प्राणी हो मानिस । कल्पनाशीलता हराउनु नै मानिसको मृत्यु हुनु हो ।

    विघ्न, बाधा हटाएर नै मानिस अघि बढ्छ । प्रकृतिसँग समन्वय गरी अघि बढ्नुपर्छ । न मानिससँग हिउँद पछार्न सक्ने खुबी छ, न त झरीबादललाई लघार्न सक्ने क्षमता ? यो त वाहिघात मनमा खेलाइएका कुरा न हुन् ।

    ‘उर्वर छ आफ्नै कर्मठ पाखुरी’ शीर्षकको कवितामा कविले जीवन र जगतलाई नजिकबाट बुझेको अनुभूत हुन्छ । उनी भन्छन्–
    सुनको श्रीफूल हीराको हार के गर्नु पहिरेर 
    रत्कै शरीर जडेता पनि जानु छ छाडेर ।

    भौतिकवादी चिन्तनबाट गुज्रेका कवि ‘बहुवि’ ले हीरामोती केही होइन, रत्नले नै जडेको शरीर भए पनि एकदिन यो नाशवान शरीर ढलेर जान्छ, गलेर जान्छ अनि रहने के हो त, मानिससँग,ग म्भीर प्रश्न उठाएका छन् । त्यसैले मानिसको कृति नै अमर रहने कुरा उनले औंल्याएका छन् । लेखन र प्राध्यापन कार्यमा गतिशील र कर्मशील बहुमुखी प्रतिभाका धनी भुवन थापा ‘बहुवि’ लाई अमर रहिरहन आफ्ना सुकीर्तिहरुले साथ दिइरहून् ।

    २०५० सालमा प्रकाशित यो कवितासङ्ग्रहका प्रकाशक लालबहादुर थापा हुुन् । टेकवीर मुखियाको आवरणकलामा सजित यो कवितासङ्ग्रहको मूल्य १५ रुपैयाँ राखिएको छ । मदन पुरस्कारबाट पुरस्कृत मोदनाथ प्रश्रितले ‘उदीयमान बहुमुखी प्रतिभा’ भनेर उनको कवितासङ्ग्रहमा भूमिका लेखिदिका छन् । यसले कवितासङ्ग्रहको वजन बढाइदिएको छ ।