२०८३, आश्विन ९ गते

Sep 25 2026 | २०८३, आश्विन ९ गते

सिद्धार्थनगरमा अपांगता भएका बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर

शुक्रवार , आश्विन ९, २०८३

  • 331
    Shares
  • 331
    Shares
  • भैरहवा, ९ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा अपांगता भएका बालबालिकाका लागि निःशुल्क शारीरिक अपांगता परीक्षण घुम्ती शिविर सञ्चालन हुने भएको छ ।

    सिद्धार्थनगर नगरपालिका र अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा, काभ्रेपलाञ्चोकको आयोजना तथा भीम अस्पताल, भैरहवाको समन्वयमा आगामी असोज १८ गते आइतबार भीम अस्पतालमा शिविर सञ्चालन हुने भएको हो ।
    सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीका अनुसार शिविर बिहान ९ बजेदेखि सुरु हुनेछ । शिविरमा विभिन्न प्रकारका शारीरिक अपांगता तथा हाडजोर्नीसम्बन्धी समस्याको परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिनेछ ।

    शिविरमा जन्मजात खुट्टाको पैताला भित्र फर्किएको (क्लब फुट), आगोले पोलेर अंगहरू एकआपसमा टाँसिएको, भाँचिएर बांगो भएको वा हड्डी नजोडिएको, खुट्टा लुलो तथा कमजोर भएको, ढाड बांगो वा कुप्रो भएको लगायतका समस्याको जाँच गरिनेछ ।

    त्यस्तै जोर्नी तथा घुँडाको पांग्रो खुस्किएको, जोर्नी दुख्ने तथा सुन्निने, हड्डी पाकेर पिप आइरहने, हड्डीको टीबी, औंलाहरू एकआपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नी बांगो वा खुस्किएको लगायतका हाडजोर्नीसम्बन्धी समस्या भएका बालबालिकाको परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

    त्यसै गरी सहायक सामग्री तथा कृत्रिम अंग आवश्यक भएका बालबालिकाले समेत शिविरबाट सेवा लिन सक्नेछन् ।
    सिद्धार्थनगर नगरपालिकाका अनुसार यसअघि पनि नगरपालिकामा यस्तै घुम्ती शिविर सञ्चालन गरिएको थियो ।