२०८३, आश्विन ८ गते

Sep 24 2026 | २०८३, आश्विन ८ गते

राष्ट्रिय वैश्य महासंघ रुपन्देहीद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ८१ हजार सहयोग

बिहिवार , आश्विन ८, २०८३

  • 277
    Shares
  • 277
    Shares
  • भैरहवा, ८ असोज । राष्ट्रिय वैश्य महासंघ नेपाल, रुपन्देहीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गरेको छ । महासंघ, रुपन्देहीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख ८१ हजार रुपैयाँ जम्मा गरेको हो ।

    बुधबार संस्थाका अध्यक्ष अमित कुमार गुप्ताको अगुवाइमा पदाधिकारी र सदस्यहरुको टोलीले उक्त रकम जम्मा गरेको बैंक भौचर प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई हस्तान्तरण गरेको हो ।

    उक्त रकम प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदान गरिएको महासचिव तालकेश्वर कान्दुले बताउनुभयो ।

    गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढी र पहिरोबाट भएको धनजनको क्षतिप्रति संस्थाले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ताहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    भौचर बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले हामी सबै बाढीप्रभावितको साथमा छौं भन्ने सन्देश गएको बताउनुभयो । उहाँले महाविपत्तिमा राष्ट्रिय वैश्य महासंघ नेपाल, रुपन्देहीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै आभार व्यक्त गर्नुभयो । 

    जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा भएको भौचर हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष अमित कुमार गुप्ता, उपाध्यक्ष अशोक कुमार शाह, महासचिव तालकेश्वर कान्दु, कोषाध्यक्ष त्रिभुवन अग्रहरी, सदस्य दुर्गा प्रकाश गुप्ता, मनोज अग्रहरी, विष्णु रौनियारलगायतको उपस्थिति रहेको थियो ।