२०८३, आश्विन ६ गते

Sep 22 2026 | २०८३, आश्विन ६ गते

काँग्रेस सिद्धार्थनगर सभापतिमा संजीव शर्मा रेग्मीद्वारा प्यानलसहित उम्मेदवारी घोषणा

मंगलवार , आश्विन ६, २०८३

  • 367
    Shares
  • 367
    Shares
  • भैरहवा, ६ असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत बुधबार (भोली) हुने सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको अधिवेशनमा नगर सभापति पदमा उम्मेदवारी दिने युवा नेता संजीव शर्मा रेग्मीले घोषणा गर्नुभएको छ । 

    मंगलबार भैरहवामा संजीव शर्मा रेग्मी जिताउ अभियानले आयोजना गरेको सिद्धार्थनगरमा नवनिर्वाचित वडा सभापति एवं क्षेत्रीय प्रतिनिधिहरुको सम्मान कार्यक्रममा उहाँले यस्तो घोषणा गर्नुभएको हो । अघिल्लो नगर अधिवेशनमा पनि रेग्मीले सभापति पदमै उम्मेदवारी दिनुभएको थियो । तर, त्यतिबेला उहाँ पराजित हुनुभएको थियो । उहाँले विद्यार्थी राजनीतिदेखि निरन्तर पार्टीको वडा सदस्य, सचिव, नगर कोषाध्यक्ष र सचिवको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

    काँग्रेसलाई अझ बलियो बनाउन आफूले उम्मेदवारी दिन लागेको उहाँले बताउनुभयो । उहाँले आफू गुटको राजनीति नभइ संगठनको राजनीति गर्न आएको बताउनुभयो । ‘काँग्रेस निर्वाचनको समयमा मात्र सम्झिने पार्टी होइन, यो हाम्रो राजनीतिक जीवनको यात्रा, विश्वास र पहिचान हो, ’उहाँले भन्नुभयो । उहाँले आफू विगतको अधिवेशनमा निर्वाचित हुन नसके पनि विचलित नभएको बताउनुभयो । नेता रेग्मीले आफू र आफ्नो प्यानललाई जिताउन आग्रह गर्नुभयो । आगामी निर्वाचनमा काँग्रेसलाई सशक्त र विजयी बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

    रेग्मी समूह (प्यानल) बाट उपसभापति पदमा अनिल कुमार के.सी., लक्ष्मी अर्याल, सचिवमा पंकज उदास र सह–सचिवमा राम मिलन यादवले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

    कार्यक्रममा सहभागी नेताहरुले संजीव शर्मा रेग्मी र उहाँको प्यानललाई जिताउन आग्रह गर्नुभयो ।

    dddwwww.jpg

    कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थ राज्यमन्त्री भरत कुमार शाहले पार्टीले दिएको जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । उहाँले संजीव शर्मा रेग्मीलाई सफलताको शुभकामना दिनुभयो । शाहले काँग्रेस चार पुस्ताको पार्टी भएको बताउनुभयो । 

    पार्टीका नेता तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले काँग्रेस समुन्द्र जस्तै ठूलो पार्टी भएको बताउनुभयो । उहाँले पार्टीलाई अगाडि बढाउन सहमतिको प्रयास गर्न नेताहरुलाई आग्रह गर्नुभयो ।

    त्यस्तै संविधान सभा सदस्य जन्नतुन निशा धुनियाले सकेसम्म सहमति गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।

    काँग्रेस रुपन्देही–३ का क्षेत्रीय सभापति सुशील गुरुङले लोकतन्त्रमा प्रतिष्पर्धा भए पनि स्वस्थ प्रतिष्पर्धाको रुपमा लिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा काँग्रेस जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, नेताहरु दीपक क्षेत्री न्यौपाने, लेखनाथ भट्टराई, सुरेन्द्र जंग थापा, राजकुमार गुप्तालगायतले बोल्नुभएको थियो । नगर सचिव अनिल कुमार के.सी.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय प्रतिनिधि श्यामशंकर पाण्डेले गर्नुभएको थियो ।