मंगलवार , आश्विन ६, २०८३
धनकुटा, ६ असोज । नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोईराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्माले धनकुटाको एउटा विधालयमा पाँच करोड रुपैयाँ बराबरको शैक्षिक सहयोग गर्नुभएको छ ।
धनकुटाको पाख्रीबास नगरपालिका–१०, चुङमाङस्थित श्री भारती माध्यमिक विद्यालयमा उहाँले भवन निर्माण र विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेगरी उक्त रकम सहयोग गर्नुभएको हो । उहाँले विद्यालयको नाम आफ्ना हजुरबुबा गुनलाल र जिजुबुबा गणपति न्यौपानेको नाममा परिवर्तन गराउने गरी सम्झौता समेत गर्नुभएको छ ।
सम्झौताअनुसार विद्यालयको नाम अब ‘श्री भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गरिनेछ । विद्यालयको नाम परिवर्तनसँगै डा. शर्माले विद्यालयको विकासका लागि तीन करोड रुपैयाँ र आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीको उच्च शिक्षाका लागि दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता पनि गर्नुभएको हो । उहाँले विद्यालयको नाम परिवर्तनका लागि २०८२ पुस २३ गते विद्यालय व्यवस्थापन समितिमा निवेदन दिनुभएको थियो ।
आवश्यक प्रक्रिया पूरा भएपछि सोमवार पाख्रीबास नगरपालिका र शर्माबीच नाम परिवर्तनसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार विद्यालयको नाम परिवर्तनका लागि आवश्यक तीन करोड रुपैयाँ शर्माले हस्तान्तरण समेत गर्नुभएको छ । त्यसैगरी, काठमाडौं मेडिकल कलेज (केएमसी) मार्फत सोही विद्यालयका आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीलाई दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता पनि भएको छ ।
सम्झौतामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम तिम्सिना, डा. शर्मा र पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको छ । छात्रवृत्तिमा केएमसीमा अध्यापन हुने डीएम, एमसीएच, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस र बीपीटीलगायत कार्यक्रमको अध्ययन शुल्क समेटिनेछ । डा. शर्माले आफ्ना पूर्खाको नाम विद्यालयसँग जोड्ने कार्यसँगै शिक्षा र सामाजिक उत्तरदायित्वलाई अघि बढाउने उद्देश्य रहेको बताउनु भयो । शर्माले मोरङ, धनकुटासँगै अब हुम्लामा पनि विद्यालयमा सहयोग गर्ने जानकारी दिनुभयो । हुम्लाको चङ्खेलीमा रहेको विद्यालयमा सहयोग गर्नेगरी प्रक्रिया अगाडी बढाएको उहाँको भनाई छ । उहाँले धनकुटाका बासीलाई केएमसी अस्पतालमा निःशुल्क उपचारको लागि १ सय वटा कोटा छुट्याएको पनि घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो स्कुलको भवन निर्माणको लागि गरेको सहयोग धनराशीको रुपले हेर्नुहुन्छ भने ठूलो होइन । तर अब मनकै रुपले हेर्ने हो भने लोभ त सबैलाई लाग्छ नि । पैसा हो, अब दुखै गरेर मेहनत गरेर कमाएको हुन्छ । अब सामान्य रुपमा नेपाली व्यापारीहरु सबैलाई ऋणै हुन्छ, धेरैजसोले यहाँ दिएको पनि होइन । तर यो माटोसँग हाम्रो सेन्टिमेन्ट, हाम्रो सम्बन्ध, हाम्रा भावनाहरु जसरी जोडिएका छन् त्यसको कुनै मूल्य हुँदैन ।
त्यो अपार छ, त्यसकारणले यो माटोसँगको हाम्रो सामिप्यता ५ करोड रुपैयाँ दिएर हामीले तिर्न खोज्यौँ भने त्यो अधुरो हुन्छ, पूरा हुँदैन । हामीले अझै धेरै गर्नु छ र हामी गर्न पनि चाहन्छौँ । हामीले यो पहिलो स्कुल बनाएको होइन । म आफू पढेको प्राइमरी स्कुल मोरङको क्षेत्र नम्बर २ मा पनि एउटा स्कुल हामीले ठूलो भवन एउटा निर्माण गरिरहेका छौँ, जहाँ मेरो बुबा र आमाको नाम जोडेका छौँ । समाजका लब्धप्रतिष्ठित मान्छेहरु बसेर हामीलाई त्यो गरिदिनुभयो ।
यो चुङमाङ यो दोस्रो स्कुल हो, मैले हुम्लाको चङ्खेलीमा एउटा प्रश्ताव दिएको छु । अब बुबाआमाको भयो, जिबा र हजुरबाको पनि भयो, अब म र मेरो श्रीमती पनि बाँच्दै खेरि आफ्नो नाम किन नराख्ने भनेर चङ्खेलीमा एउटा प्रश्ताव दिएको छु, पास भयो भने हामी त्यहाँ बनाउन जान्छौँ । अब हामीले नोवेल अस्पतालमा उपचार हुने विरामीको उपचारको लागि केएमसीमा निशुल्क गर्न १०० जनाको कोटा धनकुटा क्षेत्रलाई दिएका छोँ । ५० प्रतिशत अनलिमिटेड कोटा दिएका छौँ । ५० प्रतिशतमा जति गए पनि भयो । १–२ हजार मान्छे गएपनि भयो, तर शतप्रतिशत चाँही जो साँच्चिकै धनकुटामा घर भएको एउटा सामान्य झुपडीमा बस्ने, दुई छाक भातको निम्ति सङ्घर्ष गर्ने कुनै पनि गरिब पैसा नभएको कारणले तपाईंहरुलाई मर्न आँट्यो भन्ने लाग्छ भने हामीलाई सम्झिनुस्, १०० वटा कोटा हामी निःशुल्क रुपमा उपचार गरेर घर पठाइदिन्छौँ ।’
शर्माले मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयको नाम आफ्ना बुबाआमाको नाममा परिवर्तन गर्न दुई करोड रुपैयाँ सहयोग गर्नुभएको थियो । सहयोगपछि विद्यालयको नाम ‘श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय’ कायम गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij