मंगलवार , आश्विन ६, २०८३
भैरहवा, ६ असोज । बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबारदेखि १७ औं विश्व शान्ति मञ्च सुरु भएको छ । ‘२१ औं शताब्दीमा शान्तिको पुनर्कल्पना’ मुख्य विषय रहेको तीनदिने अन्तर्राष्ट्रिय कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ ।
काठमाडौंको धुम्बाराहीस्थित लुम्बिनी विश्व शान्ति मञ्च र लक्जम्बर्गस्थित इन्टरनेशनल सेन्जेन पिस फाउण्डेशनको संयुक्त आयोजनामा कार्यक्रम सुरु भएको हो । आयोजकका अनुसार दक्षिण एसियामै पहिलोपटक लुम्बिनीमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा जलवायु न्याय, दिगो विकास र पर्यटन विकास लगायतका विषयमा छलफल हुने लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक तथा अध्यक्ष वासुदेव गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि मञ्चका कार्यक्रम स्पेनको बार्सिलोना र दक्षिण अफ्रिकामा आयोजना भइसकेका छन् ।
मञ्चमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूको सहभागीता रहेको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि प्रणव गुप्ता, इन्टरनेशनल सेन्जेन पिस फाउण्डेशन (लक्जम्बर्ग) का अध्यक्ष विक्की हानसेन, इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (अष्ट्रेलिया) का संस्थापक कार्यकारी अध्यक्ष स्टिफ केल्ली एएम, भुटान पर्यटन परिषद्का निर्देशक दाशो दोर्जी धादुल तथा डा. वोल्फगाङ जर्ज आल्र्टलगायत सहभागी हुनुहुन्छ ।
त्यस्तै जेनेभास्थित अन्तरव्यवस्थापकीय संघका महासचिवले भिडियो सन्देशमार्फत कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।
सोमबार बिहान भएको उद्घाटन सत्रमा लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन तथा लुम्बिनी–कपिलवस्तु विश्व अभियान बेल्जियमका अध्यक्ष डा. राजेन्द्र बारीलगायतको उपस्थिति थियो ।
पर्यटन र दिगो विकासमा जोड
आयोजकका अनुसार उच्चस्तरीय अन्तर्राष्ट्रिय कार्यक्रमले लुम्बिनीको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न देशका संस्थाहरूले सहकार्य गरेका छन् । लुम्बिनी–कपिलवस्तु विश्व अभियानका नर्वे, पोल्याण्ड, स्वीडेन, बेल्जियम र अस्ट्रेलिया शाखाले समेत कार्यक्रममा सहयोग गरेका छन् ।
मञ्चले जलवायु परिवर्तन, शान्ति र दिगो पर्यटनका विषयमा ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij