२०८३, भाद्र २९ गते

Sep 14 2026 | २०८३, भाद्र २९ गते

नेपाली ख्रीष्टियन नागरिक संघको ११ औं केन्द्रीय साधारणसभा नवलपरासीमा

सोमवार , भाद्र २९, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • परासी, २९ भदौ । नेपाली ख्रीष्टियन नागरिक संघको ११ औं केन्द्रीय साधारणसभा सोमबार पश्चिम नवलपरासीमा सम्पन्न भएको छ । बर्दघाट–७ जिमिरेभारस्थित पवित्र दर्शन चर्चमा आयोजित सभामा संघमा आबद्ध देशभरका प्रतिनिधि तथा अगुवाहरूको सहभागीता थियो । 

    साधारणसभाले संघको आगामी कार्यदिशा, संगठन सुदृढीकरण, सामाजिक उत्तरदायित्व तथा ख्रीष्टियन समुदायको अधिकारका विषयमा छलफल गरेको छ । साधारणसभामा सहभागी वक्ताहरूले ख्रीष्टियन समुदायका अधिकारको संरक्षणसँगै समाजप्रति उत्तरदायी र सेवामुखी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। 

    संघका संस्थापक केन्द्रीय अध्यक्ष एवं वर्तमान राष्ट्रिय प्रवक्ता टीकराम आचार्यले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै मुलुकको विकास र समृद्धिमा योगदान पुर्याउन ख्रीष्टियन समुदायको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले समुदायभित्रको एकता मजबुत बनाउँदै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, विपद् व्यवस्थापन तथा मानवअधिकारका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । 

    सभाले संघको रिक्त केन्द्रीय अध्यक्ष पदमा उपाध्यक्ष रामदुलारे महत्तोलाई चयन गरेको छ । संघका केन्द्रीय अध्यक्ष धनबहादुर तामाङले राजीनामा दिनुभएका कारण उक्त पद रिक्त रहेको थियो । साधारणसभाले संघको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा संगठनलाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउने विषयमा महत्वपूर्ण छलफल तथा निर्णय गरेको संघका केन्द्रीय अध्यक्ष महत्तोले बताउनुभयो । 

    पश्चिम नवलपरासीमा केन्द्रीय साधारणसभा आयोजना हुनु जिल्लाको लागि गौरवको विषय भएको बताउँदै नेपाली ख्रीष्टियन नागरिक संघका जिल्ला अध्यक्ष जीतबहादुर पुनले नवलपरासीको धार्मिक तथा सामाजिक विविधताबीचको सहअस्तित्व र सहकार्यलाई समेत मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । 

    सभामा केन्द्रिय सचिव सागर कार्कीले संघको वार्षिक प्रगति प्रतिवेदन, आगामी कार्ययोजना तथा आय–व्यय विवरणसमेत पेश गर्नुभएको थियो । उक्त अवसरमा संघका जिल्ला सचिव यमबहादुर मगर, नवलपरासी ख्रीष्टियन मण्डली परिषदका जिल्ला सचिव आमोस तामाङलगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।