२०८३, कार्तिक १२ गते

Oct 29 2026 | २०८३, कार्तिक १२ गते

रुपन्देहीमा नेकपाको राष्ट्रिय जागरण अभियान सुरु, वर्तमान सरकारको कडा आलोचना

बिहिवार , कार्तिक १२, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • बुटवल, १२ कार्तिक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले बिहीबार राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । अभियानको नेकपाका लुम्बिनी प्रदेश इञ्चार्ज एवं पूर्वमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले उद्घाटन गर्नुभएको छ । 

    उद्घाटन समारोहमा बोल्दै नेता खनालले अन्तर्राष्ट्रिय घटनाक्रम र आन्दोलनहरुले नेपालका बामपन्थी पार्टीहरु निराश हुनु नपर्ने बरु उत्साहित हुनुपर्ने बताउनुभयो । विश्वव्यापी रुपमा पूँजीवाद भन्दा कम्युनिष्टहरुले अंगिकार गरेको समाजवाद ठीक रहेछ भन्ने मान्यता स्थापित हुँदै गएको उहाँले बताउनुभयो । ब्राजिलमा चौथो पटक कम्युनिष्ट नेता राष्ट्रपतिमा निर्वाचित भएका र लाखौं जनता विजयउत्सव मनाउन सडकमा उत्रिएको घटना नेपालका बामपन्थीका लागि सकारात्मक भएको उहाँले बताउनुभयो ।

    दीपक भट्ट जस्ता बिचौलिया दलाललाई प्रयोग गरेर केपी ओलीले नेपालमा कम्युनिष्ट एकता भताभुङ्ग बनाएको खनालको आरोप छ । खनालले जेनजी आन्दोलनले विश्वव्यापी रुपमा पुराना दल र नेतृत्वप्रति राम्रो काम गरेको भएप नि जबरजस्त नकारात्मक धारणा स्थापित गरिदिएका कारण अब पार्टीमा युवाहरुको सहभागीता बढाउनुपर्नेमा जोड दिनुभयो । पार्टीमा युवा पंक्ति नबढाउने हो भने नेकपा पनि मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे, मोहन वैद्यको पार्टी जस्तो खुम्चिएर एकाध जिल्लामा सीमित हुनुपर्ने जोखिम रहेको उहाँले बताउनुभयो ।

    नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीको दुई महिने जागरण अभियानको बुटवलमा उद्घाटनमा बोल्दै पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले वर्तमान सरकार पुलिस स्टेट बनाउन लागिपरेको बताउनुभयो । उनले पूर्वप्रधानन्यायधिशलाई सुरक्षा चुनौतीको बहानामा पक्राउ गर्नेदेखि बहालवाला मन्त्रीलाई समेत १२ बजे राती थुन्न भन्ने आदेशले सरकार पुलिस स्टेट बनाउन अग्रसर रहेको बताउनुभयो । उहाँले सरकारको आलोचना गर्ने प्रेसदेखि लिएर न्यायालय, प्रहरी सबैलाई आफ्नो मातहतमा राख्ने काम भएको दावी गर्नुभयो । उहाँले सरकारकै गृहमन्त्री सुधन गुरुङसँग हदबन्दी भन्दा बढी जग्गा देखिएको तर, कारवाही नभएको बताउनुभयो ।

    ‘हदबन्दी भन्दा बढी भएको जग्गा सरकारले कब्जा गर्न सक्छ’ उहाँले प्रश्न गर्नुभयो । उहाँले सुशासन, पारदर्शीताको कुरा गर्ने सरकारका मन्त्रीसँग हदबन्दी भन्दा जग्गा र सुन हुने कुरा आफैमा आश्चर्यजनक रहेको बताउनुभयो । ‘गिट्टी कुट्ने बुवाआमाको भिडियो आउँछ, मन्त्रीको सुन देखिन्छ’ उहाँले भन्नुभयो–‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुनेबितिकै सुन फल्छ ।’ 

    नेकपाका केन्द्रीय संयोजन समिति सदस्य बरालले सुकुम्बासीलाई रुँदै पठाउने रास्वपाको सरकार गलत बाटोमा हिडेको बताउनुभयो । उहाँले बुटवलसहित देशैभरका सुकुम्बासीहरुले पछि मात्रै लालपूर्जा पाएको बताउनुभयो । उहाँले नागरिकता विवादमा परेकी तिब्बती शरणार्थीको छोरी र विदेशबाट करोडौं रकम खातामा आएकी आनी छोइङ डोल्मालाई छानबीन गरेर कारवाही गर्नुको साटो लुम्बिनी विकास कोषमा नियुक्ति दिइएकोमा पनि आपत्ति जनाउनुभयो ।

    नेकपाले जागरण अभियान अन्तर्गत सदस्यता विस्तार र संगठन विस्तार, आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा सरकारका गलत कदमकाविरुद्ध जनतालाई बुझाउने कार्यक्रम रहेको नेकपा रुपन्देही इञ्चार्ज निर्मल जि.सी.ले बताउनुभयो । 

    जागरण अभियान उद्घाटन समारोहमा नेकपा रुपन्देहीका संयोजक बाबुलाल यादव, पूर्व प्रदेश सांसद दीपा विश्वकर्मा, नेता पुष्पराज ढकाल (क्षितिज) लगायतले बोल्नुभएको थियो ।