२०८३, भाद्र ७ गते

Aug 23 2026 | २०८३, भाद्र ७ गते

शिवपुरी शिखरको एक अविस्मरणीय यात्रा

शनिवार , भाद्र ६, २०८३

  • 124
    Shares
  • 124
    Shares
  • यात्रा मिति: २०८२ मंसिर १२, शुक्रबार ।

    मंसिर १२ गतेको चिस्यान मिश्रित उज्यालो बिहान काठमाडौँ उपत्यकाको आकाश असामान्य रूपमा खुलेको थियो, धुवाँ–धुलो कम, र हावामा छुट्टै प्रकारको ताजगी। आजको दिन अरू दिनजस्तो थिएन, किनकि बिहानैदेखि मनमा विशेष उत्साह थियो– शिवपुरी शिखरसम्मको पदयात्रा। हामी पाँच जना सेवानिवृत्त अधिकारीहरू– चार जना प्रहरी सेवाका अधिकारी र एकजना निजामती सेवाका इन्जिनियर– यो यात्राका सहभागी थियौँ। सबै नेपाली जनजीवन, सुरक्षा सेवा र राज्य सञ्चालनका विभिन्न पाटोमा लामो समय बिताइसकेका व्यक्तित्वहरू। सायद यही समान पेशागत पृष्ठभूमिले हाम्रो यात्रा अझ अर्थपूर्ण बनाउँदै थियो।

     यात्राको प्रारम्भ : मुहानपोखरीस्थित निकुञ्ज प्रवेशद्वारबाट

    बिहान सवा छ बजे सबैभन्दा टाढीमा रहेका गोविन्द निरौला र म ग्रीनहिलसिटी कोलोनीबाट निस्कियौँ। बाटोमा विभिन्न स्थानमा जोडिँदै करिब सात बजे हामी बुढानीलकण्ठ मन्दिरदेखि झण्डै दुई किलोमिटर माथि रहेको मुहानपोखरीस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा पुग्यौँ। टिममा सुरेन्द्र बहादुर शाह र सुशिलवर सिंह थापा दुई जना प्रहरीका सिनियर सरहरू र एक जना इन्जिनियर मदन कुमार मल्ल हुनुहुन्थ्यो।

    सेनाको सुरक्षा–जाँचको औपचारिकता पूरा गरेपछि हाम्रो यात्रा सुरु भयो। केही मिनेटमै सहरको कोलाहल हराउँदै गयो र जंगलको मौनता, ओसिलो माटोको गन्ध, चिसो हावा र चराचुरुङ्गीको स्वरले जंगल यात्राको वास्तविक अनुभूति दिलाउन थाल्यो। सबैको अनुहारमा उत्साह थियो, र मनभित्र एउटै लक्ष्य– शिवपुरी शिखर।

    घना रुखहरूले छोपेको ढुंगेसिँढीयुक्त पदमार्ग उकालो लाग्दै जाँदा काठमाडौँ उपत्यका क्रमशः तल छुट्दै गयो– मानौँ हामी उचाइसँगै सहरको व्यस्तता पनि पछाडि छोड्दै थियौँ। छिट्टै हामी चिलाउनेको रुख पुग्यौँ, उकालो यात्राको एउटा मौन स्वागतद्वारजस्तै। उकालो बढ्दै गयो। शरीरले श्रम महसुस गर्न थाल्यो, तर साथीसँगको संवाद, सेवाकालका स्मृति र हाँसोले थकानलाई बिस्तारै हराइदियो। करिब दुई घण्टापछि देउरालीमा पुगेर केही क्षण विश्राम गर्यौँ।

    छापभञ्ज्याङ दोबाटो

    देउरालीपछिको मार्ग साँघुरो र थप उकालो हुँदै जान्छ। सूर्यको किरण घना वनछानो छिचोल्दै झर्दा दृश्य झन् जीवन्त बन्दै गयो। यही क्रममा मदन कुमार मल्लको प्रकृति प्रेम र फोटोग्राफीले यात्रालाई विशेष बनाइरहेको थियो– वातावरणमा कुनै फरक वा नौलो जीवजन्तु, बोटबिरुवा होस् वा दृश्य, आईफोन क्यामेरामा कैद गरिछाड्ने। यसअघिका उहाँसँगका यस्तै हाइकिङ यात्राहरूको क्रममा मैले उहाँको फोटोग्राफी कला र प्रकृति–प्रेमका बारेमा नजिकबाट बुझ्ने मौका पाएको थिएँ। आफ्नो आईफोनमा भएका फोटो–फिचरबारे जानकार नभएको शायदै कुनै बाँकी छ होला। 

    हामी छापभञ्ज्याङ आइपुग्दा बाटो फराकिलो हुँदै दोबाटोमा परिणत हुन्छ, जहाँबाट एक मार्ग सोझै अगाडि नुवाकोटतर्फ झर्छ भने अर्को दायाँ हुँदै शिवपुरी शिखरतर्फ उकालो लाग्छ। इतिहासमा यो पदमार्ग नुवाकोट, रसुवा, लाङटाङ क्षेत्र तथा गोसाइँकुण्डजस्ता धार्मिक स्थलतर्फ आवतजावत गर्ने प्रमुख मार्गका रूपमा प्रयोग हुँदै आएको पाइन्छ। आजभोलि मोटरमार्गको विस्तारसँगै यसको दैनिक प्रयोग घटे पनि छापभञ्ज्याङको महत्त्व मेटिएको छैन। बरु, यसले हाइकिङ यात्रीहरूलाई प्रकृति र इतिहास दुवैसँग साक्षात्कार गराउने दुर्लभ अनुभूति दिन्छ।

    कामधेनु गाई शिला / सतरुद्रेश्वर महादेव

    छापभञ्ज्याङ पार गरेपछि शिवपुरी यात्राले क्रमशः गम्भीर र अन्तर्मुखी स्वरूप ग्रहण गर्छ। पदमार्ग झन्–झन् ठाडो बन्दै जान्छ– मानौँ अब पहाडले यात्रुसँग केवल शारीरिक श्रम होइन, धैर्य र संकल्पको उत्तर खोज्न थालेको हो।

    यात्राको प्रारम्भदेखि घना वनक्षेत्रमा देखिएका चिलाउने, ढालेकटुस, उत्तिस, काफल, महुवा, टुनी, शिरीष र अंगेरीजस्ता बुट्यान तथा होचा रुखहरू यस बिन्दुसम्म आइपुग्दा क्रमशः हराउँदै जान्छन्। तिनको सट्टा यहाँ खसु, गुराँस, झिँगाने र बाँझ जातिका अग्ला तथा मोटा वृक्षहरूको बाहुल्यता देखिन थाल्छ। यस क्षेत्रमा पाइने यी वृक्षहरू ओक (Quercus) प्रजातिका रैथाने तथा दीर्घायु वनस्पति हुन्, जसले माटो क्षय रोक्न, पानी सञ्चित गर्न र भूमिगत जलस्रोतको सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्। स्थानीय समुदायका लागि पनि यी वनहरू विभिन्न रूपमा उपयोगी रहँदै आएका छन्। त्यसैले, यी ओक प्रजातिका वनहरू प्राकृतिक सौन्दर्य मात्र होइन, मानव–प्रकृति सहअस्तित्वका जीवन्त प्रतीक हुन् भन्न सकिन्छ। 

    यी अग्ला वृक्षहरूका तना र हाँगामा थरिथरिका ढुसी (च्याउ) देखिन्छन्, कतैकतै निगालोका झाडीहरूले वनको बनावटलाई अझ सजीव बनाएका छन्। चराचुरुङ्गीको मधुर स्वर र वरिपरिको मौनताले यात्रुलाई प्रकृतिको गहिरो काखतर्फ तानिरहेको अनुभूति हुन्छ। उचाइ बढ्दै जाँदा उत्तरतर्फ हिमशृङ्खलाको झल्को देखिन थाल्छ, र हावामा चिसोपन क्रमशः थपिँदै जान्छ।

    यही उकालो यात्राक्रममा बाटोमै भेटिने कामधेनु गाई शिला यात्राको एक अर्थपूर्ण विश्रामबिन्दु जस्तै लाग्छ। विशाल ढुंगाबाट बनेको यो शिला पुराणमा वर्णित कामधेनु गाईको स्मरणसँग गाँसिएको छ– मनोकामना पूर्ण हुने विश्वास बोकेको एक दिव्य प्रतीक। निरन्तर चार घण्टाको उकालोपछि यस्तो श्रद्धायुक्त स्थलमा आइपुग्दा शरीरको थकानभन्दा बढी मनको बोझ हलुका भएको अनुभव भयो, मानौँ यात्राले यहाँ आएर केही क्षण आफैँलाई विश्राम दिन सुझाएको हो।

    यसै आसपास अवस्थित उत्तराभिमुख विशाल पत्थर सतरुद्रेश्वर महादेवस्थलका रूपमा चिनिन्छ, जहाँ एक छेउमा ढुंगाको मूर्ति र त्रिशूलहरूले यसको परिचय दिइरहेको हुन्छ। शिवपुरीको चुचुरो नजिक अवस्थित सतरुद्रेश्वर महादेव प्राचीनकालदेखि तपस्या र ध्यानसँग जोडिएको पवित्र स्थल हो। जनविश्वासअनुसार यहाँ भगवान् शिवको सतरुद्र स्वरूपको आराधना गरिन्थ्यो, जसले साधकलाई आन्तरिक शक्ति, स्थिरता र शान्ति प्रदान गर्छ।

    एकान्त र उचाइको यो स्थलले यात्रुलाई प्रकृति र आध्यात्मको मौन संवादमा डुबाउँछ। यहीँ उभिएर उत्तरतर्फ दृष्टि फैलाउँदा स्पष्ट र जीवन्त हिमशृङ्खलाको दृश्य अत्यन्त मनमोहक देखियो। यस अनुपम दृश्यलाई क्यामेरामा उतार्ने अवसर मदन मल्लज्यूको फोटोग्राफी कलाले अझ विशेष बनायो। कामधेनु शिला र सतरुद्रेश्वर महादेव क्षेत्रमा बिताएका ती केही क्षणहरूले लामो उकालो यात्राको थकानलाई सहजै विस्मृतिमा धकेलिदियो। यस अनुभूतिले शिवपुरी यात्रा केवल चुचुरोमा पुग्ने लक्ष्य मात्र होइन, बाटोमै भेटिने प्रकृति, आस्था र आत्मअनुभूतिका संगमहरूबाट नै यसको वास्तविक अर्थ निर्माण हुने सत्य गहिरोसँग अनुभूति गरायो।

    शिवपुरी शिखर : उचाइभन्दा माथिको अनुभूति

    घुम्ती–घुम्ती लामो उकालो पार गर्दै जब हामी समुद्र सतहबाट २,७३२ मिटर उचाइमा रहेको शिवपुरी शिखरमा उभियौँ, शरीरमा थकानको भारी थियो, तर मन एकाएक हलुका र उज्यालो भइदियो। वाग्द्वारमाथि अवस्थित यो चुचुरो शिवपुरी बाबाको तपस्यास्थलका रूपमा परिचित छ। खुला आकाशमुनि फैलिएको फराकिलो घाँसे मैदान, पूर्वपट्टि बाबाको जीवन–आकारको सेतो सालिक, र वरिपरि बाँझ, गुराँस, खर्सुआदिका मौन साक्षी रुखहरूले यस स्थानलाई गहिरो शान्ति र पवित्रताको आभाले ढाकेको अनुभूति दिलाउँछन्। मानव चहलपहलबाट प्रायः अछुतो यो स्थानमा पुगेपछि क्षणभर संसार नै टाढा कतै हराएजस्तो लाग्यो। 

    घाँसे मैदानको उत्तरतर्फ दृष्टि फैलाउँदा सुनौलो घाममा चम्किरहेका लाङटाङ, गणेश र मनास्लु हिमशृङ्खलाहरू आँखैअगाडि उभिएका थिए, तल काठमाडौँ उपत्यका भने नक्साजस्तै विस्तारिएको थियो। माथिबाट बग्ने अलि तिखो तर अत्यन्त स्वच्छ हावाले दृश्यलाई अझ जीवन्त बनाइदिएको थियो, प्रकृति आफैँ बोलिरहेको जस्तो।

    यही अलौकिक शान्त परिवेशको काख, शिखरमै आजको यात्राको सबैभन्दा आत्मीय र रमाइलो उत्सव सुरु भयो– *Potluck Lunch*। घाँसे मैदानको छेउमा निर्मित सानो ढुंगे चौपाटी एकाएक भोजस्थलमा परिणत भयो। हामी प्रत्येकले घरबाट मनै लगाएर ल्याएका परिकारहरू एकपछि अर्को खुल्दै जाँदा, त्यो ठाउँ स्वाद, सुवास र उत्साहले भरिन थाल्यो। कसैले चिनियाँ शैलीमा सजाएको सिताके च्याउ र टोफु–बोकचोय पस्किए, कसैले ट्युइन्चा–आलु, भुटेको चिउरा, अम्बा र ड्राइफ्रुट फैलाए। कतैबाट आलुगोभीको घरेलु सुवास आयो, कतैबाट फ्राइड चिकेन र टमाटर–सुकुटी अचारको बास्नाले वातावरण नै बदलिदियो। रसिला सुन्तलाहरू हात–हातमा घुमे, मिन्ट र एनर्जी पाउचले थकान बिस्तारै पगाल्दै लगे। भोजन मात्र होइन, त्यो क्षण स्वयं एक साझा अनुभव बन्दै गइरहेको थियो।

    यही क्रममा एउटा रमाइलो प्रसङ्ग पनि जन्मियो। मैले आफ्नो ‘लन्च मेनु’मा ‘पञ्चधान्य पराठा’ (Five Grain Paratha) रहनेछ भनी सार्वजनिक गरेको थिएँ– परिकार सामान्य तर सुन्दा अलि ठूलो लाग्ने। उत्सुकता जगाउने हिसाबले एउटा थप आइटम ‘Top Secret’ भनी उल्लेख गरेको थिएँ। तर यतिखेर झोला खोलिँदा पराठाको सट्टा खाली पेपर प्लेटहरू मात्र भेटिए, पराठा त घरमै छुटेछ। जे होस्, त्यतिखेर पराठाभन्दा पनि प्लेटको बढी आवश्यकता देखिएको थियो, किनकि खानाको अभाव त थिएन नै। यो घटना एकछिन हाँसोको विषय बन्यो। ‘Secret Item’ चाहिँ पछिको लागि भनी गोप्य नै राखियो।

    त्यो क्षण भोजन, स्वाद, हाँसो र मित्रताको साझा उत्सव थियो। शिखरमा यसरी बाँडिएको खानाले यात्रालाई उचाइ जितेको अनुभूति मात्र होइन, आत्माले छोएको स्मृतिमा रूपान्तरण गरिदियो। भोजनपछि घामले न्यानो पारेको घाँसे चौरमा पल्टिँदा निलो आकाश, चराहरूको चिरबिर र तल काठमाडौँमाथि फैलिएको सन्नाटाले समय नै स्थिर भएको जस्तो लाग्यो। उमेर र अनुभवले धेरै पाठ सिकाए पनि, यस्तो क्षण नै जीवनको साँचो सुन्दरता हो भन्ने अनुभूति शिवपुरी शिखरले गहिरोसँग दिलायो। 

    शिवपुरी बाबा : शिखरको साधना र मौन विरासत

    उकालो चढ्दै शिखरतिर नजिकिँदा हामीबीच शिवपुरी बाबाको बारेमा प्रसङ्ग चल्दा यात्राअघि हामीमध्ये धेरैलाई उहाँबारे खासै थाहा थिएन। पछि बुझ्दा थाहा भयो, शिवपुरी शिखरको आध्यात्मिक गरिमा यहाँ लामो समय तपस्यारत रहनुभएका शिवपुरी बाबा श्री गोविन्दानन्द भारतीसँग गाँसिएको रहेछ। भारतको केरलामा जन्मिएका, जन्मनाम जयन्थन नम्बूदिरीपाड भएका बाबा जीवनको उत्तरार्धमा यही घना वनलाई तपोभूमि बनाएर ध्यान–साधनामा लीन रहनुभएछ।

    त्यसैले होला, आज पनि शिखर नजिकै रहेको उहाँको समाधि र स्मारक मूर्ति मौन तपस्याको साक्षीझैँ उभिएको देखिन्छ। कसैले बाबा करिब १३७ वर्ष बाँचेको विश्वास सुनाए, कसैले पशुपति क्षेत्रको ध्रुवस्थलीस्थित समाधि र उहाँबारे लेखिएका ग्रन्थहरू, विशेषतः J.G. Bennett को Long Pilgrimage जस्ता कृतिहरूले शिवपुरी बाबालाई साधनाको जीवित परम्पराका रूपमा स्थापित गरेको तथ्य खुलाए। कुरा छोटो थियो, तर त्यसले शिखरको दृश्यसँगै साधना, मौनता र आत्मिक खोजको लामो यात्राको गहिरो अनुभूति एकसाथ महसुस गरायो। 

    ओरालो यात्रा : बागद्वार, देउराली अनि नागी गुम्बा

    शिवपुरी शिखरको शान्ति र शिवपुरी बाबाको मौन साधनालाई मनमा बोकेर हामी अब ओरालो यात्रातर्फ लाग्यौँ।

    उकालो चढ्दाको सुनसान बाटो सम्झँदा, ओरालो यात्राले बिल्कुलै फरक दृश्य र अनुभूति दिइरहेको थियो। उकालोमा हाम्रो समूहमध्येबाहेक अरू कोही नदेखिएको त्यो एकान्तता यहाँ आएर चहलपहलमा रूपान्तरित भएको थियो। तलबाट समूह–समूहमा उकालो चढ्दै आएका यात्रुहरू भेटिन थाले, बाटोमा हल्का कोलाहल र मानवीय उपस्थितिले यात्रालाई नयाँ रङ दिएको थियो। छाप भन्ज्याङतर्फको बाटो ठाडो उकालो पर्ने र बाटोमा कहिल्यै पानी नहुने भएकाले नै होला, यो रुट बढी रुचाइएको जस्तो लाग्यो। 

    शरीर हलुका थियो, चाल स्वाभाविक रूपमा सहज, र शिखरको सफल आरोहणले मन गह्रौँ सन्तोषले भरिएको। आधा घण्टाको हिँडाइपश्चात् हामी बाबा आश्रम नजिक पुग्यौँ। वरिपरि अझै पनि साधनाको मौनता फैलिएको अनुभूति थियो। यहाँ केही क्षण रोकिँदा यस्तो लाग्यो– शिवपुरी बाबाको तपस्या केवल इतिहासको पानामा सीमित छैन, त्यो अझै पनि यही वन, यही हावा र यही गोरेटाहरूमा श्वास फेर्दै बाँचिरहेको छ।

    ओरालो यात्राको अर्को महत्त्वपूर्ण बिन्दु बागद्वार हो, जहाँबाट बागमती जन्मिन्छ। बागद्वार बागमतीको मात्र उद्गम होइन, काठमाडौँ सहरको जीवन, संस्कृति र इतिहासको मूलस्रोत हो, किनकि यहीँबाट निस्किएको जलधाराले सहर मात्र होइन, सम्पूर्ण काठमाडौँ सभ्यतालाई आकार दिएको छ। बाघ–मुखाकृतिको ढुंगेधाराबाट बग्ने चिसो, स्वच्छ पानीले यात्रालाई नयाँ ऊर्जा दियो। दिनभरको हिँडाइपछि त्यो पानीको स्वाद असाधारण लाग्यो– जसले तिर्खा मात्र होइन, मनसम्म शीतलता पुर्‍यायो। बाँकी यात्राका लागि पनि हामीले खाली बोतलहरू भर्‍यौँ र पुनः यात्रा जारी राख्यौँ।

    यसपछि ढुंगाबिनाको पतझड तेस्रो गोरेटो बाटो भेटियो, जहाँ छेउछाउमा विशाल रुखहरू फेदतिर खोक्रिएर प्राकृतिक ओडारझैँ बनेका थिए; ती ओडारहरूले समय, प्रकृति र जीवनको सहअस्तित्व झल्काउँदै सम्पूर्ण जंगललाई नै रहस्यमय बनाइरहेका थिए। यी दृश्यहरू फोटोमा कैद गर्ने काम भयो। बाटोको सहजताले गर्दा होला, बीच–बीचमा रमाइला जोक्सहरू फुर्न थालेका थिए, विगतका सेवाकालका रोचक प्रसङ्ग र हल्का परिहासले यात्रा झन् रमाइलो बनाइरहेको थियो। सरकारी सेवाबाट निवृत्त भएपछि जीवन–अनुभूति, समाज हेर्ने दृष्टि, देशसँगको माया– यी र यस्तै कुरामा हामी पाँचै जनाको समानता प्रस्ट महसुस हुन्थ्यो। 

    बागद्वारबाट करिब एक घण्टाको यात्रा पछि देउराली आइपुग्दा बाटो एकाएक खुला र उज्यालो भयो। घामको न्यानोपनले शरीरमा स्फूर्ति थपियो। सानो चौरबाट पूर्वतर्फ फैलिएको हिमाली दृश्य आँखामा परेपछि थकान क्षणभरमै बिर्सिएजस्तो लाग्यो। चराचुरुङ्गीको उपस्थिति यहाँ झन् जीवन्त थियो। यहीँ हामीले विशेष क्यामेरासहित चराचुरुङ्गी अवलोकनमा तल्लीन (bird watcher) समूह भेट्यौँ।

    हामी पुग्दा लामो पुच्छर भएको एक विशेष चराको फोटो खिच्न व्यस्त समूहका एक सदस्यले घुमाउरो पारामा ‘डिस्टर्ब’ भएको प्रतिक्रिया जनाए, किनकि हाम्रो आगमनसँगै त्यो चरो अलप भएको थियो। अन्जानमै भएको त्यो क्षणलाई ठट्टा मिसिएको ‘सरी!’ भन्दै सहजै टुंग्यायौँ। यहीँ सानो चौरमा बसेर फलफूल र ड्राइफ्रुट खाँदै सानो ब्रेक लियौँ।

    देउरालीपछिको यात्रा र नागी गुम्बा

    देउरालीपछिको ढुंगेसिँढीयुक्त बाटो अलि ठाडो ओरालो थियो, त्यसैले सहजताका लागि ‘हाइकिङ स्टिक’ तन्काइयो। ओरालो यात्राले हामीलाई जंगलको बीचमा अवस्थित नागी गुम्बासम्म पुर्‍यायो। यहाँ केही समय विश्राम गरी गुम्बा अवलोकन गर्‍यौँ।

    सानो चियाचमेना क्यान्टिन, भिक्षुहरूको शान्त चहलपहल र ३–४ जना विदेशी आगन्तुकहरूको उपस्थिति देख्दा मनमा प्रश्न उब्जियो– शिखरतिर नदेखिएका यी विदेशीहरू यहाँसम्म मात्र किन आए होलान्..? बाँकी खानेकुरा यहीँ बाँडेर खाइयो र बागद्वारबाट ल्याएको पानी पनि यहीँ सकियो– जस्तो कि यात्राको एउटा घेरो यहीँ आएर पूरा भएको होस्।

    नागी गुम्बाबाट तल हेर्दा बुढानीलकण्ठलगायत सहर क्षेत्रका दृश्यहरू फैलिएका थिए– प्रकृतिको काखबाट सभ्यतामा झर्दै गरेको अनुभूति दिलाउने। सायद यही अनुभूतिको खोजीमै ती विदेशीहरू यहाँसम्म आइपुगेका होलान् भन्ने लाग्यो। 

    यात्राको अन्त्य : फेरि मुहानपोखरी

    अपराह्न करिब साढे चार बजे फेरि मुहानपोखरी आइपुग्दा १७ किलोमिटरको पदयात्रा पूरा भइसकेको थियो। थकानभन्दा ठूलो थियो– गर्व र सन्तुष्टि! अनुशासित जीवनशैलीले यो उमेरमा पनि शरीरले साथ दिएको अनुभूति सबैका अनुहारमा झल्कन्थ्यो।

    घर फर्किन गाडी कुर्दै गर्दा नजिकैको क्याफेमा हामीले कफी अर्डर गर्‍यौँ। मेरो ब्याकप्याकमा राखिएको, ‘गोप्य’ भनिएको एउटा ‘आइटम’ अझै बाँकी नै थियो। अन्ततः ‘Top Secret Item’ को आवरण खुल्यो– त्यो थियो सामान्य मिठाईको एक परिकार।

    करिब एक हप्ता अघि मात्र दिल्लीबाट फर्कंदा मैले ल्याएको यो सुख्खा प्रकारको मिठाई ‘गजक’ थियो, जुन नरिवल, तिल, बदाम र गुडबाट बनाइने, विशेषगरी दिल्ली, उत्तर प्रदेश र राजस्थान क्षेत्रमा जाडो याममा अत्यन्त लोकप्रिय छ। यात्राको अन्त्यमा यस मिठाईले हाँसोसँगै एउटा नौलो तर मीठो सरप्राइज थपिदियो।

    कफीको कप हातमा लिएर गफिँदै गर्दा, पश्चिम क्षितिजतिर ढल्कँदै गरेको सूर्यले आकाशलाई सुनौलो बनाएको देखियो। थकित आँखाका लागि त्यो दृश्य मौन पुरस्कारजस्तै थियो। क्षण क्यामेरामा कैद भयो, तर मनमा बसेको सौन्दर्य शब्द र तस्वीरभन्दा गहिरो रह्यो।

    कामधेनु शिला, सतरुद्रेश्वर महादेव, शिवपुरी बाबाको तपस्या, बागद्वार, देउराली र नागी गुम्बाको शान्त वातावरणसँगै यो सूर्यास्तले एउटै सन्देश दियो– व्यस्त जीवनबीच यस्ता यात्राहरू आत्माका लागि अनिवार्य विश्राम हुन्। यात्रा यहाँ टुंगिए पनि, त्यसले दिएको शान्ति, स्मृति र कृतज्ञताको अनुभूति भने लामो समयसम्म मनसँगै रहनेछ। 

    यात्रावृत्तान्तकार– कमल सिंह बम, ग्रीनहिलसिटी मुलपानी, काठमाडौँ