२०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

एमाले लुम्बिनी बैठक : सचिवालय तथा केन्द्रीय कमिटी बैठक बोलाउन माग

शनिवार , भाद्र ६, २०८३

  • 352
    Shares
  • 352
    Shares
  • रुपन्देही, ६ भदौ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशमा ५२ हजार पार्टी सदस्यले मात्रै सदस्यता नवीकरण गरेका छन् । १२ जिल्लामा ८० हजार पार्टी सदस्य रहेकोमा हालसम्मको अद्यावधिकमा ५२ हजारले सदस्यता नवीकरण गरेको पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिनुभयो । एमालेले पटकपटक थपेको सदस्यता नवीकरणको समय सकिएको भए पनि आन्तरिक रुपमा अनिच्छुक सदस्यलाई नवीकरणको समय दिइरहेको थियो । 

    प्रदेश कमिटीको शनिबार बसेको बैठकमा सबै जिल्ला कमिटीका अध्यक्ष तथा इञ्चार्जहरुमार्फत आएको विवरणअनुसार यो संख्याको सदस्यतले नवीकरण गरेको कंडेलको भनाइ छ ।

    प्रदेश कमिटीले पार्टी केन्द्रलाई पुनःगठन तथा निर्वाचन समीक्षाका विषयमा देशभरबाट आएका सुझाव संकलन गरेर कार्यदलले तयार गरेको प्रतिवेदन सचिवालय हुँदै केन्द्रीय कमिटीमा छलफलका लागि लैजान आग्रह गरेको छ । 

    त्यसै गरी तत्काल सचिवालय र केन्द्रीय कमिटी बैकठमा समसामयिक विषयमा छलफल गरेर पार्टीलाई गतिशीलता दिन आग्रह गरिएको, प्रदेश सभा दलको बैठक हरेक महिना नियमित बसेर छलफल गर्नुपर्ने, जिल्ला र पालिका तहका जनप्रतिनिधिले त्यहाँको पार्टी कमिटीसँग नियमित छलफल गरेर अगाडि बढ्न निर्देशन गर्ने निर्णय कमिटीको बैठकले गरेको अध्यक्ष कंडेलले बताउनुभयो । 

    बैठकले मिसन पार्टी जागरण अभियानको प्रारम्भिक समीक्षा गर्दै यसलाई थप प्रभावकारी बनाउने विषयमा वडा तहसम्म पुर्याउनेलगायतका विषयमा छलफल भएको थियो । बैठकमा विभिन्न जिल्लाका अध्यक्षहरुले पार्टी पुनःगठन कार्यदलको  प्रतिवेदन सार्वजनिक गर्न, स्थानीय तहमा पार्टीको अवस्थालाई बुझेर कार्ययोजना बनाउन र नेतृत्व तहबाट जनस्तरका विषयहरुलाई सम्बोधन हुने गरी अघि बढ्न आग्रह गरेका थिए । 

    यो बैठकमा प्रदेश सरकारको तर्फबाट सहभागी मुख्यमन्त्री चेतनारायण आचार्य तथा पार्टीकोतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सरकारले गरेका मुख्य कामहरुको जानकारी तथा आगामी योजनाहरुका विषयमा जानकारी दिनुभएको थियो ।

    बैठकले रोल्पाका थवाङ, सुनछहरी, लुग्रीलगायत प्रदेशका विभिन्न क्षेत्रमा विपदबाट ज्यान गुमाएका परिवारलाई राहत, घाइतेको उपचार तथा सो क्षेत्रको अवस्था सुधारका योजना बनाउने सरकारको ध्यानाकर्षण गराएको छ । 

    एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले पार्टीका निर्णय कार्यान्वयन गर्नका लागि निर्देशनसहित विभिन्न जिल्लाका अध्यक्ष तथा प्रदेश कमिटीबाट उठेका विषयलाई सम्बोधन गर्नुभएको थियो । सचिव विश्वकर्माले अन्य प्रदेशमा भन्दा पार्टीका सबै गतिविधि यो प्रदेशमा बढेको, सदस्यता नवीकरणको संख्या पनि बढेको र केन्द्रीय कार्यक्रम कार्यान्वयनको अवस्था पनि राम्रो रहेको बताउनुभयो । उहाँले अब स्थानीय र प्रदेश सरकारसँगको समन्वय बढाएर त्यसमा पार्टीलाई सँगै जोडेर लजान निर्देशन दिनुभएको थियो।