२०८३, श्रावण २९ गते

Aug 14 2026 | २०८३, श्रावण २९ गते

कालिकामा मानवज्ञान माविका प्रधानाध्यापक ज्ञवालीद्वारा पदभार ग्रहण

शुक्रवार , श्रावण २९, २०८३

  • 367
    Shares
  • 367
    Shares
  • बुटवल, २९ साउन । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा खुला प्रतिष्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरिएको छ । बुटवल उपमहानगरपालिकाले विद्यालयको लागि प्रधानाध्यापक छनौटको लागि विज्ञापन अनुसार प्रतिष्पर्धा गरेका शिक्षकहरूमध्येबाट  विद्यालयमा माध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत शिक्षक विष्णुहरि ज्ञवाली आगामी पाँच वर्षका लागि प्रधानाध्यापकमा नियुक्त गरिएको हो ।

    बुधवार बुटवल उपमहानगरपालिका कार्यालयबाट प्रधानाध्यापकको नियुक्ति प्राप्त गर्नुभएका ज्ञवालीले शुक्रबार (आज) विद्यालयमा पदभार ग्रहण गरेका छन् ।
    नयाँ प्रधानाध्यापकको पदस्थापन तथा पूर्वप्रधानाध्यापकहरुलाई धन्यवाद प्रकट गर्न विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा निमित्त प्रधानाध्यापक पीताम्बर बन्जाडेले ज्ञवालीलाई पदभार हस्तान्तरण गर्नुभएको थियो ।

    WhatsApp Image 2026-08-14 at 8.06.26 PM.jpeg

    कार्यक्रममा बोल्दै विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले प्रधानाध्यापक एउटा विद्यालयको प्रशासन चलाउने पद मात्र नभएर समुदाय, विद्यालय, विद्यार्थी र सरकारलाई जोडेर देशमा गुणस्तरीय शिक्षाको लागि निरन्तर लड्नुपर्ने सिपाही भएको बताउनुभयो । उहाँले प्रधानाध्यापकलाई कहिल्यै थाक्ने र भाग्ने छुट नहुने बताउनुभयो । उहाँले कालिकाका शिक्षक र समुदायको एकता र प्रधानाध्यापकको अर्जुनदृष्टिको कारण विद्यालय अहिले नेपालकै ठुलो र उत्कृष्ट विद्यालय बन्न सकेको बताउनुभयो । पाठकले यही विद्यालयलाई हेरेर देशभर सामुदायिक विद्यालयहरू उत्कृष्ट बनाउन सकिन्छ भन्ने विश्वास जागेको उल्लेख गर्नुभयो ।

    नवनियुक्त प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले विगतमा विद्यालयको नेतृत्व गरेका प्रधानाध्यापकहरूको योगदानको चर्चा गर्नुभयो । उहाँले विद्यालयका शिक्षक तथा कर्मचारी, अभिभावक र स्थानीय सरकारको सम्बन्धलाई अझ सशक्त बनाएर विद्यालयको भौतिक, शैक्षिक अवस्थालाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    निवर्तमान प्रधानाध्यापक दिनेश थापाले आफ्नो पाँचवर्षे कार्यकालमा विद्यालयले राष्ट्रिय रूपमा उत्कृष्ट पहिचान बनाउन सकेको र आगामी दिनमा शिक्षकको रूपमा विद्यालय रहेर पहिलेको जस्तै उत्साहका साथ योगदान दिने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र खनाल, निवर्तमान अध्यक्ष नित्यानन्द ज्ञवाली, शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रमणि अर्याल, बुटवल कालिका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, शिक्षक सुदर्शन रेग्मी, शिक्षक प्रतिनिधि शेरचन्द्र गिरी लगायतले पूर्व प्रधानाध्यापकहरूको योगदानको चर्चा र नवनियुक्त प्रधानाध्यापक ज्ञवालीलाई कार्यकालको सफलताको शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघका वर्तमान र पूर्व सदस्यहरू, स्थानीय समाजसेवी, अक्षयकोषदाता, पूर्व प्रधानाध्यापकहरू र शिक्षकहरूको सहभागीता थियो ।