शुक्रवार , श्रावण २९, २०८३
भैरहवा, २९ साउन । होटल व्यवसायी महासंघ नेपालले नेपाल आयल निगम लिमिटेडले बिहीबार (हिजो) प्रकाशित गरेको ‘अत्यन्त जरुरी सूचना’ प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उक्त सूचनाको आशयप्रति महासंघले आपत्ति समेत प्रकट गरेको छ ।
महासंघका अध्यक्ष टि.आर. भण्डारी (शंकर) ले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै होटल तथा आतिथ्य व्यवसायलाई आशंकाको दृष्टिले नभइ राज्यको आर्थिक साझेदारको रुपमा व्यवहार गरिनुपर्ने बताउनुभएको छ ।
‘नेपाल आयल निगमको सूचनामा केही होटल, रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात रहेको उल्लेख गर्दै त्यस्तो मौजदात नराख्न तथा मौज्दात रेहको भए डिपोमार्फत सर्वसाधारणलाई विक्री–वितरण गर्न आग्रह गरिएको छ । व्यवसायको प्रकृति, आकार र दैनिक खपतको वास्तविकता नबुझी व्यवसायिक प्रयोजनका लागि राखिएको ग्यास मौज्दातलाई अनावश्यक सञ्चिति वा कालोबजारीसँग जोडेर हेर्नु महासंघलाई कुनै पनि दृष्टिले स्वीकार्य छैन, ’अध्यक्ष भण्डारीले भन्नुभयो ।
महासंघ कालोबजारी, कृत्रिम अभाव वा गैरकानूनी गतिविधिको पक्षमा नभएको र कानूनविपरीत कार्य गर्ने जो–कोहीमाथि प्रमाणका आधारमा प्रचलित कानूनबमोजिम कारवाही हुनुपर्ने उहाँले बताउनुभयो । ‘तर, केही व्यवसायी वा घटनालाई आधार बनाएर समग्र होटल तथा आतिथ्य क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने, व्यवसायीलाई आतंकित बनाउने वा व्यवसायको प्रतिष्ठामा आँच पुग्ने वातावरणमा आँच पुग्ने वातावरण सिर्जना गर्ने कार्यप्रति महासंघको कडा असहमति छ, ’विज्ञप्तीमा भनिएको छ ।
होटल व्यवसायी महासंघ, नेपालका महासचिव राजेश महोत्राले आवश्यक परे व्यवसायीको हकहित, सम्मान र व्यवसायीको अस्तित्वको संरक्षणका लागि शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने अवस्था आउनुसक्ने बताउनुभयो ।
नेपाल आयल निगमले बिहीबार सूचना जारी गर्दै बजार अनुगमन गर्दा कतिपय होटल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यवसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर मौज्दात राखिएको पाइएको हुँदा त्यसरी अनावश्यक मौज्दात नराख्न र राखेको भए तत्काल सम्बन्धित डिपोमार्फत डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई विक्रीवितरण गर्न अपील गरेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij