२०८३, श्रावण २९ गते

Aug 14 2026 | २०८३, श्रावण २९ गते

खेलाडीको स्तरवृद्धिका लागि सन्दीप लामिछानेलाई कप्तान बनायौँ : पारस खड्का

शुक्रवार , श्रावण २९, २०८३

  • 190
    Shares
  • 190
    Shares
  • काठमाडौं, २९ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरेको छ । 

    शुक्रवार काठमाडौंमा आयोजित बिदाई कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको हो । बिदाइ कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचनामा महत्वपूर्ण परिवर्तन गरिएको जानकारी दिनुभयो ।

    जसअनुसार राष्ट्रिय टोलीको एकदिवसीय (ओडिआई) फम्र्याटको कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ । यसअघि रोहित पौडेलले नेतृत्व गर्दै आउनुभएको थियो । सचिव खड्काले आधुनिक क्रिकेटको आवश्यकता, खेलाडीको कार्यभार र सन् २०२७ तथा २०२८ का विश्वकप लक्ष्यहरूलाई मध्यनजर गर्दै दुईवटा फम्र्याटका लागि छुट्टाछुट्टै कप्तान नियुक्त गर्ने निर्णय लिइएको प्रष्ट पार्नुभयो । 

    सचिव खड्काले भन्नुभयो, ’रोहित पौडेल नेपालका सर्वाधिक सफल कप्तान हुन् र उहाँकै नेतृत्वमा हामीले ऐतिहासिक सफलताहरू हासिल गरेका छौँ । तर भविष्यको योजना र टोलीको स्तरवृद्धिका लागि नेतृत्वमा यो हेरफेर गरिएको हो । यसले टोलीमा थप प्रतिष्पर्धात्मक वातावरण सिर्जना गर्ने र युवा खेलाडीहरूलाई अवसर प्रदान गर्ने हाम्रो विश्वास छ ।‘

    नेपाली टोलीको आगामी तालिकाबारे जानकारी दिँदै सचिव खड्काले टोली शुक्रवार नै भारत प्रस्थान गर्न लागेको बताउनु भयो । भारतमा विशेष तयारी गरेपछि टोली उतैबाट सिधै मलेसिया जाने कार्यक्रम तय भएको छ । मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ, किनकि यो प्रतियोगिता एशिया कप छनोटको आधारसमेत हो । 

    उहाँले भन्नुभयो, ‘हाम्रो मुख्य उद्देश्य एशिया कपमा छनोट हुनु र ओडिआई वरीयतामा सुधार गर्नु हो । नेपालले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि वाह्य मैदानमा सोही अनुरूपको नतिजा आउन सकेको छैन । अबको लक्ष्य भनेको विदेशी भूमिमा पनि उत्कृष्ट खेल पस्किनु हो ।’

    क्यानले अब केवल ‘म्यानेजमेण्ट’ मा मात्र सीमित नभई क्रिकेटको ‘डेभलपमेण्ट’ (विकास) मा केन्द्रित हुने योजना अघि सारेको छ । सचिव खड्काले क्रिकेट एक सामूहिक खेल भएको र यसमा कुनै एक व्यक्तिको भन्दा पनि सिङ्गो राष्ट्रको जीत महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय टोलीलाई सहयोग गर्ने सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक र सञ्चारकर्मीहरूप्रति आभार समेत व्यक्त गर्नुभयो । 

    नेपाली टोलीले एसीसी प्रिमियर कपका साथै आइसिसी विश्वकप लिग–२ का खेलहरू र अस्ट्रेलियामा हुने ‘ए’ टिमको भ्रमणलाई पनि प्राथमिकतामा राखेको छ । क्यानले आगामी दिनमा नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउन सबै सरोकारवालाहरूबाट धैर्य र निरन्तर सहयोगको अपेक्षा गरेको छ ।