२०८३, श्रावण २९ गते

Aug 14 2026 | २०८३, श्रावण २९ गते

कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौं : गृहमन्त्री गुरुङ

शुक्रवार , श्रावण २९, २०८३

  • 172
    Shares
  • 172
    Shares
  • काठमाडौं, २९ साउन । गृहमन्त्री सुधन गुरुङले विद्यमान कारागार ऐनलाई समयसापेक्ष बनाउन सरकारले संशोधनको प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

    शुक्रवार संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले कारागार सुधार र कैदीबन्दीका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताउनु भयो । गृहमन्त्री गुरुङले वि.सं. २०१९ को कारागार ऐनलाई २०७९ मा संशोधन गरिए पनि त्यो अझै पर्याप्त र समयसापेक्ष नभएको उल्लेख गर्नुभयो ।

    उहाँले प्राप्त प्रतिवेदन र संसदीय समितिको सुझावका आधारमा ऐनलाई पुनः संशोधन गर्न मन्त्रालयले प्राथमिकता दिने निर्णय गरेको जानकारी दिनुभयो । कारागारको विद्यमान अवस्थाबारे चर्चा गर्दै उहाँले हाल देशभरका कारागारमा १९ हजारको क्षमता भएपनि करिव २८ हजार कैदीबन्दी रहेको बतउनु भयो । यो चापलाई व्यवस्थापन गर्न विभिन्न स्थानमा भौतिक संरचना निर्माण, डिपिआर तयारी र बजेट विनियोजनका कामहरू भइरहेको उहाँको भनाइ छ । 

    कारागार भित्रको आन्तरिक प्रशासनमा हुने ‘नाइके, भाइ नाइके र चौकिदार’ को नियुक्ति प्रक्रियामा विगतमा अपारदर्शिता रहेको स्वीकार गर्दै गृहमन्त्रीले हाल उक्त नियुक्ति प्रक्रिया रोकिएको बताउनु भयो । अब चौकिदार नियुक्तिमा योग्य व्यक्तिहरूले सीभीसहित आवेदन दिनुपर्ने र पारदर्शी रूपमा उत्कृष्ट व्यक्ति छनोट गरिने नयाँ व्यवस्था लागू गर्न कारागार व्यवस्थापन विभागलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

    विभिन्न आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने विषयमा बोल्दै गृहमन्त्रीले ‘नेपाल सरकार वादी भई चलाइएका फौजदारी मुद्दा फिर्ता लिन सम्बन्धी निर्देशिका, २०६६’ को दफा ८ बमोजिम समिति गठन गरिएको बताउनु भयो । निर्दोष व्यक्तिहरू अन्यायमा नपरुन् र शक्तिको दुरुपयोग नहोस् भन्नका लागि यो प्रक्रियालाई गम्भीरतापूर्वक अघि बढाइएको उहाँको तर्क छ । यद्यपि जघन्य अपराधमा संलग्नहरूका हकमा कुनैपनि छुट नहुने उहाँले प्रस्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, ‘हाम्रो कारागार ऐन २०१९ सालको हो, जसमा पछिल्लो पटक २०७९ सालमा संशोधन गरिएको थियो । तर त्यो संशोधनले पनि ऐनलाई पूर्ण रूपमा समयसापेक्ष बनाउन नसकेको महशुस भएको छ । त्यसैले हामीले यस विषयमा एउटा प्रतिवेदनसमेत तयार पारेका छौँ ।

    माननीयज्यूहरू र सम्बन्धित समितिका सुझावसँगै उक्त प्रतिवेदनलाई समेत आधार बनाएर कारागार ऐन पुनः संशोधन गर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राख्ने निर्णय गरेको छ । कारागारसम्बन्धी कानूनलाई अझ आधुनिक, व्यावहारिक र समयसापेक्ष बनाउन आवश्यक छ । भर्खरै कारागार नियमावली पनि संशोधन भएको छ, अब ऐनलाई पनि सोहीअनुरूप सुधार गर्दै अघि बढ्नुपर्छ ।’

    आर्थिक रूपमा कमजोर रहेका कैदीबन्दीहरूका लागि वैतनिक वकिलमार्फत निःशुल्क कानुनी सहायता उपलब्ध गराइँदै आएको उहाँले बताउनु भयो । साथै, ‘कैद कट्टा नियमावली, २०७६’ लाई संशोधनका लागि मन्त्रिपरिषद्मा पेस गरिसकिएको उहाँले समितिलाई जानकारी दिनुभयो ।बैठकमा गृहमन्त्री गुरुङले यसअघिका समिति बैठकहरूमा गृह सचिव र प्रहरी प्रमुखप्रति लक्षित व्यवहार र टिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

    आरोप लाग्दैमा कसैको चरित्र हत्या गर्न नहुने भन्दै उहाँले उजुरीकै भरमा दोषी करार गर्नु गलत भएको टिप्पणी गर्नुभयो । उहाँले प्रहरी नेतृत्व र कर्मचारीहरू सरकारको लक्ष्य प्राप्तिमा अहोरात्र खटिरहेको भन्दै उहाँहरूको मनोबल गिराउने काम नगर्न आग्रह गर्नुभयो । गृहमन्त्री गुरुङले संसदीय समितिका रचनात्मक सुझावहरूलाई सरकारले सधैँ स्वागत गर्ने र कारागार सुधारको ऐतिहासिक अवसरलाई खेर जान नदिने प्रतिबद्धताका साथ आफ्नो भनाइ टुङ्ग्याउनु भयो ।