२०८३, श्रावण २९ गते

Aug 14 2026 | २०८३, श्रावण २९ गते

दीर्घ रोगी कैदीलाई परिवारको निगरानीमा राख्न सकिने गृहसचिवको प्रश्ताव

शुक्रवार , श्रावण २९, २०८३

  • 151
    Shares
  • 151
    Shares
  • काठमाडौं, २९ साउन । गृहसचिव राजकुमार श्रेष्ठले मुलुकका कारागारहरूलाई भौतिक पूर्वाधारमा सुधार गर्दै ‘सुधार गृह’ का रूपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । 

     शुक्रवार संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कारागार व्यवस्थापन र कैदीबन्दीको अधिकारका विषयमा यस्तो बताउनुभएको हो । गृहसचिव श्रेष्ठले वर्तमान कारागार नियमावलीले कैदीबन्दीको प्रजनन अधिकारलाई उपयोग गर्ने अवसर प्रदान गरेको भएपनि भौतिक पूर्वाधारको अभावले गर्दा यसको कार्यान्वयनमा चुनौती देखिएको स्वीकार गर्नुभयो ।

    कारागारलाई दण्ड गृहभन्दा पनि सुधार गृहको रूपमा लैजानुपर्ने सोचलाई मूर्त रूप दिन पूर्वाधार र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । यसै सन्दर्भमा उनले कारागारमा रहेका जटिल तथा दीर्घ रोगी कैदीबन्दीहरूको व्यवस्थापनका लागि वैकल्पिक बाटो अपनाउन सकिने प्रश्ताव समेत गर्नुभयो । निश्चित मापदण्ड र कानूनी प्रक्रिया पूरा गरी त्यस्ता बिरामीहरूलाई परिवारको निगरानीमा रहने गरी जिम्मा लगाउन सकिने वा अन्य कुनै छुट्टै व्यवस्था गर्न सकिने विषयमा सोच्नुपर्ने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘कारागार नियमावलीले कैदीबन्दीलाई आफ्नो प्रजनन अधिकार उपयोग गर्ने अवसरको व्यवस्था गरेको छ । तर त्यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार र सुविधा हाम्रा कारागारहरूमा पर्याप्त छैनन् ।

    यद्यपि, हामी यसतर्फ काम गरिरहेका छौँ। समग्रमा कारागारलाई सुधार गृहका रूपमा विकास गर्ने सोच सही छ र सोहीअनुसार आवश्यक व्यवस्थापन गर्नुपर्छ । यसका लागि पूर्वाधार र व्यवस्थापनसँगै दीर्घरोगी कैदीबन्दीको विषयमा पनि वैकल्पिक व्यवस्था खोज्न आवश्यक छ ।

    निश्चित मापदण्ड र कानूनी प्रक्रियाअनुसार गम्भीर दीर्घरोगीलाई परिवारको निगरानीमा राख्ने वा छुट्टै उपचार तथा व्यवस्थापनको व्यवस्था गर्न सकिने विकल्पबारे सोच्न सकिन्छ । त्यसैगरी, अपराधको प्रकृतिअनुसार कैदीबन्दीको व्यवस्थापन र सुविधाको वर्गीकरण आवश्यक छ । सामान्य प्रकृतिका अपराध र गम्भीर अपराधमा संलग्न व्यक्तिलाई एउटै ढाँचामा राख्नु उचित हुँदैन।

    अपराधको प्रकृति र गम्भीरताका आधारमा कसलाई कस्तो सुविधा दिने र कसरी सजाय भुक्तान गराउने भन्ने विषयमा स्पष्ट मापदण्ड बनाउन आवश्यक छ ।’

    सचिव श्रेष्ठले अपराधको प्रकृति र गम्भीरताका आधारमा कैदीबन्दीलाई दिइने सुविधा र सजाय भुक्तानको पद्धतिमा भिन्नता ल्याउनुपर्नेमा जोड दिनुभयो । सामान्य प्रकृतिका अपराधमा संलग्नहरूलाई कसरी सुविधा दिने र कसरी सजाय भुक्तान गराउने भन्नेबारे ठोस मापदण्ड बनाउनु आवश्यक रहेको उहाँले बताउनु भयो ।