२०८३, श्रावण २९ गते

Aug 14 2026 | २०८३, श्रावण २९ गते

नयाँ नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको शुरुवात : मुख्य प्रशिक्षक स्टुअर्ट ल

शुक्रवार , श्रावण २९, २०८३

  • 175
    Shares
  • 175
    Shares
  • काठमाडौं, २९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नयाँ कप्तानको नेतृत्वसँगै नेपाली क्रिकेटमा एक नयाँ युगको शुरुवात भएको बताउनुभएको छ । 

    शुक्रवार काठमाडौंमा आयोजित नेपाली टोलीको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक लले टोलीको भविष्यप्रति आफू उत्साहित रहेको र मलेसिया भ्रमणका लागि तयारी राम्रो भएको जानकारी दिनुभयो ।

    आगामी मलेसिया भ्रमणको चर्चा गर्दै प्रशिक्षक लले त्यहाँको पिच स्पिनमैत्री हुनसक्ने र नेपाली टोलीमा युवा तथा अनुभवी खेलाडीको उत्कृष्ट सन्तुलन रहेकाले त्यसको फाइदा पुग्ने विश्वास व्यक्त गर्जुभयो ।

    उहाँले कप्तान सन्दीप लामिछानेसँगको सहकार्यमा एक शक्तिशाली टोली मैदानमा उतार्ने लक्ष्य रहेको बताउनु भयो । नेदरल्याण्ड्स भ्रमणको समीक्षा गर्दै प्रशिक्षक लले त्यहाँको नतिजा अपेक्षाअनुसार नभए पनि त्यसबाट पाठ सिकेको बताउनु भयो । उहाँले खेलमा टसको भुमिका र दबाबका बीच सही निर्णय लिन नसक्दा हार व्यहोर्नुपरेको तथ्य स्वीकार गरे ।

    नेपाली टोलीको हालैको प्रदर्शन र नेतृत्व परिवर्तनबारे बोल्दै उहाँले भन्नुभयो, ‘परिवर्तनले सधैं नयाँ युगको सङ्केत गर्छ । नयाँ कप्तान र ऊर्जावान् खेलाडीहरूको समूहका साथ हामी यो सुरुवातलाई उत्कृष्ट बनाउन चाहन्छौं । नेतृत्वमा आउने नयाँ अनुहारले फरक सोच, फरक शैली र नयाँ अपेक्षा लिएर आउँछ, जसले मैदानमा मनोरञ्जनात्मक र गुणस्तरीय क्रिकेट प्रदर्शन गर्न मद्दत पुग्नेछ ।

    व्यावसायिक खेलमा हार र जित स्वाभाविक प्रक्रिया हुन् । नेदरल्याण्ड्स जानुअघि घरेलु मैदानमा आठमध्ये छ खेल जित्दा कुनै चर्चा भएन, तर चार खेल हार्नेबित्तिकै आलोचना सुरु भयो । हामीले आफ्नो कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्छ ।’

    एकदिवसीय (५० ओभर) क्रिकेटको गाम्भीर्यताबारे चर्चा गर्दै प्रशिक्षक लले यसलाई ‘धैर्यको खेल’ का रूपमा व्याख्या गर्नुभयो । उहाँकाअनुसार ५० ओभरको खेलमा टेस्ट क्रिकेटको जस्तो धैर्य र अन्तिम ओभरहरूमा टी–२० जस्तो आक्रामकताको आवश्यकता पर्छ । उहाँले खेलाडीहरूलाई मैदानमा ‘इन्टेलिजेन्ट’ र ‘एग्रेसिभ’ भएर खेल्न सल्लाह दिनुभयो ।

    कप्तान सन्दीप लामिछानेको क्षमतामाथि पूर्ण विश्वास व्यक्त गर्दै प्रशिक्षक लले उनलाई राष्ट्रको नेतृत्व गर्ने जिम्मेवारीले थप निखार्ने बताउनु भयो ।

    मलेसिया भ्रमणका साथै नेपाली टोली डार्विनमा टी–२० शैलीको तयारीमा समेत सहभागी हुने कार्यक्रम रहेको छ । यसरी फरक–फरक स्थानमा हुने तयारीले बलियो राष्ट्रिय टोली निर्माणमा सहयोग पुग्ने विश्वास प्रशिक्षक लको रहेको छ ।