बिहिवार , श्रावण २८, २०८३
काठमाडौं, २८ साउन । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुम्निमा उदासले नेपालको परराष्ट्र नीति कुनै दल वा व्यक्तिको स्वार्थभन्दा माथि उठेर सामुहिक राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति उदासले परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन संस्थागत क्षमता अभिवृद्धि र यसलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले सरकार र राजनीतिक नेतृत्व परिवर्तन भएपनि राष्ट्रिय हित दीर्घकालीन हुने उल्लेख गर्दै परराष्ट्र नीतिलाई स्थिर र साझा दृष्टिकोणका रूपमा अगाडि बढाउनुपर्ने बताउनु भयो ।
उदासले नेपालले कुनैपनि महत्वपूर्ण अन्तर्राष्ट्रिय निर्णय लिनुअघि तीनवटा मुख्य आधारहरूलाई मापदण्ड बनाउनुपर्ने प्रश्ताव गर्नुभयो । उहाँकाअनुसार, पहिलो–कुनै पनि निर्णयले नेपालको सार्वभौमसत्ता र रणनीतिक स्वायत्ततालाई कति मजबुत बनाउँछ भन्ने हेरिनुपर्छ।
दोस्रो– त्यस निर्णयले नेपाली नागरिकको समृद्धि, रोजगारी र अवसर सिर्जनामा पु¥याउने योगदानको मूल्याङ्कन हुनुपर्छ । र तेस्रो– यसले भावी पुस्तालाई कस्तो प्रकारको सुरक्षित, समृद्ध र सम्मानित नेपाल हस्तान्तरण गर्छ भन्ने पक्षलाई आत्मसात गरिनुपर्छ ।
सभापति उदासले भन्नुभयो, ‘नेपालको परराष्ट्र नीतिलाई समयानुकूल, संस्थागत रूपमा सक्षम र परिणाममुखी बनाउनु आजको आवश्यकता हो । वर्तमान सरकारको दृष्टिकोणमा परराष्ट्र नीति कुनै दल, सरकार वा व्यक्तिको स्वार्थको विषय होइन, सम्पूर्ण नेपाली जनताको सामूहिक हितसँग जोडिएको राष्ट्रिय नीति हो ।
सरकार र राजनीतिक नेतृत्व परिवर्तन हुन सक्छन्, प्राथमिकताहरू फेरिन सक्छन्, तर नेपालको राष्ट्रिय हित दीर्घकालीन हुन्छ । मलाई लाग्छ, नेपालले कुनैपनि महत्वपूर्ण अन्तर्राष्ट्रिय निर्णय लिनुअघि कम्तीमा तीनवटा प्रश्न गर्नुपर्छ ।
पहिलो, यसले नेपालको सार्वभौमिकता र रणनीतिक स्वायत्तता कति बलियो बनाउँछ ? दोस्रो, यसले नेपाली नागरिकको समृद्धि, रोजगारी र अवसरमा कति योगदान पु¥याउँछ ? तेस्रो, यसले भावी पुस्तालाई कस्तो सुरक्षित, समृद्ध र सम्मानित नेपाल हस्तान्तरण गर्छ ? यी तीन प्रश्नको उत्तर नै नेपालको राष्ट्रिय हित मापन गर्ने आधार बन्न सक्छ ।’
यी तीन प्रश्नको उत्तर नै नेपालको राष्ट्रिय हितको वास्तविक मापदण्ड बन्नुपर्ने सभापति उदासको भनाइ छ । उहाँले नेपालको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउन स्पष्ट मार्गचित्र र राष्ट्रिय सहमति आवश्यक रहेको समेत बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij