२०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

अन्तर्राष्ट्रिय युवा दिवसमा सरसफाई तथा हरियाली संरक्षण

बुधवार , श्रावण २७, २०८३

  • 316
    Shares
  • 316
    Shares
  • बुटवल, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रुपन्देहीको बुटवलमा पार्क सरसफाई तथा वातावरण संरक्षण कार्यक्रम गरिएको छ । ‘हरित पृथ्वीका लागि युवा सहभागीता’ भन्ने नारासहित लायन्स क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलको आयोजनामा कार्यक्रम गरिएको हो ।

    बुटवल उपमहानगरपालिका–३ स्थित गोलपार्क क्षेत्रमा निर्माण गरिएको डिभाइडरको हरियाली क्षेत्रमा सरसफाइ गर्नुका साथै त्यहाँ रोपिएका बिरुवाको काँटछाँट गरिएको थियो । कार्यक्रममा लायन्स तथा लियो क्लबका पदाधिकारी, सदस्य र युवाहरूको सहभागीता थियो ।

    कार्यक्रममा क्लब लायन्स इन्टरनेशनल ३२५ पी नेपालका पूर्व डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले वातावरण संरक्षण र सामाजिक सेवामा युवाको सक्रिय सहभागीता आवश्यक रहेको बताउनुभयो । उहाँले सार्वजनिक स्थानको सरसफाई र हरियाली संरक्षणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    लायन्स इन्टरनेशनल ३२५ पी नेपाल रिजन ११ को रिजन चियरपर्सन रीतु गुरुङले युवाहरूलाई सामाजिक सेवासँग जोड्दै वातावरण संरक्षणमा उनीहरूको भूमिका बढाउनुपर्ने बताउनुभयो । उहाँले सरसफाई तथा हरियाली संरक्षणजस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राख्नुभयो ।

    लायन्स इन्टरनेशनल ३२५ पी नेपालका जोन चियरपर्सन थानेश्वर अर्यालले वातावरण संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले सार्वजनिक स्थलको सरसफाइसँगै संरक्षण र नियमित हेरचाहमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    लायन्स क्लब अफ बुटवल सेन्ट्रलका पूर्वअध्यक्ष तथा लायन्स इन्टरनेशनल ३२५ पी नेपालका डेपुटी ट्रेजरर बलदार गोदारले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनुभयो । उहाँले लायन्स अभियानलाई वातावरण संरक्षण र युवाको सहभागीतासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमको अध्यक्षता गर्नुभएका लायन्स क्लब अफ बुटवल सेन्ट्रलका प्रथम उपाध्यक्ष उमेशचन्द्र शर्माले युवाको उर्जा र सहभागितालाई सामाजिक तथा वातावरणीय अभियानमा उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक स्थलको संरक्षणमा सबैको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रम संयोजक लायन्स क्लब अफ बुटवल सेन्ट्रलका तृतीय उपाध्यक्ष रामबहादुर रसाइलीले अन्तर्राष्ट्रिय युवा दिवसलाई वातावरण संरक्षणसँग जोडेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार युवालाई सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणप्रति सचेत गराउने उद्देश्यले गोलपार्क क्षेत्रमा सरसफाइ तथा बिरुवाको काँटछाँट गरिएको हो ।

    लायन्स क्लब अफ बुटवल सेन्ट्रलका सचिव हिमाल खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूले गोलपार्क क्षेत्रको डिभाइडरमा रहेका हरियाली क्षेत्रमा सरसफाई गर्नुका साथै बिरुवाको काँटछाँट गरी सो क्षेत्रलाई व्यवस्थित बनाएको क्लबले जनाएको छ ।