२०८३, आश्विन ९ गते

Sep 25 2026 | २०८३, आश्विन ९ गते

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : अध्यक्ष अग्रवाल

मंगलवार , श्रावण २६, २०८३

  • 529
    Shares
  • 529
    Shares
  • काठमाडौं, २६ साउन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भइसकेको बताउनुभएको छ । 

    नाइमा अटो शो (नाइमा मोबिलिटी एक्स्पो २०२६) को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले यस क्षेत्रलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिनुभएको हो ।

    अध्यक्ष अग्रवालकाअनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा मोबिलिटी क्षेत्रको योगदान करिव सात प्रतिशत रहेको छ । यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरेको तथ्य प्रश्तुत गर्दै उहाँले यो क्षेत्र बैंकिङ, बीमा, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता विविध क्षेत्रसँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्नुभयो ।

    अर्थतन्त्रको विद्यमान शिथिलताप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष अग्रवालले सरकारको नियमनकारी नीतिका कारण निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको बताउनु भयो । अहिलेको अवस्थामा डेढ लाखभन्दा बढी उद्यमी व्यवसायीहरू ‘कालो सूची’ मा पर्नु र घरजग्गा, सेयर बजार तथा उत्पादनमूलक उद्योगहरू सुस्ताउनु नीतिगत कमजोरीको परिणाम भएको उहाँको तर्क छ ।

    उहाँले भन्नुभयो, ‘नेपालको लगानीमा ८१ प्रतिशत हिस्सा निजी क्षेत्रको छ । त्यसैले कुनैपनि नयाँ नीति वा नियम ल्याउनुअघि त्यसले निजी क्षेत्रमा पार्ने प्रभावको वस्तुगत मूल्याङ्कन (रेगुलेटरी इम्प्याक्ट एसेसमेन्ट) हुन जरुरी छ । उद्यमी र नागरिकले विगतमा आर्जन गरेको सम्पतीको स्रोत देखाउन नसक्दा प्रहरी प्रशासनबाट हुने सोधपुछले बजारमा डर पैदा गरेको छ । यस्ता कानूनी जटिलता र व्यावहारिक अड्चनहरूलाई तत्काल समाधान नगरे आर्थिक विस्तार असम्भव छ ।’

    अध्यक्ष अग्रवालले सम्पती शुद्धीकरण ऐनले व्यवसायी र सर्वसाधारणमा त्रास सिर्जना गरेको विषयलाई प्रमुखताका साथ उठाउनु भयो । वि.सं. २०६४ भन्दा अगाडि आर्जन गरेको वैधानिक सम्पत्तिको अभिलेखीकरण नभएका कारण हाल सवारी साधन खरिद गर्दा स्रोत खोजिने प्रक्रियाले आर्थिक गतिविधिलाई सङ्कुचित बनाएको उहाँले उल्लेख गर्नुभयो ।

    विश्व अहिले चौथो औद्योगिक क्रान्तिको युगमा रहेको स्मरण गराउँदै अध्यक्ष अग्रवालले आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स र विद्युतीय सवारी प्रविधिले विश्व अर्थतन्त्रको स्वरूप फेरिरहेको बताउनु भयो । नाइमा मोबिलिटी एक्स्पोले नेपाललाई यस्ता नवीन प्रविधि आत्मसात गर्न र भविष्यका लागि तयार रहन सन्देश दिएको उहाँको भनाइ छ ।