मंगलवार , श्रावण २६, २०८३
भैरहवा, २६ साउन । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको वार्षिक साधारण सभा सोमबार बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्नुहुँदै पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले अग्रज पत्रकारहरूको योगदानका कारण अहिले पत्रकारहरूले खुलेर बहस र आफ्ना कुरा राख्न सक्ने अवस्था आएको बताउनुभयो । विगतको परिस्थिति र अहिलेको परिस्थितिमा धेरै परिवर्तन आएको उल्लेख गर्दै उहाँले पत्रकारिता पेशालाई खिसीट्युरी नगर्न आग्रह गर्नुभयो ।
उहाँले पत्रकारिता क्षेत्रमा पनि कमीकमजोरी हुन सक्ने भएकोले त्यसलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभभयो । पत्रकार महासंघ साझा र स्वयंसेवी संस्था भएकाले यसको संस्थागत विकास तथा पारदर्शीतालाई कायम राख्नुपर्ने उहाँको भनाइ थियो ।
‘भ्यूज’ का नाममा पत्रकारिताको आधारभूत मर्यादा र फ्रेमभन्दा बाहिर जान नहुने बताउँदै पोख्रेलले त्यस्तो पत्रकारिता दिगो हुन नसक्ने धारणा राख्नुभयो । पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्षसमेत रहनुभएका पोख्रेलले महासंघको संस्थागत विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले आफ्नो कार्यकालमा अग्रजको सम्मान र क्रियाशील पत्रकारलाई जिम्मेवारी दिने गरी काम अघि बढाइएको बताउनुभयो । उहाँले थुप्रै फेलोसिपका कार्यक्रम र तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । रुपन्देहीमा पत्रकारिताको जग बसाल्ने अग्रज पत्रकारहरूलाई सम्मान गरिएको उल्लेख गर्दै पाण्डेले अग्रजहरूले निर्माण गरेको जगमा थप ईट्टा थप्ने काम आफूहरूले गरिरहेको बताउनुभयो । महासंघ रुपन्देहीको कल्याणकारी कोषमा ३० लाख रुपैयाँ रहेको जानकारी दिदै त्यसलाई वृद्धि गर्दै लैजाने उहाँले बताउनुभयो । पत्रकार महासंघले लुम्बिनी प्रदेश सरकारसँग डिजिटल लाइब्रेरी र सञ्चार संग्रहालय निर्माणका लागि प्रस्ताव गरेको पनि पाण्डेले बताउनुभयो । ती कामलाई आगामी दिनमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले ‘मिडिया मन्थन’ तथा राष्ट्रिय सञ्चार सम्मेलनजस्ता कार्यक्रमलाई पुनः सञ्चालन गरिने बताउनुभयो ।
पत्रकार महासंघ, रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईंले वर्तमान सरकारले पत्रकारितालाई स्वीकार्न नसकेको जस्तो देखिएको बताउनुभयो । ‘यसबारे सरकारलाई राम्रोसँग बुझाउनुपर्नेछ । यो सरकारले पत्रकार महासंघ र सञ्चारमाध्यमका कुरा सुन्नुपर्छ, ’उहाँले भन्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डीआर घिमिरे, शेरबहादुर के.सी., सल्लाहकार विनोद परियार, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्षद्वय राम प्रसाद आचार्य, मीना ढकाल, प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल, पत्रकार पूजा पन्थी, माया के.सी. लगायतले पत्रकारको पेशागत मर्यादा, महासंघको संस्थागत विकास, पत्रकारको क्षमता अभिवृद्धि, सञ्चार क्षेत्रका लगायत विषयमा भनाइ राख्नुभएको थियो ।
पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालको स्वागत तथा अर्का उपाध्यक्ष अस्मिना पाण्डेको धन्यवाद ज्ञापनमा भएको साधारण सभामा पत्रकार महासंघ, रुपन्देहीका सचिव सी.पी. खनालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नरेश के.सी.ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
‘खेमी ओमी पुन महिला सशक्तिकरण पत्रकारिता पुरस्कार’ पन्थी र के.सी.लाई
साधारण सभामा ‘खेमी ओमी पुन महिला सशक्तिकरण पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार पुजा पन्थी र २०८२ बाट माया के.सी. सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही र खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानद्वारा स्थापित उक्त पुरस्कारबाट उहाँहरु सम्मानित तथा पुरस्कृत हुनुभएको हो ।
पन्थी दैनिकपत्र दैनिक र बाह्खरी डटकम तथा के.सी. बुटवल टुडे दैनिकमा आबद्ध हुनुहुन्छ । दुवैजनालाई जनही २१ हजार रुपैयाँसहित सम्मान–पत्रद्वारा सम्मानित गरिएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij