मंगलवार , श्रावण २६, २०८३
वीरगंज, २६ साउन । नेपाल सि.एम.ए. संघ केन्द्रीय कार्यसमितिको आयोजनामा मधेश प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वीरगंजस्थित नारायणी अस्पतालको सभाहलमा नेपाल सि.एम.ए. संघका केन्द्रीय कार्यसमिति अध्यक्ष रामेश्वर प्रसादको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले राम दयाल मण्डलको संयोजकत्वमा नेपाल सि.एम.ए. संघ मधेश प्रदेशस्तरीय समन्वय समिति चयन गरेको छ ।
भेलाले राज्यद्वारा पारामेडिक्स स्वास्थ्यकर्मीहरूमाथि हुँदै आएको विभेद, दमन तथा अवमूल्यनका विरुद्ध थप संगठित र सशक्त रूपमा अघि बढ्दै पेशागत हक, हित तथा अधिकारको संरक्षण र सुनिश्चितताका लागि सक्रिय रूपमा लाग्ने निर्णय गरेको नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका सबै ८ जिल्लाबाट नेपाल सि.एम.ए. संघका जिल्ला अध्यक्ष, जिल्ला प्रतिनिधि तथा पदाधिकारीहरूको सहभागीता थियो । सहभागीहरूले पारामेडिक्स स्वास्थ्यकर्मीहरूले भोग्दै आएका विभिन्न पेशागत समस्या, चुनौती तथा अधिकारका विषयमा धारणा राख्दै संगठनलाई थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमलाई संघका केन्द्रीय उपाध्यक्षहरू कपिल खनाल, गोपाल उपाध्याय र काशीराम अर्यालले सम्बोधन गर्दै पारामेडिक्स स्वास्थ्यकर्मीहरूको वर्तमान पेशागत अवस्था, अधिकारका सवाल तथा संगठनले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा धारणा राख्नुभएको थियो ।
त्यसै गरी संघका केन्द्रीय उप–महासचिव ईश्वर चापागाईं (नवीन) ले नेपाल सि.एम.ए. संघका पछिल्ला संगठनात्मक गतिविधि, संघले अघि सारेका विभिन्न अभियान तथा भावी नीति र कार्यक्रमका सम्बन्धमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।
भेलामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट सहभागी जिल्ला अध्यक्ष, प्रतिनिधि तथा पदाधिकारीहरूले संघको आगामी रणनीति, संगठन विस्तार, पारामेडिक्स स्वास्थ्यकर्मीका पेशागत समस्या तथा अधिकारका विषयमा अन्तरक्रिया र छलफल गरेका थिए ।
भेलाले पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हकहित, सम्मान तथा अधिकारको सुनिश्चितताका लागि संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म थप विस्तार र सुदृढ गर्दै एकताबद्ध एवं सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij