२०८३, श्रावण २५ गते

Aug 10 2026 | २०८३, श्रावण २५ गते

आज साउनको अन्तिम सोमवार

सोमवार , श्रावण २५, २०८३

  • 256
    Shares
  • 256
    Shares
  • काठमाडौं, २५ साउन । साउन महिना भगवान शिवको अति प्रिय महिना मानिन्छ ।

    विशेष गरी साउनको सोमवार व्रत बसी भगवान शिवको जलअभिषेक, पूजा र ध्यान गर्नाले पारिवारिक सुख, शान्ति, निरोगिता र मनोकाङ्क्क्षा पूरा हुने धार्मिक विश्वास छ । आज साउनको अन्तिम सोमवार भएकाले महिनाभरि सोमवारे व्रत बसेका श्रद्धालुहरूले विशेष साङ्ग्रो (व्रत उद्यापन) गरी पूजाआजा सम्पन्न गरिरहेका छन् । पशुपति परिसरमा बोलबम ! जय शिव ! को ओझपूर्ण ध्वनि गुञ्जिरहेको छ ।

    सुन्दरीजलबाट धापेर पवित्र वागमतीको जल ल्याई पशुपतिनाथको ज्योतिर्लिङ्गमा चढाउने बोलबमका गेरुवा वस्त्रधारी टोलीहरू विशेष आकर्षण बनेका छन् । युवायुवतीहरू हातमा रुद्राक्ष, बेलपत्र र तामाको कलश समातेर शिवभक्तिमा झुमिरहेका देखिन्छन् । साथै, पशुपतिको पावन पृष्ठभूमिमा आफ्ना परिवार र साथीहरूसँग सेल्फी र तस्बिर खिचेर यो पवित्र दिनलाई स्मरणीय बनाउने दृश्य पनि मनमोहक छ ।

    साउनको सोमवार पशुपतिनाथमा अर्पण गरिएको एउटै बेलपत्र र वागमतीको जलले करोडौँ जन्मको पाप पखाल्ने धार्मिक मान्यता छ । पशुपति क्षेत्र विकास कोष र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सहकार्यमा मन्दिर परिसरमा सुरक्षा तथा सहज दर्शनको व्यवस्था मिलाइएको छ । दर्शनार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीको मेडिकल टोलीद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ, जहाँ ज्येष्ठ नागरिक तथा बिरामी श्रद्धालुहरूको रक्तचाप जाँच र प्राथमिक उपचार भइरहेको छ ।

    पशुपतिको बाहिरी परिसरमा असहायहरूलाई भोजन तथा दानपुण्य गर्ने क्रम पनि निरन्तर चलिरहेको छ । मन्दिरको मूल प्राङ्गण तथा वागमती किनारमा पण्डित–पुजारीहरूबाट संकल्प गराई रुद्री, चण्डी पाठ तथा टीका–प्रसाद ग्रहण गर्ने भक्तजनहरूको भीड छ । कपुर र धूपको सुगन्धित धुवाँ, घिउका दियाहरू र ’ॐ नमः शिवाय’ को गुञ्जनले सम्पूर्ण पशुपतिनाथ क्षेत्रलाई कैलाशधाम सरह दिव्य र आध्यात्मिक बनाएको छ ।