२०८३, भाद्र २१ गते

Sep 06 2026 | २०८३, भाद्र २१ गते

सिद्धार्थनगर सिटी हस्पिटल : गर्भवती महिलालाई परीक्षणदेखि विशेषज्ञ परामर्शसम्म निःशुल्क

आइतवार , श्रावण २४, २०८३

  • 772
    Shares
  • 772
    Shares
  • भैरहवा, २४ साउन । गर्भवती महिला तथा गर्भमा रहेको शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिदै सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवाले विशेष स्वास्थ्य अभियान सञ्चालन गरेको छ । ‘सुरक्षित मातृत्वको सुरुवात, स्वस्थ आमा, स्वस्थ शिशु–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु गरिएको अभियान अन्तर्गत गर्भवती महिलाले निःशुल्क स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण तथा स्त्रीरोग तथा प्रसूति विशेषज्ञबाट परामर्श सेवा प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ ।

    अभियान अन्तर्गत अस्पतालमा नियमित रूपमा लाग्ने ७५० रुपैयाँको ओपीडी परामर्श शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ । वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. सुरक्षा बेगमबाट बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गर्भवती महिलाले आवश्यक स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श लिन सक्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।

    त्यस्तै गर्भावस्थामा आवश्यक पर्ने ANC  (Antenatal Care) परीक्षण समेत निःशुल्क गरिने भएको छ । अभियानअन्तर्गत CBC, RBS, Thyroid, VDRL, Blood Group तथा Serology लगायतका महत्वपूर्ण परीक्षण निःशुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

    अस्पतालका अनुसार यी परीक्षणको नियमित शुल्क करिब ३ हजार ६५० रुपैयाँ पर्ने भए पनि अभियानअन्तर्गत गर्भवती महिलालाई निःशुल्क सेवा प्रदान गरिएको हो । आर्थिक अवस्था कमजोर भएका तथा नियमित स्वास्थ्य परीक्षण गराउन कठिनाइ हुने परिवारका गर्भवती महिलालाई समेत सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको अस्पतालको भनाइ छ ।

    चिकित्सकहरूका अनुसार गर्भावस्थामा नियमित ANC परीक्षणले आमाको स्वास्थ्य अवस्था, रक्तअल्पता, रक्तचाप, रक्त समूह तथा गर्भावस्थामा देखिन सक्ने सम्भावित जोखिमको समयमै पहिचान गर्न सहयोग गर्छ । त्यसैले आफूलाई सामान्य महसुस भए पनि चिकित्सकले सिफारिस गरेका परीक्षण तथा फलोअपलाई निरन्तरता दिन आवश्यक रहेको अस्पतालले जनाएको छ ।

    अस्पतालले गर्भावस्थाको सुरुदेखि नै नियमित स्वास्थ्य परीक्षण गराउन, चिकित्सकको सल्लाहअनुसार आवश्यक परीक्षण तथा औषधि प्रयोग गर्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न गर्भवती महिलालाई आग्रह गरेको छ ।

    भैरहवा तथा रुपन्देही आसपासका गर्भवती महिलालाई लक्षित गरी सञ्चालन गरिएको अभियानबाट ठूलो संख्यामा महिला लाभान्वित हुने अपेक्षा अस्पतालले गरेको छ ।
    अस्पतालले गर्भवती महिलासँगै परिवारका सदस्यलाई पनि सुरक्षित मातृत्वका विषयमा सचेत रहन आग्रह गर्दै ‘स्वस्थ आमा, स्वस्थ शिशु नै स्वस्थ समाजको आधार हो’ भन्ने अवधारणालाई आत्मसात् गर्दै अभियान सञ्चालन गरेको छ ।