२०८३, श्रावण २३ गते

Aug 08 2026 | २०८३, श्रावण २३ गते

लुम्बिनीका गन्तव्य प्रवर्द्धन गर्न पर्यटन व्यवसायी एकजुट

शनिवार , श्रावण २३, २०८३

  • 286
    Shares
  • 286
    Shares
  • भैरहवा, २३ साउन । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न र पर्यटन व्यवसायीको हकहितमा काम गर्न लुम्बिनी प्रदेशका पर्यटन व्यवसायी एकजुट बनेका छन् । सबै व्यवसायी मिलेर प्रदेशका १२ जिल्ला समेटेर पर्यटन प्रवर्द्धन गर्न पहिलोपटक होटल संघ नेपाल, लुम्बिनी प्रदेश तदर्थ समिति गठन गरिएको छ । 

    प्रदेशका जिल्लास्थित पर्यटन गन्तव्य पहिचान गरेर राष्ट्रिय र अन्तर्राष्टियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा तदर्थ समिति घोषणा गरिएको थियो । रुपन्देहीका स्थापित पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा गठित तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा बुटवलका प्रवीणबहादुर पाठक, प्रथम उपाध्यक्षमा भैरहवाका हरि बहादुर थापा, द्वितीय उपाध्यक्ष बुटवलका अनिलप्रसाद श्रेष्ठ, महासचिवमा टेकनाथ बस्याल रहनुभएको छ ।

    समितिको कोषाध्यक्षमा सुशान्त त्रिपाठी, सचिवमा दिलीप गौचन र सदस्यमा प्रणदा दिक्षित, दाङबाट ओविन्द्र महारा, पाल्पाबाट धिरेन प्रधान र कमल पौडेल, नेपालगन्जबाट गिरीराज पाण्डे, कपिलवस्तुबाट लक्ष्मण भण्डारी, दुर्गा बस्याल, बर्दियाबाट पदमबिर थापा र भैरहवाबाट निर्मल श्रेष्ठ रहनुभएको छ । प्रमुख सल्लाहकारमा महेन्द्रनारायण श्रेष्ठ र गोपाल राना रहनुभएको छ ।

    7e3095d3-d37d-4725-961c-27ce8779d8c0.jpg

    प्रदेशका सीमावर्ती ६ जिल्लाका स्थल नाकाबाट भारत र तेस्रो मुलुकबाट पर्यटन भित्रिने गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीलाई लक्षित गरेर भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ । यहाँका सीमावर्ती शहरमा तारे होटल र क्यासिनो सञ्चालनको लहर छ । पहाडी जिल्ला हिल स्टेशनका रुपमा विकास भइरहेका छन् । तदर्थ समितिका अध्यक्ष श्रेष्ठले पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको प्रदेशका गन्तव्यलाई व्यवस्थित गरेर स्वदेश र विदेशमा प्रवर्द्धन गर्नका लागि प्रदेशका पर्यटन व्यवसायी एकजुट बनेको बताउनुभयो ।

    नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले व्यवसायिक एकता नहुँदा अहिलेसम्म बुद्ध जन्मस्थल लुम्बिनीबाट लाभ लिन नसकिएको बताउनुभयो। ‘विभाजित भएर होइन, जुटेर पर्यटन प्रवद्र्धन गर्नुपर्छ,’उनले भने, ‘समग्र पर्यटन क्षेत्रमा जोश कायम गर्न पनि व्यवसायीबीच एकता आवश्यक परेको हो ।’ अहिले निजी क्षेत्रको मुहार मलिन देख्दा चिन्ता लाग्ने गरेको उल्लेख गर्दै उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

    पर्यटन विकास परिषद् लुम्बिनीको कार्यकारी निर्देशक शारदा बस्यालले प्रदेश भित्रका विविधतापूर्ण गन्तव्य जोडेर प्याकेज बनाएर पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो । ‘पर्यटन पूर्वाधारसँगैं हस्पिटालिटीमा पनि सुधार जरुरी छ,’उहाँले भन्नुभयो, ‘लुम्बिनीका गन्तव्यकका कथा बताउन सकिरहेका छैनौं । सुरुमा गन्तव्यबारे जानकारी राखौं र पर्यटकलाई कथा बेचौं ।’ 

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पर्यटनको विकास नभइ आर्थिक विकास नहुने बताउनुभयो । ‘हामी भारत र चीनको बीचमा छौं,’उहाँले भन्नुभयो, ‘ती दुई मुलुकको हरेक नीतिले हाम्रो पर्यटनमा प्रभाव पार्छ, त्यसैले सोच विचार गरेर अगाडि बढ्नुपर्छ ।’ यहाँका नाका हुँदै भारतीय पर्यटक मुक्तिनाथ पुगे पनि लुम्बिनी सुनसान हुनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो । 

    होटल संघ नेपालका केन्द्रिय सदस्य गोपाल रानाले मुलुकको समृद्धिका लागि मूल आधार कृषि उपजको खपत गर्ने क्षेत्र पर्यटन भएकाले यसमा युवाहरु आकर्षित भइरहेको बताउनुभयो । ‘विदेश गएर पनि धेरै काम पाउने पर्यटन क्षेत्रमै हो,’उहाँले भन्नुभयो, ‘यहाँको अनुभवले विदेशमा पनि सघाउँछ ।’ लुम्बिनी प्रदेशमा अनुपम प्राकृतिक र सांस्कृतिक सम्पदा पाएको र प्रत्येक जिल्ला विविधताले पूर्ण रहेको उहाँले बताउनुभयो । ‘यो तदर्थ समितिले लुम्बिनीबाट पर्यटन के हो भनेर देखाउनेछ,’उहाँले भन्नुभयो, ‘लुम्बिनी प्रदेशलाई पर्यटनबाट समृद्धि हासिल गराउने गरि योजना बनाउनुस ।’

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) भुपेन्द्रबहादुर खत्रीले पर्यटन क्षेत्र सुरक्षित राख्न दिनरात काम गरिरहेको बताउनुभयो । उहाँले प्रहरीलाई प्रविधियुक्त बनाएर होटल हब बनिरहेको रुपन्देहीमा सुरक्षा व्यवस्था मजबुत तुल्याउन प्रयास गरिरहेको बताउनुभयो । ‘प्रहरीलाई प्रविधियुक्त बनाउन निजी क्षेत्रको पनि सहयोग जरुरी छ,’उहाँले भन्नुभयो, ‘त्यसका लागि प्रदेश र स्थानीय सरकारले पनि हातेमालो गर्नुभएको छ ।’

    सिद्वार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले लुम्बिनी र भारतको उत्तर प्रदेशबीच पर्यटकीय सम्बन्ध विस्तार गरिनुपर्नेमा जोड दिनुभयो । उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेट गरेर प्रदेशका गन्तव्यबारे जानकारी गराउन र पर्यटक आगमन सहज तुल्याउन भूमिका खेल्न उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग अनुरोध गर्नुभयो ।
    मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकको बसाई लम्ब्याउन सुविधा सम्पन्न होटल सञ्चालन आवश्यक रहेको बताउनुभयो । नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै निजी क्षेत्रलाई लगानी विस्तार गर्न पनि उहाँले आग्रह गर्नुभयो । 

    तदर्थ समिति गठन तथा घोषणा कार्यक्रममा उहाँले पर्यटक आएनन् भनेर गुनासो मात्र गरेर नहुने, बरु आएका पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा उपलब्ध गराएर धेरै दिनसम्म बसाई लम्ब्याउन सक्नुपर्ने जोड दिनुभयो । प्रदेशभित्र रहेका विभिन्न पर्यटकीय क्षेत्रमा सुविधासम्पन्न होटल निर्माण र सञ्चालनले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो । लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।

    रुपन्देहीका व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनको माग गरिरहेको उल्लेख गर्दै सुरक्षा निकायसँग समन्वय गरी २४ सै घण्टा होटल व्यवसाय सञ्चालन गर्न सकिने वातावरण तयार गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।