मंगलवार , श्रावण ५, २०८३
हाम्रो समाजमा एउटा गहिरो भ्रम व्याप्त छ ‘म जति स्ट्रिक्ट (कडा) हुन्छु, मेरो छोराछोरीले उति नै कम कुरा लुकाउँछ र बिग्रँदैन ।’ धेरै अभिभावकहरू आफ्नो कडाइलाई राम्रो अभिभावकत्वको प्रमाण ठान्छन् र विश्वास गर्छन् कि डर र नियन्त्रण नै सन्तानलाई सही बाटोमा राख्ने अचुक अस्त्र हो । तर, वास्तविकता यो भन्दा एकदमै उल्टो हुन्छ । आधुनिक मनोविज्ञान र हजारौं किशोर–किशोरीहरूको वास्तविक अनुभव हेर्दा, अत्यधिक कडाइले चरित्र निर्माण गर्दैन, यसले डर, असुरक्षा, झुट र भावनात्मक दूरी मात्र निर्माण गर्छ । कटु सत्य के हो भने अत्यधिक कडाइले छोराछोरीलाई सुधार्दैन, उनीहरूलाई कुशल ‘झुट बोल्ने’ र कुरा लुकाउने बनाउँछ ।
घर एउटा यस्तो ठाउँ हुनुपर्ने हो, जहाँ पुगेपछि संसारभरीको थकाइ मेटियोस् र मन सुरक्षित महसुस होस् । जहाँ बच्चाले आफ्नो वास्तविक भावना व्यक्त गर्न सक्दैन, त्यो घर केवल बस्ने ठाउँ मात्र हुन्छ, भावनात्मक आश्रय होइन । विडम्बना ! कतिपय घरहरू छोराछोरीका लागि सैनिक ब्यारेक वा कारागार जस्ता बन्छन्, जहाँ हरेक पाइलामा नियम, हरेक गल्तीमा कडा सजाय र चौबीसै घण्टा शंकाको नजर हुन्छ । हाम्रा आमाबुबाहरू आफ्ना सन्तान सुरक्षित र सफल होउन् भन्ने चाहन्छन्, जुन चाहना गलत होइन । तर, त्यो चाहना पूरा गर्न अपनाइने ‘अत्यधिक कडाइ’ (क्तचष्अत एबचभलतष्लन) ले अन्ततः उनीहरूकै सम्बन्धलाई ध्वस्त पारिरहेको हुन्छ ।
डरले मान्छेलाई केही समयका लागि रोक्न त सक्ला, तर भित्रैदेखि बदल्न सक्दैन । जब घरमा कुरा सुन्ने भन्दा पनि कराउने, बुझ्ने भन्दा पनि नियन्त्रण गर्ने र निर्णय थोपर्ने काम हुन्छ, तब सन्तानले आमाबुबालाई आफ्नो ‘रक्षक’ होइन, ’शासक’ देख्न थाल्छन् । परिणामस्वरूप, जब छोरा वा छोरीले थाहा पाउँछन् कि साँचो बोल्दा सजाय, कठोर भाषा, वा भावनात्मक दूरी आउँछ, तिनीहरूको दिमागले एउटा सरल पाठ सिक्छ ः ‘साँचो बोल्दा म बाँच्न सक्दिनँ ।’ यो जीवित रहने प्रवृत्ति हो, अनादर होइन । बच्चाले तपाईंलाई कुरा लुकाउँदैन किनभने उसले तपाईंलाई सम्मान गर्न छोड्यो त्यो त्यसैले हुन्छ किनभने तपाईंसँग उसलाई सुरक्षित महसुस हुँदैन । तपाईंको कडाइले छोराछोरीलाई गल्ती गर्नबाट रोकेको छैन, केवल तपाईंलाई थाहा नपाई गल्ती कसरी गर्ने भन्ने कला सिकाएको छ ।
यसकै कारण अत्यधिक कडा आमाबुबाका छोराछोरीहरू अक्सर उत्कृष्ट ‘अभिनेता’ वा ‘अभिनेत्री’ बन्न पुग्छन् । उनीहरू घरमा एउटा यस्तो रूप देखाउँछन् जुन आमाबुबाले मन पराउँछन् एकदम सीधा, शान्त र आज्ञाकारी । तर, घरबाहिर निस्कनेबित्तिकै उनीहरूको वास्तविक रूप वा भित्र दबाएर राखिएको चाहना विस्फोट हुन्छ । साथीसँग कतै जानु छ भने साँचो बोल्दा गाली खाइने डरले उनीहरू ‘एक्स्ट्रा क्लास’ वा ‘प्रोजेक्ट वर्क’ को बहाना बनाउँछन् । मनमा कुनै समस्या छ, कसैले चित्त दुखायो वा परीक्षामा नम्बर कम आयो भने पनि उनीहरू आमाबुबालाई भन्दैनन्, किनकी उनीहरूलाई थाहा हुन्छ सहानुभूति होइन, सजाय र थप गाली मात्र पाइनेछ । आमाबुबाको कडा निगरानीबाट बच्न उनीहरूले आफ्नो एउटा छुट्टै, गोप्य संसार सिर्जना गर्छन् । घरमा नभनिएका कुराहरू, लुकाइएका सम्बन्धहरू र आफ्ना वास्तविक रहरहरू उनीहरू आमाबुबाको नजरभन्दा धेरै टाढा राख्छन् ।
यो ढाँचाले सबैभन्दा दुःखद कुरा के बनाउँछ भने जब वास्तविक इमर्जेन्सी आउँछ (बुलिइङ, दुव्र्यवहार, लत, वा मानसिक पीडा जस्ता गम्भीर कुरा), त्यो बेला पनि बच्चाले अभिभावकलाई भन्न सक्दैन । किनभने तिनीहरूले वर्षौंसम्म सिकेका हुन्छन्–‘मेरो साँचो कुराले मलाई सजाय मात्र दिलाउँछ ।’ कडा अभिभावकत्वको छायामा हुर्किएका छोराछोरीहरू बाहिर हाँसेको देखिए पनि भित्रभित्रै गम्भीर मानसिक समस्यासँग लडिरहेका हुन्छन् । हरेक साना कुरामा टोकसो र निरन्तर आलोचना हुँदा उनीहरूमा ‘म आफैं सही निर्णय लिन सक्दिनँ’ भन्ने हीनताबोध विकास हुन्छ र आत्म–मूल्य घट्छ । परीक्षामा सोचेजस्तो नतिजा नआउँदा घरमा कस्तो भूकम्प जान्छ भन्ने डरले उनीहरू सधैं चिन्ता (Anxiety) र दीर्घकालीन तनावमा बाँचिरहेका हुन्छन् । सधैं ‘समातिन्छ कि’ भन्ने डरले स्नायु प्रणालीलाई निरन्तर सतर्क अवस्थामा राख्छ ।
सबैभन्दा दुःखद कुरा त यो हो कि, कडा शासनले गर्दा आमाबुबा र छोराछोरीबीचको भावनात्मक सम्बन्ध कहिल्यै बलियो हुन पाउँदैन । उमेर बढ्दै जाँदा छोराछोरीहरू आमाबुवाबाट टाढा हुन खोज्छन् । जब सन्तान ठूला हुन्छन् र आत्मनिर्भर बन्छन्, उनीहरू घर र आमाबुबाको नियन्त्रणबाट सकेसम्म टाढा भाग्न चाहन्छन् । जुन अभिभावकले आफ्ना छोराछोरीलाई बचाउनका लागि कडाइ गरेका थिए, अन्ततः उनीहरूले नै आफ्ना सन्तानलाई सधैंको लागि मानसिक र भावनात्मक रूपमा गुमाउन पुग्छन् । विश्वासको यो समस्या भविष्यको सम्बन्धमा पनि जान्छ अभिभावकसँग खुलेर कुरा गर्न नसकेको बच्चाले, पछि साथी, प्रेमी–प्रेमिका, वा आफ्नै छोराछोरीसँग पनि आफ्नो मन खोल्न सक्दैन ।
अभिभावकले छोराछोरीलाई अनुशासन सिकाउनु आवश्यक छ, तर, अनुशासन र नियन्त्रणलाई एउटै कुरा ठान्न मिल्दैन । अनुशासनले जिम्मेवारी सिकाउँछ भने नियन्त्रणले स्वतन्त्र सोच्ने क्षमता कमजोर बनाउँछ । नियमहरू आवश्यक छन्, तर ती नियमसँगै कारण पनि बुझाइनुपर्छ र ती सीमाहरू माया र सम्मानको जगमा बन्नुपर्छ, डरको जगमा होइन । जब आमाबुबाले आफ्नो व्यवहारमा लचकता ल्याउँछन्, छोराछोरीको गल्तीमा सजाय दिनुअघि उनीहरूको कुरा सुन्छन् र सँगै मिलेर समाधान खोज्छन्, तब मात्र छोराछोरीले कुरा लुकाउन छोड्छन् ।
अभिभावकको सबैभन्दा ठूलो जिम्मेवारी केवल बच्चालाई सफल बनाउनु होइन, उसलाई मानसिक रूपमा सुरक्षित महसुस गराउनु पनि हो । बच्चाले आफ्नो सबैभन्दा कमजोर क्षणमा सबैभन्दा पहिले आफ्नै अभिभावक सम्झनुपर्छ, डराउन होइन । आजको पुस्तालाई नियन्त्रण गर्ने होइन, सही निर्णय लिन सक्षम बनाउने वातावरण चाहिन्छ । यदि कुनै बच्चाले आफ्ना आमाबुवालाई आफ्नो असफलता, प्रेम, डर, गल्ती वा मानसिक पीडा भन्न सक्दैन भने, त्यो केवल बच्चाको कमजोरी होइन; त्यो परिवारभित्रको संवाद कमजोर भएको संकेत हो ।
‘स्ट्रिक्ट अभिभावकका छोराछोरीले कुरा लुकाउँदैनन्’ भन्ने धारणा एउटा मिथ मात्र हो । वास्तविकता यो हो कि जति स्ट्रिक्ट, उति नै लुकाउने प्रवृत्ति । हरेक अभिभावकले आफूलाई एउटा प्रश्न सोध्न आवश्यक छ ‘मेरो बच्चा मसँग सत्य बोल्न सुरक्षित महसुस गर्छ, कि केवल मेरो रिसबाट बच्न झूट बोल्छ ?’ यो प्रश्नको उत्तरले नै अभिभावकत्वको वास्तविक गुणस्तर र सफलता निर्धारण गर्छ ।
अन्ततः, छोराछोरीलाई असल मानिस बनाउने कुरा डर होइन, सम्बन्ध र विश्वास हो । बच्चाहरूले अभिभावकको कडाइ सम्झेर होइन, उनीहरूले दिएको सुरक्षा, माया र बिनाशर्त स्वीकार गर्ने व्यवहार सम्झेर जीवन बिताउँछन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij