२०८३, भाद्र १९ गते

Sep 04 2026 | २०८३, भाद्र १९ गते

संघीयतालाई प्रभावकारी कार्यान्वयन गर्न नसक्ने दलले त्यसैको वकालत गर्‍यो : के.सी.

शुक्रवार , भाद्र १९, २०८३

  • 628
    Shares
  • 628
    Shares
  • भैरहवा, १९ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालको समानुपातिक सांसद हेमा बेल्बासे (के.सी.) ले पार्टीले संविधानको मर्म र भावनाअनुसार संघीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको आरोप लगाउनुभएको छ । उहाँले जसपा नेपालले संघीयताकै वकालत गर्नु जनतालाई भ्रमित पार्नुबाहेक अरु केही नभएको दावी गर्नुभएको छ ।

    लुम्बिनी प्रदेशका चारजना प्रदेश सभा सदस्यहरुले पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको र सरकारमा सहभागी भएको भन्दै पार्टीले कारवाही गरिएपछि सांसद् के.सी.ले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

    यसअघि जसपा नेपाल लुम्बिनी प्रदेशको प्रमुख सचेतक समेत रहनुभएकी सांसद् के.सी.ले व्यवहारमा असफल हुने तर, राजनीतिक लाभका लागि मात्र एजेण्डा बोक्ने प्रवृत्ति अब बन्द हुनुपर्ने बताउनुभयो । ‘आम नागरिकलाई झुक्काउने यो खेल बन्द गरियोस् महोदय ! जनता अब सचेत भइसकेका छन्, ‘उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।’

    जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका चारजना प्रदेश सभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । निष्काशित हुनेमा लुम्बिनी प्रदेश सांसदहरू सन्तोष कुमार पाण्डेय, हेमा बेल्बासे के.सी., भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाल रहनुभएको छ ।

    निष्काशित हुनुभएका पाण्डेय शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र भण्डारीलाल अहिर आन्तरिक मामिला कानून, उद्योग तथा यातायात मन्त्री हुनुहुन्छ ।