२०८३, भाद्र १९ गते

Sep 04 2026 | २०८३, भाद्र १९ गते

लुम्बिनी प्रदेशका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहने गरी निष्काशित

शुक्रवार , भाद्र १९, २०८३

  • 319
    Shares
  • 319
    Shares
  • भैरहवा, १९ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका चारजना प्रदेश सभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

    ललितपुरको बालकुमारीमा तीन दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति र निर्णयविपरीत कार्य गरेर अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश सांसदलाई कारवाही गर्ने निर्णय गरेको हो ।

    निष्काशित हुनेमा लुम्बिनी प्रदेश सांसदहरू सन्तोष कुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल रहनुभएको छ । लुम्बिनीका चार सांसदहरूले पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको र सरकारमा सहभागी भएपछि कारवाही गरिएको जसपा नेपालका महासचिव डा. सुरेन्द्र कुमार झाले बताउनुभयो । 

    WhatsApp Image 2026-09-04 at 9.13.47 PM.jpeg

    निष्काशित हुनुभएका सन्तोष कुमार पाण्डेय सहरी विकास ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री र भण्डारीलाल अहिर आन्तरिक मामिला कानून, उद्योग तथा यातायात मन्त्री रहनुभएको छ ।

    त्यसै गरी स्थानीय तहका जनप्रतिनिधि र नेताहरूलाई पनि निष्काशन गरिएको छ । जसमा लहान नगरपालिकाका उपप्रमुख राम चलित्तर महतो, विभिन्न वडाका अध्यक्षहरू रमेशकुमार यादव, विजयकुमार महतो, प्रकाशमान श्रेष्ठ, शम्भु कुमार व्यार, मो. मुस्तकिम र किस्मत राई रहनुभएको छ ।

    कारवाहीमा पर्नेमा प्रदेश सभा सदस्य निर्मला तावा, खोटाङका जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, माम्सेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङ, केपीलासगढीका उपाध्यक्ष गुरुराज राई लगायत दर्जनौँ वडा अध्यक्ष र सदस्यहरू रहेका छन् ।

    पार्टीको नीति, सिद्धान्त र विधानविपरीत कार्य गरेको आरोप लगाउँदै कारवाही गरिएको छ । बैठकले रसुवागढीको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

    जसपा नेपालले अग्रगामी मोर्चा’ गठनको निर्णयलाई स्वागत गर्दै यसलाई सफल बनाउन सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ । पार्टीले संगठन सुदृढीकरणका लागि भदौ २१ गते पश्चिम नवलपरासी, २२ गते रुपन्देही र २३ गते कपिलवस्तु र दाङमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ ।