
बुधवार , भाद्र ३, २०७७
भैरहवा, ३ भदौ ।
समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक हप्ता पूर्ण लकडाउन गरिएको छ । राजनीतिक दल, सुरक्षा निकाय, तिलोत्तमा च्याम्बर अफ कमर्श, तिलोत्तमा उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग–व्यापार संगठन समेतका प्रतिनिधिहरु सहभागी नगरस्तरीय संकट व्यवस्थापन केन्द्र (सि.सि.एम.सी.) को निर्णय अनुसार बुधबार सांझ ७ बजेदेखि भदौ १० साँझ ७ बजेसम्म कडा लकडाउन गरिएको हो ।
लकडाउन उल्लंघन गर्ने जोकोहीलाई प्रचलित कानून अनुसार कारवाही हुने नगरपालिकाले स्पष्ट पारेको छ ।
पूर्ण लकडाउनसँगै नेपाल सरकारद्वारा जारी गरिएको जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड पूर्ण कार्यान्वयनमा कडाइ समेत गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्वास्थ्य सुरक्षा कायम गरी लकडाउन पूर्व नै अत्यावश्यक सामग्रीको जोहो गर्न र सुरक्षित रहन नगरवासीलाई अनुरोध गरेको थियो ।
लकडाउनमा औषधि पसलबाहेक सबै प्रकारका पसल–व्यवसाय, उद्योगधन्दा, कलकारखाना, होटल तथा रेष्टुरेण्ट, निर्माण कार्य, बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाका कार्यालय बन्द रहनेछन् । तर, पशुपालक कृषकहरुबाट उत्पादित दुध तथा दुग्धजन्य पदार्थ सहकारी एवं संकलन केन्द्रहरुबाट बिहान ८ः०० बजेसम्म मात्र विक्री वितरण गर्न दिइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
अत्यावश्यक सेवा सञ्चालनका लागि प्रयोग गरिने सवारीसाधन (एम्बुलेन्स, बारुणयन्त्र, शव बाहन, औषधी, एग्रोभेट, सञ्चार, पेट्रोलियम पदार्थ, खानेपानी, विद्युत, सरसफाई, दुधका ट्यांकर, पशुपंक्षीको दानाका गाडी) बाहेकका अन्य कुनै पनि प्रकारका सवारीसाधन (साइकल समेत) प्रयोग गर्न नपाइने निर्णय तिलोत्तमामा भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij