२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कोरोना संक्रमितको मनोबल बढाउन बुटवलमा सुरु भयो नौलो काम

आयुर्वेद र स्वास्थ्यलाभको पत्र बोकेर बुटवलका मेयर होम आइसोलेशनमा !

बुधवार , भाद्र ३, २०७७

बुटवल, ३ भदौ । 
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बुटवलमा पनि बढिरहेको अवस्था छ । संक्रमण रोकथाम र संक्रमितको मनोबल बढाउन बुटवल उपमहानगरपालिकाले विभिन्न उपायहरु अबलम्बन गरिरकोे छ ।

सचेतना, सावधानी, क्वारेन्टिन, आइसोलेशन सेन्टर हुँदै भेन्टिलेटर र आइसीयूसहितका अस्पतालसम्म निर्माण गरिएका छन् । यसका अतिरिक्त लक्षण नदेखिएका संक्रमित र कन्ट्रयाक टे«सिङमा परेकाहरुलाई सुरक्षित तरिकाले होम आइसोलेशनमा राखिएका छन् ।

होम आइसोलेशनमा राखिएका तिनै संक्रमित र तिनका परिवारलाई भेट्न बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी घरघरमा पुगेका छन् । स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्दतिका आयुर्वेद ओखती बोकेर आइसोलेशनमा मेयरसहितको टोली नै आएपछि संक्रमितमा मनोबल बढेको छ । 

नगरका प्रमुखकै नेतृत्वमा आयुर्वेद ओखतीसहित संक्रमितको घरदैलोमा पुगेर हौसला बढाउने र स्वास्थ्य लाभको कामना गर्ने यो नयाँ तरिका नेपालमै पहिलो पटक बुटवलमा सुरु भएको छ । 

विभिन्न परिस्थितिमा संक्रमित हुन पुगेका र स्वास्थ्य सावधानीसहित होम आइसोलेशनमा बसेहरुलाई घरदैलोमै पुगेर स्वास्थ्यलाभको कामना गरिएको प्रमुख सुवेदीले बताए । भेटघाट गर्ने क्रममा सुरक्षा सावधानी अपनाइएको र अरुलाई पनि अपनाउन अपील गरिएको थियो । 

बुधबार मात्रै विभिन्न २६ स्थानमा रहेको होम आइसोलेशनका संक्रमितलाई घरमै पुगेर मेयर सुवेदीले भेटघाट गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । त्यसक्रममा समुदाय तरमा सचेतनाका पत्र र सावधानीका उपायका बारेमा समेत सुरक्षा प्रबन्धसहित जानकारी गराउने गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

‘कोठामा मोबाइल चलाएर बसिरहेको थिएँ, तर गेटमा एक्कासी मेयरसहितको टोली ओखतीको पोको बोकेर आएको रहेछ एकदमै खुशी लाग्यो’ होम आइसोलेशनमा बसेका बुटवल–११, का केशवराज ज्ञवालीले भने, ‘यस्तो अभियानले मेरो मात्रै होइन धेरैको मनोबल बढाउँछ ।’ 

प्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, होम आइसोलेशन रहेका सम्बन्धित वडाका अध्यक्षहरु रामचन्द्र क्षेत्री, नारायण प्रसाद पुन र उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहसहितको टोलीले सुरक्षा प्रबन्धसहित संक्रमितको स्वास्थ्य लाभको कामना गर्न होम आइसोलेशनमा पुगेका छन् ।

संक्रमितको मनोबल बढाउन आयुर्वेद र स्वास्थ्य लाभको पत्र बोकेर बुटवलका मेयर होम आइसोलेशनमा जान थाल्नुभएको जानकारी दिंदै उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले महामारी नियन्त्रणको अभियानसंगै अब यसलाई पनि निरन्तरता दिइने बताए ।

बुटवलमा मात्रै बुधबारसम्म एक सय २७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित भएकामध्ये केही त बुटवल उपमहानगरपालिकाकै कर्मचारी समेत छन् । संक्रमित भएका उनीहरु सबै आइसोलेशनमा राखिएका छन् भने परिवारमा पनि परीक्षण भइरहेको छ । 

अधिकांशमा लक्षण नदेखिएको र सुरक्षा सावधानीमा रहेको उपमहानगरले जनाको छ । कहाँबाट संक्रमण सुरु भएको हो र कसरी फैलिइएको हो त्यसको समेत खोजी गर्दै उपमहानगरले कन्ट्रयाक्ट् ट्रेसिङ गरिरहेको स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले बताए ।

उपमहानगरपालिकाले पछिल्लो समयमा बजारको भिड नियन्त्रण गर्न समेत नयाँ मापदण्ड बनाएर कडाइ गरिरहेको छ । सचेतनाका कार्यक्रम र टोलटोलमा स्वयंसेवक समेत परिचालन गर्दै नियन्त्रणका काम प्रभावकारी बनाउन लागिएको प्रवक्ता रेग्मीले बताए । प्रदेशको मुकाम भएको र तीनै तहका कार्यालयहरू बुटवलमै रहेकाले पनि त्यस खालको भीड बुटवलमा बढी हुने गरेको छ । प्रादेशिक हस्पिटल, निजी तथा सामुदायिक अस्पतालमा आउनेहरूका कारण पनि बुटवलमा भीड बढी हुने गरेको पाइन्छ ।