मंगलवार , आषाढ १६, २०८३
भैरहवा, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय सदस्य ज्ञानु पौड्यालले जनतालाई महसुस हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चितवनमा हालै सम्पन्न पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित पौड्यालले रास्वपाले प्राप्त जनमतको कदर गर्दै अघि बढ्ने बताउनुभयोे ।
‘रास्वपाको ऐतिहासिक महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि एकदमै खुसी लागिरहेको छ । सातवटै प्रदेशबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरुले विश्वास गरेर मतदान गरी निर्वाचित गराउनुभएको छ । यसका लागि सबैप्रति आभार व्यक्त गर्दछु, ’उहाँले भन्नुभयो । महाधिवेशनले सक्षम नेतृत्व चयन गरेको उहाँको भनाइ छ ।
प्रतिनिधि सभा सदस्य समेत रहनुभएकी पौड्यालले आफू निर्वाचन परिणामबाट खुसी भएको बताउनुभयो । रास्वपालाई अझ बलियो बनाउन काम गर्ने सक्षम तथा अब्बल व्यक्ति लोकतान्त्रिक विधिबाट प्रतिनिधिहरुले छनौट गर्नुभएको उहाँको भनाइ छ ।
प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सदस्य समेत रहनुभएकी पौड्यालले ८९७ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij