२०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

पर्यटन प्रवर्द्धन र युवामैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

मंगलवार , आषाढ १६, २०८३

  • 673
    Shares
  • 673
    Shares
  • बुटवल, १६ असार । रुपन्देहीका होटल व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र युवालाई पर्यटनसँग जोड्ने गरी समयानुकूल पर्यटन तथा युवामैत्री नीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । 

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देहीको २८ औं स्थापना दिवस तथा २५ औं वार्षिक साधारण सभा–२०८३ को अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा नीतिगत तथा कानूनी जटिलता प्रमुख बाधक बनेको उल्लेख गर्दै सरकार गम्भीर भएर समाधानतर्फ अग्रसर हुनुपर्ने धारणा राखेका हुन् ।

    कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको होटल व्यवसायको इतिहास खोजी गरी त्यसको दस्तावेजीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले बुटवललाई केन्द्रमा राखेर पहाडी क्षेत्रसँग जोडिने पर्यटन प्याकेज विकास गर्न, साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्न तथा मौलिक पहिचान झल्किने कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले नेवार, झाउरे, सरायलगायत विभिन्न जातजातिका साँस्कृतिक नृत्य संरक्षण तथा प्रवद्र्धनका लागि पालिकाले सञ्चालन गरिरहेका तालिमलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो । प्रदेश राजधानी स्थानान्तरणपछि आर्थिक मन्दीको असरमा परेको पर्यटन व्यवसायलाई पुनर्जीवित गर्न ट्राभल एजेन्सी, यातायात व्यवसायी र होटल क्षेत्रबीच समन्वय गरी एकीकृत योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

    संघका अध्यक्ष माधव कुमार खनालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै होटल व्यवस्थापन, खाद्य स्वच्छता, नेतृत्व विकास तथा उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गरिएको जानकारी दिनुभयोे । उहाँले बुटवल खाना महोत्सव, मौलिक परिकारको प्रवद्र्धन, पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम तथा नगरस्तरीय पर्यटन समिति गठनका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विकासका लागि निरन्तर दबाब र सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा संघका संस्थापक सचिव माधवप्रसाद नेपाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तव, याक ब्रुअरी प्रा.लि.का प्रितम गिरी, संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा तथा महासचिव केशवराज कंडेलले होटल व्यवसायको संख्या बढ्दै गए पनि सेवाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा संस्थाको विकासमा निरन्तर योगदान पुर्याएका पूर्वअध्यक्ष, सल्लाहकार तथा सहयोगदातालाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको संघका कोषाध्यक्ष अर्जुन पोखरेलले बताउनुभयो ।