२०८३, श्रावण २९ गते

Aug 14 2026 | २०८३, श्रावण २९ गते

पोखरामा राष्ट्रिय कफी प्रदर्शनी हुँदै

सोमवार , आषाढ १५, २०८३

  • 1.3K
    Shares
  • 1.3K
    Shares

  • पोखरा, १५ असार । नेपाली कफीको उत्पादन, गुणस्तर, उपभोग र बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ ।

    नेपाल सरकार अन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा तथा नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघको सहकार्यमा ‘चिनौँ, चाखौँ अपनाऔँ, प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन हुन लागेको हो ।

    कार्यक्रम असार २० गते शनिबार बिहान १० बजेदेखि पोखरा–५ डुम्रीबोटस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय परिसरमा हुनेछ । उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि रहनुहुनेछ भने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री विशिष्ट अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीका अनुसार नेपालमा कफी खेती र कफी संस्कृतिप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै कफीको उत्पादनदेखि बजारीकरणसम्मको सम्पूर्ण मूल्य श्रृंखलाबारे एउटै थलोबाट जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा देशभरका कफी उत्पादक, व्यवसायी, सहकारी, सरोकारवाला निकाय तथा उपभोक्ताको सहभागीता रहने उहाँले बताउनुभयो ।

    कार्यक्रमका प्रमुख आकर्षणमा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपका विजेतालाई अवार्डसहित सम्मान, कफी नर्सरी तथा बगैंचा अवलोकन, उत्कृष्ट नेपाली कफीको निःशुल्क सार्वजनिक कपिङ, स्पेसियालिटी कफी ब्रुइङ प्रदर्शन, कफी बार उपकरण प्रदर्शनी, निःशुल्क कफी स्वाद परीक्षण तथा कफी प्रशोधन पहिचान प्रतियोगिता रहेका छन् ।

    त्यसै गरी बीउदेखि कपसम्मको सम्पूर्ण कफी मूल्य शृङ्खलाको प्रदर्शनी, गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया, विज्ञबाट प्राविधिक परामर्श तथा कफीसम्बन्धी मनोरञ्जनात्मक खेलहरू पनि सञ्चालन गरिनेछन् ।

    आयोजकले कफी उत्पादक किसान, प्रशोधनकर्ता, व्यापारी, सहकारी, क्याफे सञ्चालक, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, उपभोक्ता र कफीप्रेमी सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ ।

    नेपाली कफीको स्वाद, गुणस्तर र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने र कफी क्षेत्रको दिगो विकासमा समेत टेवा पुग्ने आयोजकले विश्वास लिएका छन् ।