२०८३, आषाढ १५ गते

Jun 29 2026 | २०८३, आषाढ १५ गते

युसीयमयस : पश्चिम नेपालको प्रमुख स्वास्थ्य तथा चिकित्साशास्त्र अध्ययन केन्द्र

सोमवार , आषाढ १५, २०८३

  • 244
    Shares
  • 244
    Shares
  • भैरहवा, १५ असार । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीयमयस) अहिले पश्चिम नेपालकै एक प्रमुख स्वास्थ्य तथा चिकित्सा शास्त्र अध्ययन केन्द्रका रूपमा परिचित बनेको छ । युसीयमयस भैरहवा मेडिकल कजेजको रुपमा पनि परिचित छ ।

    वि.सं. २०५४ सालमा स्थापना भएको युसियमयस निजी क्षेत्रबाट सञ्चालित तथा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेपालको पहिलो मेडिकल कलेजका रूपमा इतिहासमा दर्ज छ ।

    दुई दशकभन्दा बढी समयको यात्रामा अस्पतालले स्वास्थ्य सेवा मात्र होइन, दक्ष जनशक्ति उत्पादनमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेको छ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा र गुणस्तरीय चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको युसीयमयसले अहिले हजारौं विद्यार्थीलाई चिकित्सा क्षेत्रमा दिक्षित गरिसकेको छ भने लाखौं बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ ।

    अस्पतालका प्राचार्य प्रा.डा. लक्ष्मी पाठक चिकित्सा शिक्षा र स्वास्थ्य सेवा दुवै क्षेत्रमा संस्थाले सन्तुलित विकास गरिरहेको बताउनुहुन्छ । प्रा.डा. पाठकका अनुसार हालसम्म कलेजबाट स्नातक तहअन्तर्गत एमबीबीएसमा २ हजार २ सय ७७, बीडीएसमा ७ सय २४, विएस्सी नर्सिङ्गमा १ सय ९२, विएनएसमा १ सय ५५, बी.फार्मेसीमा १ सय ३५, बीएस्सी एमएलटीमा ४५, बीपीएचमा ५१ र विएस्सी एमआईटीमा १० जना विद्यार्थी उत्तीर्ण भइसकेका छन् ।

    त्यसै गरी स्नातकोत्तर तहअन्तर्गत एमडी÷एमएसमा ३०१, एमडिएसमा ७८, एमएनमा १७ र एमपीएचमा २ जना गरी हालसम्म कुल ३ हजार ९ सय ८७ जना विद्यार्थी दीक्षित भइसकेका छन् । यसले पश्चिम नेपालमा चिकित्सा शिक्षाको केन्द्रका रूपमा युसियमयसलाई स्थापित गरेको पाठकको भनाइ छ । ‘हामी केवल डाक्टर उत्पादन गर्ने संस्थामात्र होइनौं, ’प्रा.डा. पाठकले भन्नुभयो–‘समाजप्रति उत्तरदायी, दक्ष र मानवीय संवेदनासहितका स्वास्थ्यकर्मी उत्पादन गर्नु हाम्रो उद्देश्य हो ।’

    लाखौं बिरामीको भरोसा

    अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार अस्पतालले आर्थिक वर्ष २०८१÷०८२ मा मात्रै १२ हजार ६ सय ३० आकस्मिक बिरामीलाई सेवा दिएको छ । सोही अवधिमा १ लाख ९६ हजार ४ सय ९१ जना ओपिडी बिरामीले उपचार सेवा लिएका छन् भने १७ हजार ३ सय ९८ जना भर्ना भएर उपचार गराएका छन् ।

    अस्पतालमा ६ हजार ३ सय ४१ वटा शल्यक्रिया सम्पन्न भएका छन् । ४ हजार ४ सय २७ प्रसुति सेवा, ११ हजार ६० डायलासिस सेवा तथा ७ लाख ५५ हजार ९ सय ३ प्रयोगशाला परीक्षणमार्फत सेवा प्रदान गरिएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङ्गले जानकारी दिनुभयो ।

    आधुनिक प्रविधिसहित विशेषज्ञ सेवा

    युसियमयस शिक्षण अस्पतालले पछिल्लो समय आधुनिक स्वास्थ्य प्रविधि र विशेषज्ञ सेवामा उल्लेखनीय विस्तार गरेको छ । अस्पतालमा मुटुरोगीका लागि ‘क्याथ ल्याब’ सेवा सञ्चालनमा छ, जहाँ मुटुसम्बन्धी जटिल परीक्षण तथा उपचार हुँदै आएको छ । जोर्नी तथा हिप प्रत्यारोपण, दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया, मृगौला र मूत्रथैलीमा हुने पत्थरीको बिनाचिरफार उपचार, प्रोस्टेट ग्रन्थीको उपचार तथा पित्तथैलीको पत्थरीको शल्यक्रिया अस्पतालका विशेष सेवामध्ये पर्दछन् ।

    मुटु, फोक्सो तथा रक्तनली शल्यक्रियाका लागि सिभिटिएस युनिट सञ्चालनमा रहेको अस्पतालमा उच्च रक्तचाप, हृदयघात, पक्षघातलगायत मुटुसम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध छन् । ई.सि.जी, इको, हल्टर र टीएमटी जस्ता परीक्षण सेवा पनि अस्पतालमै उपलब्ध रहेको शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसले जानकारी दिनुभयो ।

    अत्याधुनिक उपकरण 

    अस्पतालका मेडिकल सुपरीन्टेण्डेण्ट प्रा.डा. साधन मुखीका अनुसार पछिल्लो समय मुटुरोग, मृगौला, हाडजोर्नी तथा जटिल शल्यक्रिया सेवामा अस्पतालले उल्लेखनीय प्रगति गरेको छ । उहाँले भन्नुभयो–‘पहिले सामान्य उपचारका लागि समेत काठमाडौं वा भारत जानुपर्ने बाध्यता थियो । अहिले भैरहवामै मुटुरोगको क्याथ ल्याब सेवा, जोर्नी प्रत्यारोपण, दूरबिन प्रविधिबाट शल्यक्रिया, मृगौलाको पत्थरी उपचारलगायत धेरै जटिल सेवा उपलब्ध छन् । यसले बिरामीको समय र खर्च दुवै बचाएको छ ।’

    रेडियोलोजी विभागमा डिजिटल एक्स–रे, अल्ट्रासाउण्ड, सिटी स्क्यान, १६ स्लाइस मल्टि डिटेक्टर सिटी स्क्यान, एमआरआई, मेमोग्राफी तथा फ्लोरोस्कोपीजस्ता आधुनिक उपकरण जडान गरिएका छन् ।

    त्यस्तै अस्पतालमा अत्याधुनिक आईसीयू, एनआईसीयू, पिआईसीयू, सिसियू तथा एमआईसीयू सेवा सञ्चालनमा छन् । गम्भीर प्रकृतिका बिरामीका लागि सुविधासम्पन्न डिलक्स वार्डको समेत व्यवस्था गरिएको मेडिकल सुपरीन्टेण्डेण्ट प्रा.डा.साधन मुखी बत्ताउनुहुन्छ ।

    सामाजिक उत्तरदायित्वमा पनि सक्रिय

    अस्पतालले नेपाल सरकारको निःशुल्क प्रसुति सेवा कार्यक्रम तथा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पनि सेवा दिँदै आएकोमा यही जेठ १६ गतेदेखि सरकारले निजी स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको असर यो अस्पतालमा पनि परेको छ ।

    यसबाहेक सामाजिक सुरक्षा सेवा, मृगौला रोगीका लागि निःशुल्क डायलासिस सेवा तथा भारत सरकारको पूर्वसैनिक र आश्रित परिवारका लागि ईसिएचएस सेवा सञ्चालनले अस्पतालको सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसको भनाइ छ ।

    २४ सै घण्टा आकस्मिक उपचार सेवा सञ्चालनमा रहेको अस्पतालले सीमावर्ती क्षेत्रका नेपाली मात्र होइन, भारतका बिरामीलाई समेत सेवा दिँदै आएको छ ।

    नेतृत्व र भविष्यको योजना

    अस्पतालका अध्यक्ष रमेश शर्मा तथा प्रबन्ध निर्देशक खुमा प्रसाद अर्याल रहनुभएको छ । प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को नेतृत्वमा प्राचार्य प्रा.डा. लक्ष्मी पाठक, सह–प्राचार्य प्रा.डा. हेमन्त हलुवाई, मेडिकल सुपरीन्टेण्डेण्ट प्रा.डा. साधन मुखी तथा प्रमुख वित्त नियन्त्रक सुरज पौडेलको टोलीले संस्थालाई अघि बढाइरहेको छ ।

    अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.अस्पतालले सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आम नागरिकलाई सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो–‘हामीले अस्पताललाई केवल उपचार केन्द्रका रूपमा मात्रै होइन, दक्ष चिकित्सक उत्पादन गर्ने शैक्षिक संस्थाका रूपमा पनि विकास गरेका छौं । अहिले अत्याधुनिक प्रविधि र विशेषज्ञ सेवामार्फत बिरामीलाई ठूलो शहर धाउनुपर्ने अवस्थालाई धेरै हदसम्म अन्त्य गरेका छौं ।’

    संस्थामा हालसम्म करिब ४ सय करोड रुपैयाँ लगानी भइसकेको छ । अस्पतालले आगामी दिनमा नयाँ प्रविधि तथा अत्याधुनिक उपकरण थप गर्दै विशिष्ट विशेषज्ञ सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।

    लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रलाई निजी क्षेत्रबाट नयाँ उचाइमा पुर्याउने युसियमयस शिक्षण अस्पताल अहिले पश्चिम नेपालका बिरामीका लागि उपचारको भरोसा र चिकित्सा शिक्षाको प्रमुख गन्तव्य बनेको छ ।