शनिवार , आषाढ १३, २०८३
भैरहवा, १३ असार । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड ५३ लाख ८१ हजार रुपैयाँको बजेट पारित गरेको छ । बुधबार आयोजित गाउँ सभाको १९ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका शाही सिंहले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
उपाध्यक्ष शाहीका अनुसार कुल बजेटमध्ये ३७ करोड ३७ लाख रुपैयाँ चालुतर्फ र २२ करोड १६ लाख रुपैयाँ पूँजीगततर्फ विनियोजन गरिएको छ ।
बजेटका लागि राजस्व परिचालनबाट १ करोड १ लाख ९० हजार, आर्थिक वर्ष २०८२/०८३ बाट बचत हुने अनुमानित ४ करोड ५० लाख, संघीय सरकारबाट राजस्व बाँडफाँड १० करोड ६० लाख ५७ हजार, प्रदेश सरकारबाट राजस्व बाँडफाँड १ करोड १ लाख ५२ हजार, नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान १५ करोड ६८ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड १३ लाख ३२ हजार, नेपाल सरकारबाट सशर्त, विशेष तथा समपूरक अनुदान २२ करोड ४० लाख, प्रदेश सरकारबाट सशर्त, विशेष तथा समपूरक अनुदान १ करोड ५६ लाख ५० हजार, तथा अन्य राजस्व र विक्री–वितरणबाट १ करोड १ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवले कृषि, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्वास्थ्य संस्थाहरूलाई थप व्यवस्थित बनाइनेछ ।
साउन १ गतेदेखि वडा नम्बर ५ स्थित आँखा अस्पताललाई नयाँ भवनबाट सञ्चालन गरिने, वडा नम्बर ७ को स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु गरिने तथा वडा नम्बर २ मा १५ शैयाको अस्पतालको शिलान्यास गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । कृषकलाई समयमै, नियमित र समान रूपमा सेवा उपलब्ध गराउन किसान कार्ड लागू गरिने अध्यक्ष श्रीवास्तवले बताउनुभयो ।
उहाँले पशु सेवा, सहकारी, वित्तीय क्षेत्र, सामाजिक विकास, साहित्य, कला, संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, न्यायिक समिति तथा मेलमिलाप, स्वास्थ्य, आयुर्वेद, वातावरण तथा विपद् व्यवस्थापन, खानेपानी तथा सरसफाई, भौतिक विकास, सुशासन, सार्वजनिक सेवा तथा क्षमता विकास, रोजगार तथा गरीबी निवारण, लघु उद्यम, सुरक्षित आप्रवासन (सामी) कार्यक्रम, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणलगायत क्षेत्रका नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार यादवले छाडा चौपायाको व्यवस्थापनका लागि गाउँपालिकाले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । छाडा चौपायाका कारण किसानले लगाएको बालीमा निरन्तर क्षति भइरहेको उल्लेख गर्दै उहाँले गाउँपालिकाले गौशाला निर्माण गरी समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहको सञ्चालनमा गाउँसभा सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij