२०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

१० दिने उद्यमशीलता विकास तालिम सम्पन्न

बिहिवार , आषाढ ११, २०८३

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, ११ असार । घरेलु तथा साना उद्योग कार्यालय सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा १० दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । श्री स्वस्तिक महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर नगरपालिका–९, गोलीगढमा उक्त तालिम असार २ देखि ११ गतेसम्म सञ्चालन भएको थियो । तालिममा सहकारी संस्थाका ३० जना शेयर सदस्यहरुको सहभागीता रहेको अध्यक्ष लता पोखरेलले बताउनुभयो ।

    तालिमको बिहीबार आयोजित समापन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय सिद्धार्थनगरको प्रमुख उद्योग अधिकृत शारदा भट्टराईले उद्यमशीलता विकास तालिममा महिलाहरू कसरी सफल उद्यमी बन्ने  विषयमा प्रशिक्षण दिइएको बताउनुभयो । उहाँले व्यवसाय सञ्चालनका लागि सुरुमा गर्नुपर्ने कानूनी प्रक्रिया व्यवसाय दर्तादेखि सञ्चालनसम्मका प्रक्रियाहरूका बारेमा तालिममा सिकाई अभ्यास गराइएको बताउनुभयो । महिलाहरूको नाममा उद्योग दर्ता गर्दा पाउने छुटहरूका बारेमा उहाँले जानकारी दिनुभयो ।

    संस्थाका अध्यक्ष लता पोखरेलले आगामी दिनमा पनि महिलालक्षित सीपमूलक तालिम माग गरी सहकारीका शेयर सदस्यहरूलाई सीप सिकाई आत्मनिर्भर बन्दै रोजगारी सिर्जना गर्ने संस्थाको लक्ष्य रहेको बताउनुभयो । यस महिला सहकारीले बचत तथा ऋणको मात्र काम नगरी विभिन्न प्रकारका सामाजिक कार्य र सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

    सहभागीकोतर्फबाट रमा वाग्ले र मधु भट्टराईले मन्तव्य राख्नुभएको थियो । समापज कार्यक्रममा १० दिने तालिमको प्रतिवेदन निशा श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

    तालिममा प्रमुख प्रशिक्षक एवं घरेलु तथा साना उद्योग कार्यालयका अनन्त पन्थी घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता अनन्त पन्थी, लेखा अधिकृत त्रिपुरारी चाई, अमृत नारायण श्रेष्ठ लगायतले सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको संस्थाको सचिव अनिता थापाले बताउनुभयो ।