२०८३, आषाढ १० गते

Jun 24 2026 | २०८३, आषाढ १० गते

पानीको अभावले मर्चवार लिफ्ट सिंचाई सञ्चालनमा समस्या, किसान चिन्तित

बुधवार , आषाढ १०, २०८३

  • 241
    Shares
  • 241
    Shares
  • भैरहवा, १० असार । तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिंचाई आयोजनाको पम्प स्टेशन सञ्चालनमा समस्या उत्पन्न भएको छ । धान रोपाईको मुख्य समयमा नदीमा पर्याप्त पानी नहुँदा सिंचाई सेवा प्रभावित बनेको हो ।

    मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादवका अनुसार लामो समयदेखि वर्षा नहुँदा तिनाउ र दानव नदीमा पानी घट्दै गएको छ । नदीमा पानीको सतह पम्पले पानी तान्न मिल्ने न्यूनतम स्तरभन्दा तल झरेपछि सिंचाई सञ्चालनमा कठिनाइ भएको उहाँले बताउनुभयो । अध्यक्ष यादवले भन्नुभयो–‘धान रोपाई सुरु भइसकेको छ । किसानहरू सिंचाईका लागि मर्चवार लिफ्ट आयोजनामै निर्भर छन् । तर, नदीमा पर्याप्त पानी नहुँदा पम्पहरू नियमित सञ्चालन गर्न समस्या भइरहेको छ । पाँचवटा पम्प जडान भए पनि पानीको अभावका कारण हाल तीनवटा पम्प मात्र सञ्चालनमा छन् ।’ उहाँका अनुसार दानव नदीबाट बग्ने पानीलाई रोक्न कम्तीमा पाँच फिट उचाईको बाँध (ड्याम) निर्माण गर्न सके नियमित रूपमा पानी आपूर्ति गर्न सहज हुनेथियो ।

    पम्प स्टेशन प्रबन्धक अकरम खानले नदीको पानी आयोजनाको डिजाइनअनुसार तोकिएको न्यूनतम स्तरभन्दा करिब १.५ मिटर तल झरेको जानकारी दिनुभयो । यस्तो अवस्थामा पम्प सञ्चालन गर्दा मोटर तथा अन्य उपकरणमा क्षति पुग्ने जोखिम बढेको उहाँको भनाइ छ । ‘विद्युत् आपूर्ति र मेशिन उपकरणको अवस्था राम्रो छ । तर, पानीको अभावमा लामो समयसम्म मोटर चलाउँदा उपकरण बिग्रिन सक्ने सम्भावना भएकाले सावधानी अपनाउनुपरेको छ, ’खानले बताउनुभयो ।

    हाल तिनाउ नदीका विभिन्न भागहरूमा पानी सुकेर घाँस उम्रिन थालेको छ । नदी किनारका जमिन चिरा पर्न थालेका छन् भने बीच भागमा बालुवा र माटो देखिन थालेको छ । यस्तो अवस्थाले सिंचाईमा मात्र नभइ समग्र कृषि उत्पादनमा समेत गम्भीर असर पार्ने संकेत देखिएको छ ।

    धान रोपाईको समयमै पर्याप्त पानी नपाउँदा किसानहरू चिन्तित बनेका छन् । कतिपय किसानले रोपेको धान सुक्ने डर व्यक्त गरेका छन् भने केहीले अझै रोपाई सुरु गर्न सकेका छैनन् । आकाशे पानीको भरमा बसेका किसानहरू दिनहुँ वर्षा हुने आशामा आकाशतिर हेर्न बाध्य छन् ।

    मर्चवार क्षेत्रको कृषि उत्पादन मुख्यतः सिंचाईमा निर्भर छ । यदी पानीको अभाव हुँदै गएमा धान उत्पादनमा कमी आउने र किसानहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्थाको सिर्जना हुन सक्ने स्थानीय हृदयराम गुप्ताले बताउनुभयो ।

    स्थानीय बासिन्दाका अनुसार मर्चवार लिफ्ट सिँचाइ आयोजनाले खेतीपातीका साथै भू–जलको सतह सन्तुलित राख्न समेत महत्वपूर्ण भूमिका खेलेको छ । आयोजनाबाट पर्याप्त पानी आपूर्ति हुन नसके भविष्यमा खानेपानीको स्रोतमा समेत असर पर्न सक्ने भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् ।