बुधवार , आषाढ १०, २०८३
भैरहवा, १० असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ (भैरहवा) कालिकापथस्थित शुभकार्य तथा विभिन्न साँस्कृतिक–धार्मिक कार्यक्रमका लागि आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले ‘समृद्धि क्रियेशन्स’ सञ्चालनमा आएको छ । बुधबारदेखि व्यवसायको शुभारम्भ गरिएको प्रोपाइटर सिता काफ्ले घिमिरेले जानकारी दिनुभयो । उक्त व्यवसायिक प्रतिष्ठानको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले उद्घाटन गर्नुभयो ।

‘समृद्धि क्रियेशन्स’ विवाह, व्रतबन्ध, अन्नप्राशन, नामकरण, हल्दी, मेहेन्दी, जन्मदिन, वैवाहिक वर्षगाठ, पूजा–आराधना तथा अन्य शुभ अवसरका लागि आवश्यक पर्ने विभिन्न प्रकारका हेण्डिक्राफ्ट सामग्रीहरू थोक तथा खुद्रा रूपमा उपलब्ध गराइने सञ्चालक घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ग्राहकहरूको आवश्यकता अनुसार आधुनिक तथा परम्परागत शैलीका सजावटी सामग्री, पूजाआजाका सामग्री, दुबोका माला, स्वागत सामग्री, उपहारका सामग्री तथा विभिन्न हस्तकलाजन्य वस्तुहरू एकै स्थानबाट खरीद गर्न सकिने व्यवस्था गरिएको छ ।
पछिल्लो समय विवाह तथा विभिन्न शुभकार्यमा आकर्षक सजावट र हस्तनिर्मित सामग्रीको प्रयोग बढ्दै गएको सन्दर्भमा ग्राहकको आवश्यकता पूरा गर्ने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको उहाँ बताउनुभयो । यस व्यवसासयक प्रतिष्ठानबाट शुभकार्यका लागि आवश्यक धेरै सामग्री खोज्न विभिन्न स्थान धाउनुपर्ने बाध्यता हट्ने उहाँले जानकारी दिनुभयो । गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउँदै ग्राहकको विश्वास जित्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।
घिमिरेका अनुसार समृद्धि प्रतिष्ठानमा स्थानीयस्तरमा उत्पादन भएका हस्तकलाका सामग्रीलाई समेत प्राथमिकता दिइनेछ । यसबाट स्थानीय सीप र उत्पादनको प्रवद्र्धनसँगै स्वरोजगार सिर्जनामा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । ग्राहकको रोजाइ र आवश्यकता अनुसार विशेष अर्डरमा विभिन्न डिजाइनका सामग्री तयार गर्ने व्यवस्था समेत गरिएको बताइएको छ ।
धार्मिक तथा साँस्कृतिक परम्परासँग जोडिएका सामग्रीहरूको सहज उपलब्धताले भैरहवा तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई लाभ पुग्ने विश्वास लिइएको छ । शुभकार्यलाई अझ आकर्षक, व्यवस्थित र स्मरणीय बनाउन आवश्यक सामग्री एकै स्थानमा उपलब्ध गराउने लक्ष्यसहित समृद्धि क्रियशनले सेवा सुरु गरेको सञ्चालक घिमिरेले बताउनुभयो ।
भैरहवाको व्यस्त व्यापारिक क्षेत्र कालिकापथमा सञ्चालनमा आएको समृद्धि क्रियेशन्सले आगामी दिनमा सेवा विस्तार गर्दै नयाँनयाँ सामग्री थप गर्ने योजना समेत बनाएको जनाएको छ । स्थानीय उपभोक्ताबाट व्यवसायले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको सञ्चालक घिमिरेले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij