सोमवार , आषाढ १, २०८३
काठमाडौँ, १ आषाढ । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ ।
सोमवार बसेको नगर सभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसोधनसहित स्वीकृत गरेको हो । नगरसभाको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यपालिका सदस्यहरूबाट प्राप्त राय, सुझाव र सल्लाहलाई आधार बनाएर नीति तथा कार्यक्रम संशोधनसहित पारित गर्न प्रश्ताव पेश गर्नुभएको थियो ।
उहाँले कार्यपालिका सदस्यहरुवाट प्राप्त सुझावले बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक निर्माणमा सहयोग पुग्ने बताउनु भयो । काठमाडौं महानगरपालिकाले सुशासनयुक्त, छिटो, छरितो, जनमुखी तथा सहज सेवा प्रवाहलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले सदस्यहरूबाट आएका नवीन तथा सिर्जनात्मक सुझाव कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।
केही सुझाव महानगरपालिकाले बनाएका ऐन तथा कानुन संशोधनसँग सम्बन्धित रहेको भन्दै उहाँले आवश्यक प्रक्रिया अघि बढाइने प्रतिवद्धता पनि जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘यहाँहरुले राख्नुभएको राय, सल्लाह, सुझावलाई आधारित बनाएर नीति तथा कार्यक्रम, बजेट बनाउँनेछौँ । हामीले बनाउने आर्थिक विधेयक र विनियोजन विधेयकमा पनि यहाँहरुले राख्नुभएको राय सुझावले योगदान पु¥याउने छ, काठमाडौं महानगरबासीले साँच्चिकै महानगरपालिकाले गरिरहेको कामको आवास गर्न सक्नुहुनेछ ।
हामीले नै बनाएका ऐन कानूनहरुमा संशोधन गर्नु आवश्यक भएका केही सुझावहरु पनि आएका छन् । त्यसका लागि आवश्यक कारवाही अगाडि बढाउनेछौँ । साथै काठमाडौं महानगरपालिकालाई हामीले सुशासनयुक्त र सँगसँगै हामीले प्रवाह गर्ने सेवाहरु छिटो, छरितो, जनतामुखी र सँगसँगै सरल र सहज पनि होस् भन्ने हामी सबैको उद्देश्य हो ।
यसका लागि यहाँहरुले दिनुभएको नविन र सँगसँगै श्रृजनात्मक सुझावहरु पक्कै पनि उपयोगी छन्, नीति कार्यक्रम बजेट र सँगसँगै हामीले बनाउने ऐन कानूनहरुमा पनि यसले उल्लेखनीय योगदान पुर्याउने छ । यसतर्फ हाम्रो ध्यानाकृष्ट भएको पनि छ र यसलाई क्रमशः रुपमा कार्यान्वयन गर्दै लग्नेछौँ ।’
महानगरको नीति तथा कार्यक्रम स्वीकृत भएसँगै आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट, आर्थिक विधेयक, २०८३ र विनियोजन विधेयक, २०८३ प्रश्तुत गर्न नगर सभाको अर्को बैठक असार ४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा बस्ने भएको छ ।
महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यवाहक प्रमुख डंगोलले नगरसभामा विहीवार प्रश्तुत गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij