२०८३, आषाढ १ गते

Jun 15 2026 | २०८३, आषाढ १ गते

गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट

सोमवार , आषाढ १, २०८३

  • 253
    Shares
  • 253
    Shares
  • काठमाडौँ, १ आषाढ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका स्थायी वासिन्दाहरुले काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    सोमवार गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडबीच स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

    सम्झौतापत्रमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले हस्ताक्षर गर्नुभएको छ ।

    सम्झौताअनुसार गोकर्णेश्वरका स्थायी बासिन्दाले केएमसीको दुवाकोट युनिटमा साधारण शैयामा भर्ना भएर उपचार गराउँदा औषधि, औषधिजन्य सामग्री, उपकरण, इम्प्लान्ट, क्याबिन तथा केही विशेष सेवाबाहेक अन्य उपचार खर्चमा ५० प्रतिशत छुट पाउनेछन् । सिनामंगल शाखामा उपचार गराउँदा भने सोही प्रकृतिका सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

    दुवाकोटमा उपचार गरिएका बिरामीको कुल खर्चको ५० प्रतिशत तथा सिनामंगलमा उपचार गरिएका बिरामीको कुल खर्चको ७५ प्रतिशत रकम गोकर्णेश्वर नगरपालिकाले केएमसीलाई शोधभर्ना गर्ने सम्झौतामा उल्लेख छ । उक्त छुट प्रतिव्यक्ति वार्षिक एक लाख तीन हजार रुपैयाँसम्मको उपचार खर्चमा लागू हुने जनाईएको छ ।

    सोभन्दा बढी खर्च बिरामी स्वयंले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका विरामीलाई नगरपालिकाले प्रतिव्यक्ति थप तीन लाख नौ हजार रुपैयाँ उपलब्ध गराउने छ ।

    अन्य सहुलियत रकमसमेत जोड्दा एक बिरामीले नगरपालिकाबाट अधिकतम चार लाख १२ हजार रुपैयाँसम्म सहयोग प्राप्त गर्न सक्नेछन् ।

    विपन्न नागरिक औषधि उपचार कार्यक्रम, स्वास्थ्य बीमा तथा अन्य उपलब्ध सुविधाको उपयोग गरिसकेपछि पनि रकम अपुग भएमा केएमसीले थप चार लाख १२ हजार रुपैयाँसम्म छुट प्रदान गर्नेछ ।

    केएमसी अस्पतालका सञ्चालक डा. सुनिल शर्माले नगरवासीहरुले स्वास्थ्यबीमा, विपन्न, गरिब, गोकर्णेश्वर नगरपालिका र केएमसीको उपचार छुट गरेर मिर्गौलापीडितले १० लाख रुपैयाँसम्मको उपचार निशुल्क पाउने बताउनु भयो ।

    मिर्गौला प्रत्यारोपन गर्ने सेन्टरहरु नेपालमा कम हुँदा पनि गोकर्णेश्वरका नागरिकले निःशुल्क उपचार पाउनु गर्वको विषय भएको उल्लेख गर्नुभयो । उहाँले आफूहरुले नेपालमा कलेजो प्रत्यारोपन गर्ने बारेमा पनि आवश्यक प्रक्रिया अगाडी बढाईरहेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘मिर्गौला प्रत्यारोपन गर्ने सेन्टरहरु कम छन्, नेपालमा । गोकर्णेश्वर नगरपालिकाका स्थानियले केएमसीमा मिर्गौला प्रत्यारोपन गर्दा ८ लाख २४ हजार रुपैयाँसम्म औषधिसहित निशुल्क पाउनेछ । आज नेपाल सरकारले यो सुविधा दिन सकेको छैन ।

    सरकारी, नगरपालिका र निजी क्षेत्रको बीचको सहकार्यले १० लाख रुपैयाँसम्मको उपचार नगरबासीले अब निःशुल्क पाउनेछन् ।’
    नगरपालिका प्रमुख दीपककुमार रिसालले गोकर्णेश्वरवासीलाई निशुल्क उपचार गराउने महानगरको लक्ष्य रहेको बताउनु भयो ।

    उहाँले वडास्तरमा रहेका स्वास्थ्यचौकी, नगर अस्पताल र आसपासका अन्य निजी अस्पतालको सहकार्यमा नगरवासीहरुलाई सहुलियतमा उपचार सेवा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

    उहाँले हाल ३० करोड रुपैयाँ बराबरको लागतमा नगर अस्तपाल निर्माणधिन रहेको बताउनु भयो । नगरपालिका आसपासका ११ वटा अस्पतालमा सहुलियतमा उपचार गर्नको लागि सम्झौता गरिएको उहाँको भनाई छ । उहाँले एक लाखदेखि १० लाख रुपैयाँसम्मको सहुलियत दिनेसम्बन्धी अस्तपालसंग सम्झौता गरिएको बताउनु भयो ।  

    उहाँले भन्नुभयो, ‘हामीले नगरअस्पताललाई व्यवस्थित गरेर त्यहाँ डाक्टर, ईक्यूम्पेन्ट लगायको सम्पुर्ण व्यवस्था गरेका छौँ । अहिले ३० करोडको नगर अस्पताल हाम्रो बन्दैछ, नगर अस्पतालमा हाल दैनिक विरामीको चाप पनि बढिरहेको छ, हामी दैनिक १२ सय जनासम्मको उपचार गराईरहेका छौँ । नगरवासीलाई स्वास्थ्यवीमा नगरपालिकाले गरिदिएको छ ।

    साथै हामीले हाम्रा वरपर रहेका ११ वटा अस्तपालमा स्वास्थ्य उपचार सम्बन्धी सहुलियत कार्यक्रम राखेका छौँ । हाम्रो उदेश्य स्वास्थ्यलाई निशुल्क गर्ने हो ।’

    सम्झौताअनुसार उपचारमा आवश्यक पर्ने रगत उपलब्ध गराउन नगरपालिकाले सिफारिस गर्नेछ । रगतको प्रयोगशाला परीक्षण शुल्कबापत प्रतिपिन्ट एक हजार दुई सय १० रुपैयाँ नगरपालिकाले अस्पताललाई शोधभर्ना गर्नेछ ।

    सहुलियत प्राप्त गर्न सेवाग्राहीले उपचार सहुलियतका लागि निवेदन, नागरिकता, मतदाता परिचयपत्र, विवाह दर्ता प्रमाणपत्र, नाबालकका हकमा जन्मदर्ता प्रमाणपत्र तथा बीमितका हकमा बीमा कार्ड पेश गर्नुपर्नेछ ।

    उपचार सम्पन्न भएपछि अस्पतालले खर्च विवरण, बिल भरपाई, उपचार कार्ड, नगरपालिकाको सिफारिसपत्र तथा स्थायी बसोबास पुष्टि हुने कागजातसहितको विवरण स्वास्थ्य शाखामा पेश गरेपछि नगरपालिकाले ३० दिनभित्र भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

    सम्झौता साउन १ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहने जनाईएको छ ।