आइतवार , जेठ ३१, २०८३
काठमाडौँ, ३१ जेठ । नेपाल पत्रकार महासंघले जिम्मेवार पत्रकारिता, संसदीय रिपोर्टिङ तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
महासंघले आईतवार काठमाडौमा संसदीय मामिलामा रिपोर्टिङ गर्दै आएका पत्रकारहरुलाई उक्त अभिमुखिकरण दिएको हो । कार्यक्रममा पत्रकारिताको व्यावसायिक मर्यादा, तथ्यमा आधारित समाचार सम्प्रेषण, संसदीय गतिविधिको प्रभावकारी रिपोर्टिङ तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगका विषयमा जानकारी गराइएको थियो ।
संघीय संसद सचिवालयका उपसचिव दशरथ धमलाले संसदीय पत्रकारहरुमा विधेयक प्रक्रिया, संसदीय प्रश्ताव, विषयगत समिति सबैको बारेमा जानकारी हुन अति आवश्यक रहेको बताउनु भयो । यी विषयमा जानकारी नहुँदा कतिपय पत्रकारले त्रुटीपूर्ण समाचार लेख्ने गरेको उल्लेख गर्नुहुँदै उहाँले उक्त त्रुटीले समाजमा पत्रकारिता क्षेत्रलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुने गरेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले संसदीय पत्रकारहरु भनेको मुलुकको नीतिको रिपोर्टिङ गर्ने भएकोले जिम्मेवार हुनुपर्ने बताउनु भयो । संसद लोकतन्त्रको मन्दिर भएकोले संसदभित्र छिर्नुअघि पत्रकारहरुले आफूभित्र रहेका आग्रहपुर्वाग्रहहरु सबै त्यागेर जानुपर्ने बताउनु भयो । आग्रह पूर्वाग्रहहरु बोकेर गरिएको रिपोर्टिङ अधुरो हुने उहाँको भनाई छ ।
संसदभित्र कतिपय नकरात्मक प्रवृत्तिहरु देखापर्ने भएकोले पत्रकारहरुले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाई छ । उहाँले पत्रकारहरुले संसदका सबै प्रक्रियाहरुको बारेमा जानकारी हुनुपर्ने बताउनु भयो । संसदीय प्रक्रियाहरुको बारेमा जानकारी नहुँदा धेरै त्रुटीहरु हुने उहाँको भनाई छ ।
वरिष्ठ पत्रकार हरिबहादुर थापाले नेपालको संसदीय ईतिहातसको बारेमा जानकारी गराउँदै संसदको काम सरकारको निगरानी राख्ने बताउनुभयो । सांसदको काम सरकारलाई निगरानी राख्ने भएपनि पछिल्लो समय संसदीय समितिहरुले निर्देशन नै दिन थालेको उहाँको भनाई छ । संसदीय समितिहरुले सरकार र संवैधानिक निकायहरुलाई निर्देशन नै दिन थालेको बताउनु भयो । उहाँले निर्देशन भन्ने शब्द पछिल्लो समय दुरुपयोग भइरहेको उल्लेख गर्नुभयो ।
सरकार तथा संवैधानिक निकायहरुलाई सांसद तथा संसदीय समितिहरुले काम गर्न सिफारिस गर्नसक्ने बताउनु भयो । सरकारमाथी सांसदहरुले निगरानी राख्ने र सांसदमाथी पत्रकारहरुले राख्नुपर्ने उहाँको भनाई छ । उहाँले संसद पत्रकारहरुको लागी समाचारको खानी नै भएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारहरु जिम्मेवार बनाउनको लागी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पत्रकारिताका समसामयिक चुनौती, संसदीय रिपोर्टिङका अभ्यास तथा डिजिटल माध्यमको उपयोगबारे अनुभव आदानप्रदान गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij