आइतवार , जेठ ३, २०८३
तिलोत्तमा, ३ जेठ । पामिर इन्टरनेशनल एकेडेमीले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय अगुवाहरुको सहभागीता थियो ।
यस वर्षको एसईई परीक्षामा विद्यालयबाट सहभागीमध्ये १५ जना विद्यार्थीले ए प्लस, ९ जनाले ए र ५ जनाले बि प्लस ग्रेड हासिल गरेका छन् । त्यसै गरी कक्षा ८ को परीक्षामा दुईजना विद्यार्थीले ४ जीपीएसहित सहभागी सबैले उत्कृष्ट नतिजा हासिल गरेका छन् । विद्यालयले सफल सबै विद्यार्थीहरुलाई सम्मानपत्रसहित सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डिलबहादुर भट्टराईले शैक्षिक गुणस्तर सुधारमा निजी विद्यालयहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अनुशासन, मेहनत र अभिभावक–विद्यालयबीचको सहकार्यकै कारण विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो ।
त्यस्तै टोल सुधार समितिका अध्यक्ष दुर्गा पाण्डेले समाज परिवर्तनको मुख्य आधार शिक्षा भएको बताउँदै विद्यार्थीहरुलाई अध्ययनसँगै नैतिक शिक्षामा समेत जोड दिन आग्रह गर्नुभयो । उहाँले सफल विद्यार्थीहरुलाई निरन्तर मेहनत गर्दै अगाडि बढ्न शुभकामना व्यक्त गर्नुभयो ।
विद्यालयका शिक्षा समिति संयोजक वसन्त जोशीले विद्यालयले छोटो समयमै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको भन्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिनुभयो । उहाँले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि अतिरिक्त क्रियाकलापलाई समेत प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले विद्यालयले नतिजा मात्र नभइ व्यवहारिक र संस्कारयुक्त शिक्षामा जोड दिँदै आएको बताउनुभयो । उहाँले विद्यालयको सफलतामा शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयास रहेको उल्लेख गर्नुभयो ।
विद्यालयका प्राचार्य गोपाल गौतमले विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुको सफलताले विद्यालय परिवारलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै सबै शिक्षक, अभिभावक तथा विद्यार्थीलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा शिक्षक दीपक खनाल, सरिता पाण्डे, विद्यार्थी प्रतिज्ञा सुवेदी, इशा पाण्डे तथा अभिभावककातर्फबाट राधिका सापकोटा लगायतले मन्तव्य राख्दै विद्यालयको शैक्षिक वातावरण, शिक्षकहरुको मेहनत र विद्यार्थीहरुको लगनशीलताका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताउनुभयो ।
कार्यक्रमको अवसरमा सर्वोत्कृष्ट नतिजा ल्याउनेलाई नगदसहित तथा सफल अन्य विद्यार्थीहरुलाई खादा, प्रमाणपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
