शनिवार , जेठ २, २०८३
भैरहवा, २ जेठ । सिद्धार्थ हस्पिटालिटी ग्रुपद्वारा यही जेठ ९ र १० गते रुपन्देहीको भैरहवामा खाना महोत्सव ‘सिद्धार्थ फुड एण्ड फन’ आयोजना गर्ने भएको छ ।
भैरहवास्थित सिद्धार्थ भिलासामा आयोजना हुने महोत्सवमा नेपाली रैथाने परिकारदेखि अन्तर्राष्ट्रिय खानासम्मको स्वाद एउटै थलोमा उपलब्ध गराइने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटीका सिईओ कृष्ण न्यौपानेले बताउनुभयो ।
महोत्सवमा नेवारी, हिमाली, थारु, मध्यपश्चिम तथा पूर्वी भेगका परम्परागत खानासहित कन्टिनेन्टल, भारतीय, चिनियाँ, अरेबिक तथा मेडिटेरियन परिकारका स्टल रहनेछन् ।
महोत्सवमार्फत नेपाली रैथाने खानाको प्रवद्र्धनसँगै विभिन्न क्षेत्रका मौलिक स्वादलाई एउटै स्थानमा ल्याउने प्रयास गरिएको बताइएको छ । नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटी ग्रुपअन्तर्गतका विभिन्न आउटलेटमा कार्यरत सेफले आ–आफ्नो भेगका विशेष परिकार प्रस्तुत गर्नेछन् ।
महोत्सवमा खाना खाने प्रतियोगिता, घरेलु खाना पकाउने प्रतियोगिता, बालबालिकामुखी खेल, मनोरञ्जनात्मक गतिविधि तथा विभिन्न सहभागितामूलक कार्यक्रम सञ्चालन गरिनेछ । खाना पकाउने प्रतियोगितामा इच्छुक सहभागीले सिद्धार्थ भिलासा भैरहवामा सम्पर्क गरी नाम दर्ता गरेर भाग लिन सक्ने व्यवस्था मिलाइएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहनेछ । महोत्सवको पहिलो दिन जेठ ९ गते गायिका समीक्षा अधिकारी र गायक अर्जुन सापकेटाको प्रस्तुति रहनेछ भने जेठ १० गते गायक दीपक बज्राचार्य र उनको ब्याण्डले सांगीतिक प्रस्तुति दिनुहुनेछ । दुवै दिन लुम्बिनी क्षेत्रका स्थानीय कलाकारले पनि लोक तथा साँस्कृतिक प्रस्तुति दिनेछन् ।
कार्यक्रम दैनिक दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । आगन्तुकले विभिन्न फुड स्टलमा कुपन प्रणालीमार्फत आफूले चाहेका परिकारको स्वाद लिन सक्ने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटीका क्षेत्रीय कार्यकारी निर्देशक महेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रमलाई केवल व्यापारिक कार्यक्रमभन्दा पनि सामुदायिक जमघट, नेपालका रैथाने परिकार एवं आन्तरिक पर्यटन प्रवद्र्धन र भैरहवामा आर्थिक गतिविधि चलायमान बनाउने प्रयासका रूपमा अघि सारिएको हो । सिद्धार्थ ग्रुपद्वारा विभिन्न सहरमा वियर फेस्ट, मःमः महोत्सव, फुड फेस्ट जस्ता कार्यक्रम मार्फत खाना पर्यटनको प्रवद्रर्धन गर्दै आएका छौं । भैरहवामा भने यो पहिलो कार्यक्रम हो ।
पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरी ३० वटा आउटलेट सञ्चालन गर्दै आएको छ । साथै देशभर करिब २ हजार ५ सय जनालाई रोजगारी पनि दिएको छ ।
हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँचतारे स्तरमा सिद्धार्थ भिलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव र तीनतारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्ड एवं सिद्धार्थ कटेज, सिद्धार्थ क्याफे सञ्चालनमा छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
