२०८३, जेठ २ गते

May 16 2026 | २०८३, जेठ २ गते

सांसद ताहिर अलीको प्रश्न : हरेक वर्ष मल छैन भनेर बस्ने हो ?

शनिवार , जेठ २, २०८३

  • 184
    Shares
  • 184
    Shares
  • भैरहवा, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले हरेक वर्ष मल छैन भनेर बस्ने हो भन्दै प्रश्न गर्नुभएको छ । उहाँले मल अभाव अन्त्य गर्न सरकारले स्पष्ट रोडम्यापका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    शुक्रबार कृषि समितिको बैठकमा बोल्दै उहाँले हरेक वर्ष मलखाद छैन भन्ने कुरा सुनिएको बताउनुभयो । उहाँले लाखौं नेपाली युवा पढ्न र काम गर्न विदेशिएको बताउनुभयो । 

    उहाँले मल आपूर्तिलाई सहज बनाउन स्वदेशमै मल कारखाना स्थापना गर्ने नीतिसहित सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘हरेक वर्ष मलको समस्याको विषय उठ्छ । यसको संकट मोचनको लागि के गर्ने त ? २१ औं शताब्दीमा छौं । कुनै मल कारखाना बनाउने कि नबनाउने ? हामी अगाडि बढेनौ भने हरेक वर्ष सिजनमा मल छैन भनेर बस्ने हो ?’ उहाँले भन्नुभयो ।

    किसानको समस्या हल गर्दै कृषि पेशालाई सम्मानित बनाएर युवा पलायन रोक्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । ‘मुलुकमा यति धेरै राजनीतिक रुपमा परिवर्तन हुँदा पनि मलको समस्या हल भएन । त्यसकारण यो मलको समस्या हल गरौं र कृषि पेशाबाट आयआर्जन गरेर युवालाई विदेश पलायनबाट रोकौं, यति धेरै परिवर्तन हुँदा हामी पनि परिवर्तन हुनुपर्छ, ’सांसद भाटले भन्नुभयो ।

    स्थानीय सरकारले कृषि क्षेत्रमा कम लगानी गरेको उहाँको भनाइ छ ।