२०८३, जेठ १ गते

May 15 2026 | २०८३, जेठ १ गते

पञ्चकन्या रूपन्देही सुपर लिग : मेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित

शुक्रवार , जेठ १, २०८३

  • 199
    Shares
  • 199
    Shares
  • भैरहवा, १ जेठ । भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको शुक्रबारको खेलमा मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लब विजयी भएको छ । मेलवर्नले नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै जीत निकालेको हो । 

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि कृष्ण भुसालले ३६, विकल अधिकारीले २०, रोशन घिमिरे र लक्ष्मण कुमालले १७–१७, प्रतीक भट्टराईले १३, मौसम ढकालले १२ र सन्दीप यादवले १० रन बनाए । बलिङमा मेलवर्नका रमेश कुर्मीले ३, आरिफ अहमदले २ तथा दीपेश श्रेष्ठ, अशोक धामी र विपिन आचार्यले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको मेलवर्नले ३२ ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाउँदै सजिलै लक्ष्य पूरा गर्यो र जीत हात पार्यो । उसको जीतमा असमान थारुले ३४, विपिन आचार्यले अविजित ३३, आदित्य यादव र दीपेश श्रेष्ठले १८–१८, अशोक धामीले १६ र आनन्द गौडले नटआउट १४ रनको योगदान गरे । 

    बलिङमा नेपथ्य तिलोत्तमाका कृष्ण भुसालले ३ तथा सन्दीप यादव, मौसम ढकाल र आशुतोष पाण्डेले १–१ विकेट लिए। खेलमा रमेश कुर्मी प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । त्यसै गरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक र व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।