शुक्रवार , जेठ १, २०८३
तिलोत्तमा, १ जेठ । तिलोत्तमा नगरपालिका वडा नम्बर १३, रुपन्देहीले आफ्नो वडाभित्र रहेका १२ वटा महिला समूहका ६० जना महिला सहभागीहरुलाई एकदिवसीय नेतृत्व विकास तालिम बिहीबार सम्पन्न गरेको छ ।
तालिम उद्घाटन सत्रमा बोल्दै वडाध्यक्ष नारायण ढकालले आफ्नो वडाभित्र रहेका महिलाहरुको सशक्तिकरणका लागि नेतृत्व विकास तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले महिलाहरुको नेतृत्व विकास बिना सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक परिवर्तन नहुने उल्लेख गर्नुभयो । यस वर्ष महिलाहरुको नेतृत्व विकास तालिमका लागि थोरै वजेट विनियोजन भए पनि आगामी वर्षमा वजेट थप गरी महिलाहरुको समग्र विकासमा हातेमालो गर्ने वडाध्यक्ष ढकालले प्रतिबद्वता व्यक्त गर्नुभयो ।
उद्घाटन सत्रमा वडा सदस्य लिला छन्त्याल, वडा सचिव हेमा वन, वडा सञ्जालका अध्यक्ष होमबहादुर छन्त्याल, लक्ष्मिमा ज्ञवाली, राधा गुरुङ, सीता कुमारी भुसाल, विमला केसीले तालिमको सफलता र प्रभावकारीताका निम्ति शुभकामना व्यक्त गर्नुभयो ।
तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङ र दिनेश अर्यालले नेता, नेतृत्व, नेतृत्वका गुण, विशेषता, सम्बन्ध स्थापना, सञ्चारका विधि र प्रक्रियाका विषयहरुमा सहजीकरण गर्नुभएको थियो ।
सहभागीकातर्फबाट अनिता पाठक र प्रेममाया क्षेत्री पुनले बोल्दै आफूहरुले सोचेभन्दा पनि प्रभावकारी रुपमा तालिम हासिल गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो । उहाँहरुले वडाले आगामी दिनमा सीप तथा उत्पादनमूलक तालिम सञ्चालन गरेमा आफूहरु स्वरोजगारी हुन सक्ने बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
