२०८३, जेठ १ गते

May 15 2026 | २०८३, जेठ १ गते

प्याब्सन सिद्धार्थनगरद्वारा चित्रकला प्रतियोगिता आयोजना

शुक्रवार , जेठ १, २०८३

  • 184
    Shares
  • 184
    Shares
  • भैरहवा, १ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगर नगरपालिका समितिको आयोजनामा बिहीबार भैरहवामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । सिद्धार्थनगर–३ स्थित टाईनी टडलर्स स्कलर्स एकेडेमी (युरो किड्स) मा आयोजित प्रतियोगितामा कक्षा १, २ र ३ का विद्यार्थीहरुको सहभागीता थियो ।

    ‘मेरो सपनाको विद्यालय’ शिर्षकमा प्रतियोगितामा ए.आर.डी. मोडल इङ्लिस सेकेण्डरी स्कूलका अर्जित विश्वकर्माले प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै सिद्धार्थ ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कूलका मोहम्मद अरमान द्वितीय र टाइनी टडलर्स स्कलर्स एकेडेमी (युरो किड्स) का युवान जैसवाल तृतीय भएका छन् । 

    त्यसै गरी न्यू इरा इङ्लिस बोर्डिङ स्कूलका मेरियम मेहबिश र सनसाइन बोर्डिङ सेकेण्डरी स्कुलकी ऋद्धिमा कटवालले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

    प्रतियोगितामा १९ वटा विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको प्याब्सन सिद्धार्थनगरले जनाएको छ ।

    प्रतियोगिताको उद्घाटन गर्नुहुँदै सिद्धार्थनगर नगरपालिका–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले यस्ता कार्यक्रमले विद्यार्थीहरुको हौसला र आत्मबल बढ्ने बताउनुभयो । उहाँले पढाईसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप पनि आवश्यकता रहेको कुरालाई मध्यनजर गर्दै प्याब्सन सिद्धार्थनगरले चित्रकला प्रतियोगिता आयोजना गर्नु सराहनीय रहेको बताउनुभयो ।

    त्यस्तै प्याब्सन रुपन्देहीका सह–सचिव गोकुल पोखरेलले यस्ता प्रतियोगिताले विद्यार्थीहरुको अन्तरनीहित प्रतिभा प्रस्फुटन गर्न मद्दत गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा प्याब्सन सिद्धार्थनगरले आयोजना गर्ने अतिरिक्त क्रियाकलापमा निर्धक्कका साथ सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

    प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले विद्यार्थीहरुमा रहेका प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले चित्रकला प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । 

    कार्यक्रम संयोजक तथा टाईनी टडलर्स स्कलर्स एकेडेमी (युरो किड्स)को प्रिन्सिपल प्रतिष्ठा चालिसेले चित्रकला प्रतियोगिताले विद्यार्थीहरुलाई रंगहरुमार्फत केन्द्रीत गर्ने बताउनुभयो । 

    drawing.jpg

    प्याब्सन सिद्धार्थनगरको सचिव सिर्जना पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा निर्णायकको भूमिकामा सुमित्रा राना र डोल बहादुर आले रहनुभएको थियो ।