बिहिवार , बैशाख ३१, २०८३
भैरहवा, ३१ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले उद्योगी–व्यवसायीलाई उत्साहित बनाएको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रम जस्तै बजेट पनि यही हिसाबले राम्रो आए उद्योगी–व्यवसायीले वर्षादेखि उठाएका माग सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।
बिहीबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ मा मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको नयाँ कार्यालयको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्यको कुरा गर्नु सकारात्मक रहेको बताउनुभयो। ‘सहकार्य गर्ने कुरा विगतका सरकारले पनि नभनेको होइनन् । ‘अहिले जुन हिसाबले सरकारले काम गरिरहेको छ, यसले निजी क्षेत्रलाई समेटेर आर्थिक अवस्था सुधारका लागि अगाडि बढेको देखिन्छ, ’उहाँले भन्नुभयो ।
सरकारले करको दायरा बढाउने र करको दर घटाउने कुरा गरेको भन्दै त्यो स्वागतयोग्य रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । करको दर घटाएर दायरा बढाउने हो भने नागरिकले खुसी भएर कर तिर्ने उहाँले बताउनुभयो ।
अहिलेको सरकारले ल्याएको नीति कार्यक्रमले जसरी उत्साहित भएका छौं, स्वागत गर्न पाएका छौं, त्यसरी बजेटको स्वागत गर्न पाउने अपेक्षा गरेका छौं ’उहाँले भन्नुभयो । नयाँ सरकार आएपछि उद्योगी–व्यवसायीले माग गरेको कुराहरु समेटेको उहाँले बताउनुभयो । सरकारले ढुक्कसँग उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने उहाँले माग राख्नुभयो।
मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकारसमेत रहनुभएका श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा आफूलाई निर्वाचित गराउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
त्यस्तै मदिरा व्यवसायी संघ, भैरहवाका अध्यक्ष यादव पोख्रेलले सल्लाहकार ठाकुर कुमार श्रेष्ठ नेृपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको अध्यक्षमा निर्वाचित हुनु संस्थाका लागि गौरवको विषय भएको बताउनुभयो ।
कार्यालय उद्घाटनपश्चात संघको नियमित मासिक बैठक समेत बसेको थियो । बैठकमा संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवाली, निवर्तमान अध्यक्ष बाबुराम पाण्डे, वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डे, कोषाध्यक्ष विनोद आचार्य लगायतले बोल्नुभएको थियो ।
उक्त बैठकमा उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । यसअघि भैरहवाको देवकोटाचोकबाट मदिरा व्यवसायी संघ, भैरहवाको कार्यालय सञ्चालन हुँदै आएकोमा अब भने सिद्धार्थनगर नगरपालिका-७ स्थित दिव्यपथबाट सञ्चालन हुने भएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
