बिहिवार , बैशाख ३१, २०८३
बुटवल, ३१ वैशाख । लुम्बिनी प्रदेशमा सवारी दुर्घटना र ट्राफिक नियम उल्लंघनका घटना बढ्दै जाँदा सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठ्न थालेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म प्रदेशभर भएका दुर्घटनामा झण्डै पाँचसय जनाको ज्यान गएको तथ्यांक सार्वजनिक भएपछि सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म प्रदेशमा ४ हजार ४ सय ८८ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ४ सय ९३ जनाको मृत्यु भएको छ भने ७ हजार ५ सय ८ जना घाइते भएका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ सय २४ जनाको मृत्यु भएको थियो भने ४ हजार ५ सय ५४ जना घाइते भएका थिए । यसले दुर्घटनासँगै मृत्यु र घाइते हुनेको संख्या निरन्तर बढिरहेको देखाएको छ।
ट्राफिक व्यवस्थापन कार्यालयले दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गर्दै व्यापक ट्राफिक कारवाही गरेको जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मात्रै प्रदेशभर ९४ हजार ८ सय ४१ ट्राफिक कारवाही गरिएको छ । ओभरलोड, मादकपदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गति, अव्यवस्थित पार्किङ तथा नियमविपरीत सवारी सञ्चालन गर्ने चालकलाई लक्षित गरी निगरानी बढाइएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माका अनुसार २४ हजार २ सय ६६ ओभरलोड सवारीसाधनबाट ४ करोड १८ लाख २६ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको छ । ओभरलोड बोकेका १ हजार ४ सय ४९ सवारीलाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको र त्यहाँबाट थप १ करोड ४३ लाख ७० हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै ठूलो आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरिएका ५ सय ७२ मोटरसाइकल नियन्त्रणमा लिइएको छ । ती मोटरसाइकलबाट ४७ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । मादकपदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ४ हजार ७ सय ७५ चालक र लागूऔषध सेवन (लापसे) गरेर सवारी चलाउने ३९ चालकलाई कारबाही गरिएको छ।
यस अवधिमा ट्राफिक प्रहरीले नियमविपरीत राखिएका सीट तथा मुढा हटाउने, चालकको दृश्य अवरोध गर्ने झिलिमिली, माला तथा अन्य सामग्री हटाउने अभियानसमेत सञ्चालन गरेको छ । ७ सय २३ सवारीबाट २ सय थान ग्लेयर कजिङ लाइट्स तथा ६ सय ८५ सवारीबाट १ हजार १ सय ७४ सामग्री हटाइएको छ।
कार्यालयका अनुसार दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको छ । सार्वजनिक विवरणअनुसार २ हजार ९ सय ५१ दुर्घटना तीव्र गतिका कारण भएका छन् । मापसेका कारण ५ सय ६६ दुर्घटना भएका छन् भने चालकको असक्षमता, लापरवाही, गलत ओभरटेक र लेन अनुशासन उल्लंघन पनि दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन् ।
यद्यपि ट्राफिक प्रहरीले राजस्व संकलनमा मात्र बढी ध्यान दिएको आरोप पनि लाग्न थालेको छ । सरोकारवालाहरूले जरिवाना उठाउने अभियान प्रभावकारी भए पनि सडक दुर्घटना न्यूनीकरणतर्फ अपेक्षित काम हुन नसकेको बताएका छन् । उनीहरूले सडक सुरक्षा शिक्षा, चालक सचेतना, सडक पूर्वाधार सुधार र प्रभावकारी अनुगमनमार्फत दुर्घटना नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
