२०८३, बैशाख ३१ गते

May 14 2026 | २०८३, बैशाख ३१ गते

मानव बेचबिखनमा संलग्न गिरोहलाई कडा सजाय दिइयोस् : सांसद पौड्याल

बुधवार , बैशाख ३०, २०८३

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ३० वैशाख । प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले मानव बेचबिखन जस्तो अपराधमा संलग्न दलाल र गिरोहलाई कडा भन्दा कडा सजाय दिनुपर्ने सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बुधबार बोल्दै सांसद पौड्यालले यस्तो माग गर्नुभएको हो ।

    ‘आज म यो सदनमा अत्यन्त पीडादायी र हृदय विदारक विषय उठाउन बाध्य भएको छु । नुवाकोटका १४–१५ वर्षका दुई निर्दोष नेपाली चेलीहरू भारतको कलकत्तास्थित सोनागाछीमा बेचिएका अवस्थामा फेला परे । दुई वर्षसम्म कोठामा थुनेर, औषधि र हर्मोन प्रयोग गरी, पीडा सहन बाध्य बनाइएका ती बालिकाहरूलाई नेपाली राजदूतावास र ‘किन इन्डिया’ संस्थाको सहयोगमा उद्वार गरी नेपाल ल्याइएको छ,’ उहाँले भन्नुभयो ।

    ‘यो त केवल सतहमा देखिएको घटना मात्र भएको उहाँले बताउनुभयो । ती बालिकाहरूले दिएको जानकारीअनुसार अझै पनि दिल्ली, मुम्बई, कलकत्ता लगायतका स्थानमा थुप्रै नेपाली किशोरीहरू नरकजस्तो जीवन बाँच्न बाध्य छन् । यो केवल मानव बेचबिखन होइन, यो सम्पूर्ण नेपाली समाज, मानवताविरुद्ध र राज्यकै सम्वेदनामाथिको ठुलो चुनौती हो, ’सांसद पौड्यालले भन्नुभयो ।

    WhatsApp Image 2026-05-13 at 10.19.07 PM (1).jpeg

    भारतस्थित नेपाली दूतावास, सुरक्षा निकाय र सामाजिक संस्थाहरुसँग समन्वय गरी तत्काल विशेष उद्वार अभियान सञ्चालन गार्न उहाँले आग्रह गर्नुभयो । जोखिममा रहेका नेपाली चेलीहरूको खोज, उद्वार, सुरक्षित स्वदेश फिर्ती र पुनस्र्थापनाको प्रभावकारी व्यवस्था गर्नुपर्ने उहाँले माग राख्नुभयो ।

    ‘उद्वारपछि उनीहरूको शिक्षा, स्वास्थ्य, मनोसामाजिक उपचार र सम्मानजनक पुनर्जीवन सुनिश्चित गरियोस् । अब कुनै पनि नेपाली चेली बेचिन नपरोस्, कुनै आमाबुबाले आफ्नी छोरीको खबर खोज्दै रुन नपरोस् । यसतर्फ सरकारको गम्भीर र तत्काल ध्यानाकर्षण गराउन चाहन्छु, ’पौड्यालले भन्नुभयो ।